नेपाली साहित्य जगतकी शिखरप्रतिभा मुर्धन्य नारी स्रष्टा पारिजात नेपाली साहित्याकाशमा स्वर्णिम अक्षरमा अंकित कहिल्यै नमेटिने नाम हो । नेपाली साहित्यकी बहुआयामिक एवम् बहुमुखी व्यत्तित्व पारिजातले स्वच्छन्दतावादी, विसङ्गतिवादी, अस्तित्ववादी, शून्यवादी, प्रगतिवादी, तथा नारीवादी धारबाट आफ्नो सृजनात्मक व्यक्तित्वलाई अगाडि बढाउने काम गर्नुभयो ।
महान् स्रष्टा पारिजातको जन्म भारतको दार्जीलिङ् लिङ्गिया चियाबगानमा पिता डा। के। एस। ९ कालु सिंह० वाइबा र माता अमृत मोक्तानकी तेस्रो सन्तानका रुपमा वि।सं। १९९४ बैशाखमा भएको थियो । परिजातको न्वारानको नाम विष्णुकुमारी वाईवा थियो । बौद्धिष्ट परम्परा अनुसार उनलाई लामाले छेकुडोल्मा नाम राखिदिएका थिए । तर उनले आफ्नो नाम पारिजात राखि उक्त नामबाट नै नेपाली साहित्यिक फाँटमा एउटा सशक्त र बहुआयामिक स्रष्टाको रुपमा परिचित हुन पुग्नु भयो । सानैदेखि मातृ स्नेहबाट वञ्चित पारिजात आफ्नो प्रारम्भिक शिक्षा घरबाट नै थालनी गरेर औपचारिक अध्ययनका लागि दार्जलिङ्गको गल्र्स हाईस्कूल र सेन्ट टेरेजा हुदै शारदेश्वरीमा १० कक्षासम्मको अध्ययन गरी वि। सं। २०११ सालमा बाबु डा। के। एस। वाइवा र बहिनी सुकन्याका साथ पारिजात काठमाणडांै आउनुभयो । सोही वर्ष नै पारिजातले पद्मकन्या विद्याश्रम डिल्ली बजारबाट एस्। एल्। सी। उर्तीण गर्नुभयो । त्यसपछि उहाँको उच्चशिक्षा अध्ययन शुरुवात भयो । त्यसैक्रममा वि। स। २०१३ सालमा पद्मकन्या क्याम्पसबाट आई। ए। र वि। स। २०१५ सालमा बी। ए। पास गर्नुभयो । सोहि वर्ष त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयमा स्नातकोत्तरको लागि भर्ना हुनुभयो । जागिर, लेखन कार्य प्रतिको लगनशिलता र शारिरिक अस्वस्थताले गर्दा उहाँको पढ्ने धोको पुरा हुन सकेन । त्यसपछि उहाँ मदन मेमोरियल स्कूलमा शिक्षण पेशामा संलग्न हुदै औपचारिक अध्ययनलाई स्थगन गरी स्वाध्ययनबाट विश्वसाहित्य र राजनीतिलाई गहन अध्ययन गर्दै साहित्य सिर्जनामा तल्लिन हुनभयो । उहाँले समाजमा रहेका गरिब, भोका, नाङ्गा, शोषित, पिडीतहरूको आवाजलाई साहित्यको माध्यमबाट सशक्त रुपमा बाहिर ल्याउने अभियानमा लागिरहनु भयो ।
सानै देखि निडर, स्वाभिमानी, सहयोगी र शान्त स्वभावकी पारिजात भावुक पनि हुनुहन्थ्यो । खान पकाउन जंगल घुम्न, जंगली फूलहरू पोल्टाभरी टिप्नु, गीत गाउनु—नाच्नु, खोला किनारमा घुम्नु साथै सुन्दर र कलात्मक ढुङ्गा बटुल्नु, कपडामा बुट्टा भर्नु, फूलको बगैचा बनाउनु उहाँको सौख र चाखको विषय थिए । ऋतुहरुमा वर्षा ऋतु मनपर्ने पारिजातलाई फूलमा लाली गुराँस र रंगमा हरियो मन पर्दथ्यो । छ्वेला, मःम, सुख्खा रोटी, काभ्रो र कोइरालोको अचार, चिन्डो उहाँको मन पर्ने खाना थियो । दार्जीलिङको प्राकृतिक सुन्दरताबाट मुग्ध हुँदै भावुक भएर एकान्तमा हराउँदा नै उहाँमा साहित्यिक जीवनको विजारोपण भएको देखिन्छ ।
सानैदेखि मातृस्नेहबाट वञ्चित पारिजात आफन्तको वियोगको पीडाले उनको कोमल र भावुक मनलाई घाइते बनायो । आफूलाई अत्यन्त माया गर्ने दाजुको मृत्युले उहाँको कोमल हृदयमा ठूलो आघात पर्न गयो । जीवनको विसङ्गति दाजुको मृत्युपछि उहाँको भित्री मनमा अमिट छाप बनेर बसिरह्यो । तेह्र वर्षकै कलिलो उमेर ९२००७ साल० देखि स्नायू प्रणलीसँग सम्बन्धित आर्थराइटिस् रोगको सिकार बन्नु भएको पारिजात २०२१ सालदेखि त थला नै पर्नुभयो । उहाँको साहित्यिक र बौद्धिक व्यक्तित्वको उच्च विकासमा आर्थराइटिस रोग अभिशाप बन्यो । सानैदेखि मातृस्नेह नपाएकाले उहाँमा एक किसिमको हीनता र कुण्ठाभाव उत्पन्न हुन पुग्यो । यही नैराश्य र कुण्ठाले उहाँलाई एकान्तप्रिय, सङ्कोची, अन्तर्मुखी, भावुक र विद्रोही समेत बनायो । पारिजातले सानैदेखिको अभावै अभावले ग्रस्त जीवनमा त्यही अभावभित्र सिर्जनात्मक गहिराईमा आफूलाई डुबाउनुभयो । जसको फलस्वरुप उहाँले यस समाजमा भएका नारी उत्पीडन, भोका नाङ्गा गरिब र वर्गिय विभेदको कारण सँधै आगोको ज्वालामा जल्नु परेका मानिसहरूको बारेमा कथा, कविता, उपन्यास आदिको माध्यमबाट यथार्थताको चित्रणमात्र होइन, विद्रोहको बिगुल बजाउने र ती तमाम् विभेद्हरूको विरुद्ध धावा बोल्ने अनवरत र अनन्त यात्रामा उहाँले आफ्नो जीवनको करिब ४० वसन्त शोषित पीडित नेपालीको मुक्तिकालागि अर्पण गर्नुभयो ।
नेपालमा नजन्मिएर पनि नेपाली धर्तीलाई आफ्नो कार्य क्षेत्र बनाउनुहुने पारिजातले नेपाल प्रवेशदेखि आफ्ना अन्तिम दिनसम्म समस्या र अभावहरु विरुद्ध साँझ विहान सघर्ष गरिरहनु पर्यो, त्यसका बाबजुद उहाँले नेपाली धर्तीलाई विश्वमा चिनाउने नेपाली नारीका रुपमा सुविख्यात हुनुभयो ।
सानैदेखि निडर र हठी स्वभावकी पारिजातको जीवनमा निकै उतर चढावहरू आए । सानो छँदा सुखसयलमा हुर्किएको भएता पनि किशोर अवस्थामा पारिजातलाई सधै दुःख, पिडा र अभावहरूको सामना गरिरहनु पर्यो जसका कारण उहाँमा आफ्नो त्यस परिवेश विरुद्ध विद्रोही र आक्रोशित पनि हुन पुग्नुभयो । उहाँले जीवनमा स्वच्छन्दतावादी, विसंगतीवादी, अस्तित्ववादी, शून्यतावादी दर्शन, प्रगतिवाद, र नारीवादी सबै किसिमका धारलाई अँगाल्न पुग्नुभयो । तर जुन किसिमको धारालाई अँगाल्दा पनि शोषित, पिडीत नारीहरूको बारेमा स्वतन्त्ररुपमा बोल्न भने जीवनको
पारिजातका विचारहरू आपसमा बाझिएका भए पनि, शून्यता र निस्सारता प्रधान भए पनि, मूलतः “व्यर्थताबीच बँचाई आत्महत्या सरह हो” भन्ने जीवन दर्शनमा भने पारिजात सँधै अडिग रहनु भएको छ । उहाँको विचारमा मानिसले केहि गर्नुपर्छ जाग्नुपर्छ, चेतनशील भएर समाजका विकृति विरुद्ध लड्नुपर्छ । अन्यथा पशु र मानिसमा केही भिन्नता हुँदैन भन्ने कुरा उहाँको जीवन सूत्र थियो ।
हाम्रो समाजका बहुसंख्यक गरीब, असाहय, भोका नाङ्गा शोषित पीडितहरूका पक्षमा वकालत गर्दै कलम चलाउने काम पारिजातले गर्नुभएको छ । उहाँका रचनाहरुमा रहस्य, रोमान्स, वैभव, विलास आदिको वर्णन पाइदैनन् । समाजमा महिला र पुरुष बराबर हुन् भन्ने दृष्टिकोण पारिजातको कृतिमा पाइन्छ । परजीवि बन्न बाध्य पारिने समाजिक परिवेश र पितृसत्ताबाट शोषित नारीका पक्षमा नारी स्वयम् आफ्नो खुट्टामा उभिएर लडाई लडिरहनु पर्छ भन्ने सन्देश पारिजातले आफ्नो कृतिहरुमा दिनु भएको छ ।
नेपाली साहित्यमा उहाँको योगदान
पारिजातको साहित्यिक जीवनको शुरुवात वि.सं. २०१३ सालमा (१९ वर्षको उमेरमा) “धरती” पत्रिकामा दुई कविता छापी भएको थियो । तर २०१४ सालमा प्रकाशित “आकांक्षा” कविता संग्रह नै उहाँको पहिलो प्रकाशित पुस्तक थियो । बहु चर्चित र अन्तराष्ट्रिय रुपमा पारिजातलाई चचिर्त गराएको पहिलो प्रकाशित उपन्यास “शिरिशको फूल” (२०२२) को प्रकाशन पूर्व २०१८ देखि २०२१ सम्मको समयावधीमा उहाँले लेख्नुभएका “संघर्ष”, “वर—पीपल”, “मानव अन्तर्यामी” र “शारदा” जस्ता उपन्यासहरुले भने उहाँ कै समेत चित्त नबुझेको कारण पाठकसम्म पुग्न नै नपाई उहाँद्वारा नै खरानी बने । उहाँको दोस्रो उपन्यास “महत्ताहीन” २०२५ सालमा प्रकाशित भयो । त्यसै वर्ष प्रथम कथा संग्रह “आदिम देश” (२०२५) को पनि प्रकाशन भयो । तेस्रो उपन्यास “बैसको मान्छे“ २०२९ मा प्रकाशित भयो । त्यसपछि दोस्रो कथा संग्रह “सडक र प्रतिभा” (२०३२) को प्रकाशन भयो । त्यसै गरी, चौथो उपन्यास “तोरीबारी बाटा र सपनाहरू” (२०३३)को प्रकाशन, भयो । २०३५ साल उहाँको साहित्यिक यात्रामा उर्वर वर्ष थियो, यसै वर्ष उहाँको पाँचौ उपन्यास “अन्तर्मुखी”, छैटौ उपन्यास “उसले रोजेको बाटो”, सातौ उपन्यास “पर्खालभित्र र बाहिर”को प्रकाशन भयो । उहाँको आठौं उपन्यास “अनिदो पहाड सँगै” (२०३९) को प्रकाशन, प्रथम आत्मसंस्मरण “धुपी, सल्ला र लालीगुराँसको फेदमा” (२०४३) को प्रकाशन, सोही वर्ष तेश्रो कथा संग्रह “साल्गीको बलात्कृत आँशु”को पनि प्रकाशन भयो । इश्वर बरालद्वारा सम्पादित उहाँको दोश्रो कविता संग्रह “पारिजातका कविताहरू” २०४४ मा प्रकाशित भयो । त्यसै गरी उहाँको नवौं उपन्यास “परिभाषित आँखाहरू”(२०४६) मा, दासौं उपन्यासः ”बोनी” (२०४८) मा प्रकाशित भए । नारी मुक्तिबारे लेखिएका फुटकर लेखहरुको संकलन “आधी आकाश” पनि यसै वर्ष प्रकाशित भयो । तेस्रो कथा संग्रह ““बधशाला जाँदा आउँदा” (२०४९) नै उहाँको जीवनको अन्तिम प्रकाशन बन्यो । उहाँको मृत्यु पर्यन्त “बैंसालु वर्तमान” (२०५०) र “अध्ययन र संर्घष” (२०५१) को प्रकाशन भएका छन् ।
साहित्यिकरसामाजिक संघ संस्थामा आवद्धता
सर्वप्रथम २०१४ सालमा “रोदीघर” नामक संस्थामा आवद्ध हुनु भएको थियो । त्यसपछि २०२३ सालमा आरम्भ भएको “राल्फा” आन्दोलनमा प्रेरक र अगुवा भई लाग्नुभयो । २०३६ सालमा “प्रगतिशील लेखक कलाकार संघ”को संस्थापनमा क्रियाशील भई उक्त संघको केन्द्रीय सदस्यको कार्यभार वहन गर्नुभयो । “वेदना साँस्कृतिक परिवार”को आयोजनामा २०३७ सालमा भारतको विभिन्न प्रान्तहरुमा भ्रमण । २०४४ मा “इन्द्रेणी साँस्कृतिक समाज” को मानार्थ अध्यक्ष । प्रज्ञा प्रतिष्ठानको प्रजातान्त्रिकरणको माग पूरा गराउने प्रयत्नको क्रममा जनआन्दोलनपछि गठित “प्राज्ञिक संघर्ष समिति”को क्रियाशील संयोजकको रुपमा काम गर्नु भयो । त्यसपछि International Feminist Association, Out right, Society for women Geographer, Amnesty International सँग पनि सम्बद्ध रहनुभयो ।
राजनैतिक व्यक्तित्वका रुपमा पारिजात
वि।सं। २०३० सालमा साहित्यमा प्रगतिवाद तर्फ उन्मुख पारिजातले भोका नाङ्गा गरिब र श्रमिक जनताको मुक्तिप्रति समर्पित भई नेपाल कम्युनिष्ट पार्टी ९चौथो महाधिवेशन ०को सदस्यता प्राप्त गर्नुभयो । त्यसपछि २०३५ र २०३६ सालको जन आन्दोलनपछि महिला जागरण कार्यक्रम, भूमिगत प्रशिक्षण आदिमा सक्रिय हुनुभयो र “अखिल नेपाल महिला संघ”को अध्यक्षमा निर्वाचित हुनु भयो । त्यसपछि २०४६ सालमा “अखिल नेपाल महिला मंच” को संस्थापक अध्यक्षमा चुनिनु भयो । २०४६ सालको चैत्र ३ गते आयोजित लेखक कलाकारहरूको कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने कार्यक्रममा सक्रिय सहभागी हुनुभयो । नेपाली महिलाहरूको प्रथम पुस्तक प्रदर्शनीमा क्रियाशील भई “नेपाल भारत सांस्कृतिक केन्द्र”, नयाँ सडकमा उक्त पुस्तक प्रदर्शनी सम्पन्न गर्नु भयो । यसरी पारिजातले उत्पीडित, भोका, नाङ्गा र गरिबहरूको आवाज आफ्ना रचनाहरु मार्फत तथा राजनैतिक गतिविधीहरुद्वारा समेत उठाईरहनु भयो ।
पुरस्कार, सम्मान र वृत्ति
१) २०२२ सालमा “शिरिषको फूल” का निम्ति मदन पुरस्कार प्राप्त गर्नुभयो ।
२) २०४९ सालमा “ गंकी —बसुन्धरा पुरस्कार” प्राप्त गर्नुभयो ।
३) २०५० सालमा “सर्वश्रैष्ठ पाण्डुलिपि पुरस्कार” प्राप्त गर्नुभयो ।
४) २०४८ सालमा “त्रिभुवन विश्वविद्यालय”को सदस्यमा मनोनित ।
५) २०४८ सालमा “नेपाली केन्द्रीय शिक्षण विभाग, साहित्य कुन्ज, त्रिभुवन विश्वविद्यालय”द्वारा भानु जयन्ती र स्रष्टा अभिनन्दन समारोह कार्यक्रम अन्र्तगत अभिनन्दित हुनुभयो ।
६) २०४९ सालमा नेपाल तामाङ घेदुङ संघद्वारा अभिनन्दित हुनुभयो ।
७) २०४९ सालमा जनमत साहित्यिक मासिकद्वारा अभिनन्दित हुनुभयो ।
८) शिरिषको फूलको अंग्रेजी अनुवाद Blue Mimosa संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट ।
९) २०३२ सालदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा निमित्त विद्वत् वृत्ति प्रदान
देहावसानः
नेपाली प्रगतिवादी साहित्यको एउटा महान् हस्ति पारिजातको देहान्त विक्रम सम्बत् २०५० बैशाख ५ गते विहान ४ बजे वीर अस्पताल काठमाडौंमा भयो । आज उहाँ हामीसँग नभएपनि उहाँले नेपाली प्रगतिवादी साहित्यमा पु¥याउनुभएको योगदानका कारण हाम्रो हृदयमा सदा सदा बाँचिरहनु हुनेछ ।
सन्दर्भ ग्रन्थहरू -
१। पारिजात स्मृति ग्रन्थ
२। पारिजातका संकलित रचनाहरू
३। पारिजातसँग सम्बन्धित विविध पत्र पत्रिकाहरू