बनेपा । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा नेकपा एकीकृत समाजवादी निकट भ्रातृ संगठनहरुले प्रदर्शन गरेका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विभिन्न जनवर्गीय संगठनहरुले एमसीसी राष्ट्रहित विपरीत रहेको भन्दै काभ्रेको बनेपामा विरोध प्रदर्शन गरेको छ ।
‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद लगायत प्लेकार्डसहित सडकमा आएका समाजवादीका नेता कार्यकर्ताले एमसीसी फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
विरोध प्रदर्शनमा बोल्दै नेकपा एकीकृत समाजवादी काभ्रेका जिल्ला सचिव तथा मोर्चा विभाग प्रमुख दिपक गौतमले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्वीकार्न नहुने बताए । मोर्चा विभाग प्रमुख गौतमले पार्टी अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष केपी आली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई होसियार हुन चेतावनी दिनुभयो ।
‘ठूलो दलका नेताहरु होसियार हुन जरुरी छ । बरु हामी दुःख सहौँला । तर विदेशीको पाउ मोल्न सक्दैनौ । अनेक बहानामा हाम्रो स्वाधिन राष्ट्रलाई आफ्नो मुठ्ठिमा लिने कोशिस हुँदैछ । यदि संसदमा टेबल भयो र पास गरियो भने सबै सांसदहरुलाई कालोमसो दल्न पनि हामी पछि पर्दैनौँ । मोर्चा विभाग प्रमुख गौतमले भन्नुभयो ।’
एमसीसी देशको कुनै पनि हितमा नरहेको भन्दै प्रमुख गौतमले सबै जनताले यसको खुलेर विरोध गर्नुपर्नेमा जोड दिनुभयो । ‘आम नेपालीले बुझ्न जरुरी छ । एमसीसी हाम्रो मुलुकको हितमा छैन । सहयोग दिने हो भने यस्तो सर्तमा अहिलेसम्म कसैले दिएका छैनन् । त्यसबाट पनि कुरा प्रष्ट हुन्छ । एमसीसी सम्झौतामा राखिएको सर्तहरु आपत्तिजनक छन् । हामी त्यसलाई मान्न तयार छैनौँ । गौतमले भन्नुभयो । सम्झौता लागू गराउन अमेरिकाले नेताहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए । यसैगरी किसान नेता दिपक थापा, युवा नेता भेषराज शाह, विद्याथी नेता वदन भण्डारी लगायतका नेताहरु एमसिसि कुनैपनि हालतमा स्वीकार्य नहुने बताए ।
एमसीसीको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाहले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि युवाहरु एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
एमसीसी राष्ट्रको हित विपरित रहेको भन्दै उहाँले जस्तो सुकै आन्दोलनको नेतृत्व गर्न पनि युवा संघ नेपाल तयार रहेको प्रतिबद्धता जनाउनुभयो । ‘नेपाली भुमिमाथि विदेशीको गिद्धे नजर हाम्रो लागि सह्य छैन् । एमसीसीका विरुद्ध थप आन्दोलन गर्न पनि हामी पछि पर्ने छैन् । देश नै रहेन भने हामी नेपाली रहन सक्दैनौँ । सचिब शाहले भन्नुभयो ।छोटो समयको तयारीमा एमालेबाट विद्रोह गरेको बनेको नयाँ दलले बनेपाबाट कमजोर नरहेको सन्देश दिएको छ । नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ, समाजवादी पे्रस संगठन लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् । साथै, भ्रातृ संगठनहरुले उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।