काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) को चुनावी अभियानको रिपोर्टिङमा हिँडिरहेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अनुसार सिटौलाको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो। चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका सिटौलाको ४५ वर्षकै उमेरमा भएको असामयिक निधनले पत्रकारिता र चलचित्र क्षेत्रलाई स्तब्ध बनाएको छ।
बालेनको चुनावी प्रचारका क्रममा अछाम पुगेका सिटौला त्यहीँ एक्कासि बेहोस भएर ढलेपछि उनको अवस्था गम्भीर बनेको थियो। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उपचारका सबै प्रयास गरे पनि उनलाई बचाउन नसकिएको जनाएको छ।
पत्रकार सिटौलाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आज दिउँसो २ः३० बजेदेखि ३ः०० बजेसम्म चलचित्र विकास बोर्डमा उनको पार्थिव शरीर राखिएको थियो। चलचित्र पत्रकारितामा लामो समयदेखि सक्रिय सिटौला ‘फिल्म अनलाइन द सिनेमा टाइम्स’ का सञ्चालकसमेत थिए। उनको निधनले समग्र सञ्चार जगतले एक जिम्मेवार, सक्रिय र जुझारु पत्रकार गुमाएको अनुभूति गरिएको छ।
सिटौलाको मृत्युले उठेका प्रश्नहरु-
यसैबीच, सिटौलाको निधनपछि सार्वजनिक क्षेत्रमा केही गम्भीर प्रश्नहरू उठिरहेका छन्। यी प्रश्नहरू कसैलाई दोषी ठहर गर्नका लागि होइनन्, बरु घटनाको वास्तविकता स्पष्ट हुनुपर्छ भन्ने उद्देश्यले उठाइएका हुन्। लोकतन्त्रमा प्रश्न गर्नु अपराध होइन, कर्तव्य हो भन्ने मान्यताबाट प्रेरित भएर नागरिक समाज र पत्रकारितावृत्तमा जिज्ञासाहरू व्यक्त भइरहेका छन्।
सिटौलाको मृत्यु वास्तवमै प्राकृतिक थियो कि होइन भन्ने प्रश्न पहिलो रूपमा उठेको छ। घरबाट सामान्य अवस्थामा निस्किएका सिटौला केही घण्टामै मरणासन्न अवस्थामा कसरी पुगे भन्ने विषयमा पनि औपचारिक र विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन। बालेन्द्र शाहको सामान्य गतिविधिसमेत तस्वीरसहित सार्वजनिक हुने देशमा सिटौला बिरामी भएपछि अस्पताल लैजाँदाका दृश्य वा विवरण किन बाहिर आएनन् भन्ने प्रश्न पनि उठाइएको छ।
अस्पतालले शव हस्तान्तरण गर्नुअघि आफन्तलाई भेट्न नदिएको भनिएको विषय सामान्य अस्पताल प्रोटोकलअनुसार हो कि अपवाद भन्नेबारे पनि स्पष्टता मागिएको छ। पोस्टमार्टम रिपोर्ट परिवारले पूर्ण रूपमा हेर्न पाए–नपाएको, त्यसका निष्कर्षहरू किन सार्वजनिक भएनन् भन्ने जिज्ञासा पनि उस्तै छ।
त्यसैगरी, मृत्यु अघिका २४ घण्टामा सिटौला कस–कससँग थिए, अन्तिम घडीमा उपस्थित व्यक्तिहरूको बयान किन सार्वजनिक भएन, मृत्यु अघि उनको मोबाइल, कल रेकर्ड र लोकेसन डाटाको जाँच गरियो कि गरिएन भन्ने विषयमा पनि कुनै आधिकारिक जानकारी आएको छैन।
पत्रकारिताजस्तो संवेदनशील पेशामा आबद्ध सिटौला मृत्यु अघि कुनै गम्भीर वा संवेदनशील विषयमा काम गरिरहेका थिए कि थिएनन्, उनले कसैसँग दबाब, धम्की वा असहजता व्यक्त गरेका थिए कि थिएनन् भन्ने पक्षले पनि चासो बढाएको छ। यस घटनामा स्वतन्त्र र निष्पक्ष छानबिन किन भएन, यदि छानबिन भएको हो भने त्यसको नेतृत्व कसले गर्यो र ‘सामान्य मृत्यु’ भनेर हतारमा निष्कर्ष किन निकालियो भन्ने प्रश्नहरू अझै निरुत्तर देखिन्छन्।
“म प्रधानमन्त्री बन्छु” भन्ने सार्वजनिक अभिव्यक्ति दिने बालेन्द्र शाहसँग यी प्रश्नहरूको जवाफ छ कि छैन भन्ने बहस पनि सार्वजनिक रूपमा उठ्न थालेको छ।
दिनेश सिटौला अब फर्केर आउने छैनन्।
तर उनको निधनले जन्माएका प्रश्नहरू अझै जीवित छन्।
सत्यको खोज र पारदर्शिता नै उनको पेशा र स्मृतिप्रतिको सच्चा सम्मान हुनेछ।