काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको जड राजनीतिक इच्छाशक्तिको कमी भएको बताएका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिंदै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भ्रष्टाचार ठूलो समस्या बनिसकेको बताए ।
गफ ठूलो गर्ने, तर आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने गरेको भन्दै उनले भने, ‘आफू संलग्न नहुने, भ्रष्टाचारको कारण खोजी गर्ने र संलग्न जोसुकै किन होस्, दण्डित गर्न सक्यौं भने अरु धेरै गर्न सकिन्छ ।’
उनले अघि भनेका छन्, ‘कुरा कम गरौं, काम धेरै गरेर देखाऔं । कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्कदिक्क भइसक्यौं । हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ । त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौं ।’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिन लागेको विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै नेपालले ओलीलाई कटाक्ष गरेका हुन्।
ओलीले सोमबार र मंगलबार संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको बताएका थिए। उनले बेलायत, इजरायल, जापानलगायत संसदीय व्यवस्था भएका मुलुकमा पनि संसद विघटन हुने गरेको तर्क गरेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आज संसदमा बोल्दै ओलीको अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।
देउवालाई जवाफ दिँदै ओलीले २०१७, २०५१ र २०५८ मा पनि संसद विघटन भएको र संसद विघटनको गुरू देउवा नै बताएका थिए।
संसदमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद विघटनबारे ओली संसदमा गर्जिएको देखेर आफू अचम्ममा परेको बताएका हुन्।
ओलीले उदाहरण दिएजस्तै नेपालको संविधान बेलायत, जापानको जस्तो नभएको नेपालले बताए।
‘अहिलेको संविधान राणाकालको जस्तो वा २०४८ सालको जस्तो होइन। हामी आफैंले लेखेको संविधानमा संसदले सरकार बनाउन सक्ने अवस्थामा कसैको लहडमा प्रतिनिधि सभा विघटन गर्न नपाइने व्यवस्था छ,’ नेपालले भने,‘सर्वोच्च अदालतले पनि त्यसलाई व्याख्या गरिसकेको छ। हेक्का रहोस् प्रतिनिधि सभा विघटन गर्न पाइँदैन।’
ओलीको भनाइजस्तै अहिलेको गठबन्धनको भनाइ पनि प्रतिनिधि सभा विघटन गर्न सक्छ भन्ने हुनु नहुने नेपालले बताए।
‘टीकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई रिहाई गर्न ध्यान जाओस्’, उनले भने । २०७२ भदौमा टीकापुरमा भएको थारु आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएको थियो । सो घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।