काठमाडौं- सञ्चारकर्मी भक्त स्याङ्तानको कथा संग्रह ‘डम्फुको आत्मालाप’ शुक्रवार काठमाडौंको बत्तिसपुतलीस्थित् शिल्पिथिएटरमा सार्वजनिक एवम अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रोफेसर अरुण गुप्तो, निबन्धकार कुमारी लामा र सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले सो कथा संग्रह सार्वजनिक गरेका हुन्। कथा संग्रहमाथि प्राध्यापक अरुण गुप्तो, सह-प्राध्यापक कुमारी लामा र कवि लेखक तथा निर्देशक फुलमान बलले आफ्नो समिक्षात्मक भनाइहरु राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रोफेसर अरुण गुप्तोले ‘डम्फुको आत्मालाप’ आमपाठकले नबुझ्ने तामाङ सभ्यताका बिम्ब र चित्रलिपिहरु सहजै बुझिनेगरी लेखिएको एक किसिमको दस्तावेजका रुपमा रहेको बताए।
सांग्रिला मिडिया ग्रुप प्रा.लि.ले बजारमा ल्याएको यो कथा संग्रह संस्कृतिक अध्ययनका लागि पाठ्यक्रममा सिफारिस गर्न सकिने खालको चित्रलिपी र बिम्बलाई कथामा अभिलेख गरेको प्राध्यापक अरुण गुप्तोले बताए । सहभागी बुद्धिजिवी गायक गायिका साहित्यकारहरु माझ पुस्तक खस-नेपाली भाषामा भएकोले तामाङ्पन चित्रणभाव सजिव भयो वा भएन भन्ने कुरा अझै अध्ययनको विषय भएको र नेपालीमा लेख्दा ठ्याक्कै शब्दहरुको अर्थ नखुलेको कुरा पनि अन्तरसम्वादमा उठेको थियो ।
सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले ‘डम्फूको आत्मालाप’लाई तामाङ समुदायको आत्मा, तामाङको मर्म र इतिहास भएको बताए। ‘यो कथा संग्रहले नेपाली साहित्यलाई नै मजबुत बनाउँछ’, उनले भने।
उनले यो कथा संग्रहले तामाङ समुदायका संस्कृति, पहिचान र जरो बुझ्न सघाउने बताए। सांग्रिला बुक्सबाट प्रकाशित ‘डम्फुको आत्मालाप’लाई निबन्धकार कुमारी लामाले नाराबाजी नगरीकन, नचिच्याइकन सालिन ढंगले आफ्नो पहिचानको दाबीलाई सशक्त ढंगले प्रस्तुत गरिएको कृतिका रुपमा लिनुपर्ने बताइन्। उनले भनिन्, ‘तामाङ संस्कृति अध्ययनका लागि यो पुस्तक उत्तिकै उपयोगी छ।’
ड्म्फुको आत्मालाप तामाङ समुदायको मात्रै नभएर सबैको पहिचानको प्रतिक हो भन्ने सन्देश सहित आफ्नो पहिलो कथा संग्रह लिएर आएका लेखक भक्त स्याङतानले आफूले देखेका, भोगेका, भेटेका र सुनेका कथाहरुलाई नै उनेर यो संग्रह तयार पारेको बताए। कथा संग्रहमा लुङ्दर, छ्योर्तेन, न्होरला, डम्फुको आत्मालाप, म्लाङगैको आपा आदि शीर्षकका तामाङ समुदायका पात्रलाई केन्द्रमा राखेर लेखिएका ११ वटा कथा संग्रहित छन्।२ सय २३ पृष्ठको कथा संग्रहको मूल्य ४ सय ७५ रुपैयाँ रहेको छ।