जनप्रतिरोध साप्ताहिकमा प्रकाशित अन्र्तवार्ता
काभ्रे प्रतिनिधि सभा २ अन्र्तगत प्रदेश सभा(१) मा नेकपा(एकीकृत समाजवादी)बाट उम्मेदवार बनेकी लक्ष्मण लम्साल विकास निर्माण प्रक्रियामा निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने सांसदको रुपमा परिचित छन् । लम्साल तत्कालिन महावदेवस्थान गाविस हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा २०३६ साल जेठको २२ गते आमा पार्वती लम्साल र बुबा दो प्रसाद लम्सालबाट जन्मिनुभएको हो । गाउँको विद्यालयमा अध्ययन गर्दादेखि नै विद्यार्थी राजनीतिमा होमिनु भएका लम्सालले विद्यार्थी फाँटको विभिन्न तह र तप्कामा रहेर कुशलतापूर्वक जिम्मेवारी पुरा गर्नुका साथै विकृति र जनहित विरुद्ध भएका गतिविधिका विरुद्धमा उनले अनेकन दवावपूर्ण आन्दोलनको नेतृत्व सम्हालेका थिए । अन्याय र अत्याचारको विरुद्धमा बाल्यकालदेखि नै आफूलाई उभ्याउन चाहने लम्सालले न्यायपूर्ण समाजको कल्पना गर्ने पार्टीको विद्यार्थी संगठनको सदस्यता २०४९ सालमा लिएका थिए जतिबेला उनी काभ्रेको डेडीथुम्का मा.वि. महादेवस्थानमा कक्षामा ६ मा अध्ययन गर्दथे ।
उच्च शिक्षा अध्ययनका लागि उनी राजधानी पसेपछि ०५६ सालमा उनी अनेरास्ववियु बानेश्वर क्याम्पस कमिटीको सह–सचिवको जिम्मेवारी लिएर विद्यार्थी राजनीतिलाई अगाडि बढाएका थिए । त्यहीं क्याम्पसको उनी अनेरास्ववियुको अध्यक्ष हुँदै पछि ०५७ सालमै सम्पन्न भएको स्ववियुको निर्वाचनमा नेविसंघको किल्ला तोड्दै स्ववियु सभापतिमा निर्वाचित भएका लम्सालले सोही क्याम्पसबाट आफ्नो राजनीतिक यात्राको राजमार्गलाई फराकिलो बनाएका हुन् ।
त्यसपछि उनले अखिलको क्याम्पस जिल्ला कमिटी सदस्य, तात्कालीन बाग्मती अञ्चल समन्वय कमिटीको सदस्य हुँदै उनले १७ औं राष्ट्रिय सम्मेलनबाट भने वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी पाए । विद्यार्थी हक र अधिकारको निम्ति अनेकन मोर्चामा महत्वपूर्ण योगदान पु¥याएका लम्सालले अनेरास्ववियुको १८ औं राष्ट्रिय सम्मेलनबाट बाग्मती संयोजकको भूमिका निर्वाह गरे । अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य हुँदै उनले संगठन विभागको प्रमुख भएर जिम्मेवारी वहन गरेका थिए । जसबाट देशभरका युवा विद्यार्थीहरुको समुहमा उनको लोकप्रियता बढ्यो भने अनेरास्ववियु २० औं राष्ट्रिय सम्मेलनबाट उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष बन्न सफल भए । २१ औं राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा लम्साल अनेरास्ववियुको अध्यक्षको प्रत्यासी बनेका थिए । विद्यार्थी राजनीतिबाट उदाएका लम्साल २०७४ को बागमति प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट सांसद निर्वाचित भएका हुन् ।
विकास निर्माणका हिसाबले अत्यन्तै पछि परेको भुम्लु गाउँपालिकामा लम्सालले कहिल्यै नबिर्सने विकास निर्माणको गुण लगाइदिनुभएको छ । पाँचखाल नगरपालिकामा शहरी सघन विकास कार्यक्रम अन्तर्गत एकैपटक ५० करोड लम्सालकै पहलमा आएको छ । मण्डनदेउपुर नगरपालिकामा ५ बेडको आधारभूत नगर अस्पताल लम्सालकै विशेष पहलमा निर्माण भएर सञ्चालनमा आइसकेको छ । धुलिखेलका धेरै सडक सञ्जाल नपुगेको ठाउँमा सडक पु¥याउने काम लम्सालको ५ वर्षे कार्यकालमै भएका छन् ।
भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा बितेको पाँच वर्षमा आवश्यकताको आधारमा विकास निर्माणका काम सम्पन्न भएका छन् भने थुप्रै काम प्रारम्भ गरिएको छ । प्रारम्भ गरिएको काम पुरा गर्न पनि लम्साललाई विजयी गराउनुको विकल्प छैन ।
काभ्रेको प्रतिनिधि सभा– २ को प्रदेश सभा २(१)का मतदाता र आम मानिसलाई आफ्नो राजनीतिक यात्रा, मान्यता र उद्देश्यहरुलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
मंसिर ४ को निर्वाचनका लागि प्रतिस्पर्धामा आएका छौँ । हामीले लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति गठबन्धन बनाएका हौँ । दलगत स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थका निम्ति गठबन्धन बनाएका छौँ। अर्को, काभ्रेको विकास र समृद्धिका मुद्दा पनि छ। यहाँको जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि हामीसंग प्रष्ट भिजन छ । त्यो कसरी पुरा गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ र त्यसलाई संप्रेषण गरेर अगाडि बढिरहेका छौँ ।
तपाईंले त्यहाँका जनतालाई लक्षित गरेर प्रस्तुत गरिरहेको पार्टीगत र व्यक्तिगत विशेष मुद्दाहरु केही छन् ?
यहाँ मूलतः ३ पार्टीबीच गठबन्धन भएकाले गठबन्धनकै मुद्दाहरु बढी हुने भए । आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनुपर्ने विषयलाई नै हामीले मुख्य ध्यान दिएका छौँ। व्यक्तिगत रुपमा चाहिँ, हाम्रो समाज तथा राजनीतिक दलहरुबाट निष्ठाको राजनीति विस्तारै हराउँदै गएको छ । कामभन्दा बढी हावादारी कुरा गर्ने, एक महिना मतदातालाई ठगेपछि पाँच वर्ष जे पनि गर्न हुन्छ भन्ने मानसिकता कायम छ । अब यस्तो मानसिकताबाट मतदाता पनि माथि उठ्नुपर्छ।
जनताका प्रतिनिधिले राजनीतिलाई जनताको सेवा गर्ने साधन बनाउनुपर्छ । राजनीति भनेको भ्रष्टाचारको अखडा बन्ने, बदनाम हुने र आम जनतामा दल र नेता भन्नासाथ जुन नकारात्मक छवि बनिरहेको छ। त्यस्तो हुन नदिनका लागि के गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ। यसमा मैले धेरै सकारात्क प्रतिक्रिया पाएको छु ।
जनताका अपेक्षा चाहिं के–कस्तो रहेछ ?
चुनावको बेलामा आउने, भोट माग्ने, प्रलोभनमा पार्ने र जितेर गएपछि फर्केर नआउने खालको प्रवृतिको अन्त्य हुनुपर्छ भन्ने जनअपेक्षा छ । २००७ सालदेखि २०६३ सालसम्म हामीले व्यवस्था बदल्ने आन्दोलन ग¥यौँ। यसलाई अब स्थायित्व प्रदान गर्नुपर्छ । अब व्यवस्था होइन, अवस्था बदल्ने आन्दोलन गर्नुपर्छ भनेर हामीले पनि भनिरहेका छौँ । हिजो राजनीतिक क्रान्ति र आन्दोलनको नेता बनियो । अब हामी र हाम्रो भावी पुस्तालाई विकास निर्माण र समृद्धिको नेता बनाएर जानुपर्छ भन्ने विषयमा पनि छलफल चलाइरहेका छौँ। त्यसमा सकारात्मक प्रतिक्रिया पाएका छौँ । तर यति हुँदाहुँदै पनि निर्वाचनको समयमा जनतालाई भ्रम छर्ने काम भइरहेको छ। त्यसले कतै कतै प्रभावित भएको पनि पाइन्छ। तर म जहाँजहाँ पुगेको छ, त्यहाँका मानिसले निष्ठाकै मान्छे खोजेको पाएको छु। छलकपट नगर्ने मान्छे नै खोजेको पाएको छु। बाँकी कुरा निर्वाचन परिणामले देखाउँछ । जुन मंसिर ४ पछि थाहा हुन्छ ।
स्थानीय तहको निर्वाचनमा काभ्रे–२ अन्तर्गतका वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत एकीकृत गर्दा एकीकृत समाजवादी कमजोर नै देखिन्छ । तपाईंका जित्ने आधार के हुन् ?
नेकपा(एकीकृत समाजवादीको मत कम देखिनुको कारण छ । किनकि, हामीले धेरै वडामा वडाध्यक्षको उम्मेदवार उठाउन पाएनौ र उठाएकाहरु मध्ये पनि धेरै गठबन्धनको सहमति अनुरुप फिर्ता लिनुपरेको थियो । त्यसैले पनि हाम्रो मत कम देखियो । तर स्थिति त्यस्तो होइन । त्यहाँ गठबन्धनका अन्य दलले पाएको मत उसको मात्रै होइन। कांग्रेस, माओवादी वा समाजवादीले पाएको मत उसको मात्रै होइन । एक अर्काको मत मिसिएको छ। त्यसैले स्थानीय तहको मत हेर्दा प्रष्ट हिसाब आउँदैन ।
फेरि चुनाव भनेको गणित मात्र होइन । अजेन्डाको कुरा हो । हामीले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा, समावेशिताको रक्षा र निरंकुशताको विरोधको अजेन्डा प्रस्तुत गरिरहेका छौँ। अर्काे, विकासको अजेन्डा छ। तर हावादारी कुरा गरिरहेका छैनौँ। हामी यथार्थमा आधारित भएर बोलिरहेका छौँ। जे गर्न सकिन्छ, त्यति मात्रै बोलिरहेका छौँ। बोलेका कुरालाई पूरा गर्ने प्रयत्न गर्नुपर्छ भन्ने मान्यतामा छौँ।
हाम्रो जित्ने आधार भनेको गठबन्धनको मत नै हो। यस्तो मतमा हामी अगाडि छौँ। स्थानीय तहको निर्वाचनका बेलामा गठबन्धनभित्र जे–जस्ता देखिएका थिए । ती अहिले हल भएको स्थिति छ । त्यसैले गठबन्धन हिजोको भन्दा पनि बलियो भएर जान्छ भन्ने विश्वास छ । त्यसको कारण छ । प्रतिनिधि सभा र प्रदेश सभा भनेको स्थानीय तह जस्तो होइन। स्थानीय तहको निर्वाचनमा हार्दा विकास निर्माणमा सामान्य घाटा लाग्ने कुरा हो । तर संसद् र सांसदले संविधान र कानुन बदल्ने हैसियत राख्छ । त्यसैले संविधान र कानुनको रक्षा गर्ने हाम्रो जुन दायित्व छ, त्यो हामी गर्छौँ भन्ने विश्वास मतदातामा देखेको छु। त्यो पनि जितको आधार हो।
व्यक्तिगत रुपमा मेरो उम्मेदवारीको जुन सन्दर्भ छ । म शीर ठाडो गरेर भन्न सक्छु –मैले राजनीतिक रुपमा कमजोरी गरेको छैन। मेरो विरुद्धमा केही भेटिन्छ कि भनेर विपक्षीले खोजिरहेको भन्ने सुन्छु । तर मेरा कमजोरी भेटिएका छैनन्। मैले विगतमा सबै राम्रो काम कति गर्न सकें वा सकिन भन्ने समीक्षाको कुरा होला। तर गलत काम गरेको छैन। अहिले पनि मैले प्रतिबद्धता गरेको छु–कति राम्रो काम गर्न सक्छु भन्ने कुरा मैले पाउने जिम्मेवारीमा भर पर्छ। क्षमतामा पनि भर पर्छ। तर नराम्रो नगर्नेमा म दृढतापूर्वक उभिन पुग्छु। म राम्रो काम गर्ने अधिकतम कोसिस गर्छु। तर नराम्रोचाहिँ केही पनि गर्दिनँ। मतदाताको शीर झुकाउँदिनँ। मेरो सादगी जीवनलाई मतदाताले सकारात्मक रुपमा लिएको पाएको छु ।
गठबन्धन, व्यक्तिगत जीवन, गणतन्त्र प्राप्तिको आन्दोलनमा मैले खेलेको भूमिका, महिला, दलित र सीमान्तकृत समुदायको अधिकार प्राप्तिको लागि बागमति प्रदेशसभाभित्र मैले खेलेको भूमिका लगातयका कारण चुनाव जित्न सकिन्छ भन्ने मलाई लागेको छ ।
यस पटक पनि जितेर आउनुभयो भने तपाईंको भूमिका कस्तो हुने अपेक्षा गर्न सकिन्छ?
संसद्मा पुगेपछि मूल रुपमा मेरा तीनवटा भूमिका रहन्छन् । हिजो कानुन निर्माण र विकास निर्माणमा कामका मात्रै सक्रिय हुनुपर्ने स्थिति थियो। तर यसबीचमा संविधानमाथि प्रहार भयो। २००७ सालदेखि २०६३ सालसम्म लगातार ठूलो आन्दोलन गरेर लोकतन्त्र र गणतन्त्र ल्यायौँ। त्यसमाथि कुठाराघात भएको छ। त्यसैले संविधानको रक्षा गर्नका लागि भूमिका खेल्ने नै मेरो प्रमुख दायित्व रहनेछ।
म काभ्रे प्रतिनिधि सभा २ अन्तर्गतबाट निर्वाचन लड्दैछु । म विजयी भएँ भने यहाँको विकास र समृद्धिका अजेन्डालाई अगाडि बढाउन भूमिका खेल्नेछु । अर्को विगतमा मैले कानुन निर्माणमा खेलेको भूमिकालाई निरन्तरता दिनेछु। व्यक्ति–व्यक्ति टिपेर भन्दा पनि कानुनी प्रबन्ध गरेर नै सामुहिक रुपमा उत्पीडित समुदायका अधिकारलाई स्थापित गर्न सकिन्छ भन्ने मेरो गहिरो विश्वास छ। म लामो समय विद्यार्थी आन्दोलनमा क्रियाशील भएर पनि होला । शिक्षाको मुद्दामा मेरो स्वतः ध्यान जान्छ। उत्पीडित समुदायको मुद्दामा मेरो ध्यान जान्छ।
हामीले ल्याएको समावेशी व्यवस्थाले सबै उत्पीडित समुदायलाई पहुँचमा पु¥याउने भनेको छ। उनीहरुको आर्थिक जीवन बदल्ने भनेको छ। त्यसका लागि मैले हिजो पनि भूमिका खेलेँ। अब पनि भूमिका खेल्नेछु । त्यसक्रममा मैले आफ्नो क्षमता पनि विकास गर्नेछु । अझ सक्रिय हुनेछु । यस्ता भूमिका खेल्ने क्रममा मेरो कुनै व्यक्तिगत स्वार्थ रहनेछैन। राजनीतिलाई सकुञ्जेल जनताको सेवा गर्ने माध्यम बनाउने हो। तर सक्ने स्थिति बनेन भने राजनीतिबाट अलग भएर बस्दा राम्रो हुन्छ भन्ने ठान्छु। बेइमानी भने गर्दिनँ। राजनीतिमा निष्ठा र इमान भएका मान्छे पनि छन् है भन्ने विश्वास र आशाको दियो जनतामा जगाइराख्ने छु ।