बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकले अब पालिकाहरुसंग समन्वय गरेर विद्यालयस्तरबाट नै खेल प्रशिक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला खेलकुद विकास समितिको शुक्रवार बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद्बाट जिल्लामा खटिएका स्थायी प्रशिक्षकहरुलाई पालिकास्तरमा खटाएर नियमित खेल प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबाले आफूले समितिमा तेस्रो पटक नियुक्ति पाएपछि कार्यकाललाई अझ प्रभावकारी बनाउन खेलकुद क्षेत्रको विकासका लागि नयाँ ढंगले अगाडी बढाउने योजना अनुरुप यो निर्णय गरेको बताउनुभयो । ‘खेलकुदको विकाससंगै बालबालिकहरुको शारीरिक र मानसिक विकासको लागि विद्यालयस्तरबाट नै खेलकुद क्षेत्रमा बालबालिकाहरुलाई अग्रसर गराउन आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘त्यसैले राज्यले व्यवस्थापन गरेका प्रशिक्षकहरुलाई स्थानीय तहहरुसंगको समन्वयमा विद्यालयहरुसंग समन्वय गरी खेलकुद क्षेत्रको विकासमा बालबालिकाहरुको सहभागिताको लागि आवश्यक समन्वय गर्न आग्रह गर्ने निर्णय गरेका छौं ।’ जिल्ला खेलकुद विकास समितिबाट प्रशिक्षकहरु खटाईने भएको कारण पालिकाहरुले पनि जिल्ला खेलकुद विकास समितिसंग समन्वय गरेर विद्यार्थीहरुलाई खेल प्रशिक्षणमा सहभागि गराउन आग्रह गरेको उहाँले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बलराम शर्माले बैठकबाट विभिन्न खेल विधाका प्रशिक्षकहरुले दैनिक प्रशिक्षणमा रहेको खेलाडीहरुको संख्या, नाम र तालिम लिईरहेका तस्बिरसहित प्रत्येक महिनाको मसान्तमा प्रतिवेदनसहित पेश गर्नुपर्नु निर्णय गरेको जानकारी दिनुभयो । त्यसरी प्राप्त भएको प्रगती विवरणलाई राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण विभागमा पेश गर्ने भएको छ । साथै भईरहेको खेल गतिविधिहरुको अनुगमन गर्नका लागि अध्यक्ष मानवीर वाईबाको संयोजकत्वमा कार्यालय प्रमुख बलराम शर्मा र लेखापाल भिम बहादुर कर्माचार्य रहेको तीन सदस्यीय समिति समेत गठन गरेको जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा बक्सिङको बरिष्ठ प्रशिक्षक किरणबहादुर कार्की, सितेरियो कराते प्रशिक्षक विजय सुन्दर सैंजु र ओम प्रकाश नकर्मी, तेक्वान्दो प्रशिक्षक राकेश भोछिभोया र फिरोज शाक्य, उसु प्रशिक्षक नमोराज लामा र एथलेटिक्स सहायक प्रशिक्षक बोधकुमारी घिमिरेले खेल प्रशिक्षण गतिविधि सञ्चालन गर्दै आईरहनुभएको छ ।