महाभारत (काभ्रेपलाञ्चोक) । महाभारत गाउँपालिका–५ गोपेडाँडामा निर्माण गरिएको ३६ फिट अग्लो कोन्ज्योसोम बुद्ध प्रतिमाको बुधवार एक विशेष समारोहका बीच प्राण प्रतिष्ठा गरिएको छ। बागमती प्रदेश सरकारको २६ लाख, गाउँपालिकाको २५ लाख, नगद दान ५ लाख र जिन्सी तथा श्रमदान गरी करिब ६० लाख रुपैंया लागतमा प्रतिमा निर्माण गरिएको हो।
कार्तिक पूर्णिमाको अवसर पारेर लामा गुरु क्याब्जे मेनटुल गेडक रिन्पोछेले विधिपूर्वक प्राण प्रतिष्ठा गर्दै विश्व शान्ति, करुणा र मानवीय कल्याणका लागि प्रार्थना गरेका थिए। रिन्पोछेले बुद्धका उपदेशहरू आत्मसात् गर्दै शान्तिपूर्ण, सद्भावी र मानवीय जीवनयापन गर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रत्न प्रसाद ढकालले कोन्ज्योसोम बुद्ध प्रतिमाहरू मध्येको यो पहिलो प्रतिमा निर्माण पूरा भएको र बाँकी दुई प्रतिमा निर्माणका लागि सहयोग जुटाउने प्रक्रिया जारी रहेको जानकारी दिए। उनले आफ्ना कार्यकालमा विभिन्न क्षेत्रमा बुद्ध मूर्ति, छ्र्योतेन तथा गुम्बा निर्माणमा प्राथमिकता दिएको पनि उल्लेख गरे।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) ले तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक विरासत जोगाउन, संरक्षण गर्न र धार्मिक पर्यटन प्रवद्र्धन गर्न मूर्ति निर्माणले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि गाउँपालिकाबाट निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए।
कोन्ज्योसोम बुद्ध प्रतिमा निर्माण समितिका संरक्षक सुबास जिम्बाका अनुसार तीनमध्ये एक प्रतिमा निर्माण सम्पन्न भई प्राण प्रतिष्ठा भएको र बाँकी दुई प्रतिमाको निर्माणका लागि पहल भैरहेको छ। समितिको संरक्षकमा सुबास जिम्बा र सगुन लामा, अध्यक्षमा राम बहादुर ह्योञ्जन, सचिवमा बुद्धिमान ह्योञ्जन रहेका छन्।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा, लामा गुरु, आनी र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो।