काभ्रे/ नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ बिषयमा स्नातक तहकोे पढाई हुने भएको छ ।
काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेंचर र सिद्धार्थ वनस्थलीको साझेदारीमा बनेपामा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ पढाई हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
चार वर्षे स्नातक बिस्तारित कार्यक्रमको उद्घाटन गर्नुहुँदै काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विद्यार्थीलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्ने बताउनुभयो। उहाँले उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्व र मानव संसाधन व्यवस्थापनसहितका पाठ्यक्रम समावेश गरिएकाे जानकारी दिनुभयो । उपकुलपति डा. थापाले समयको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न केयूले विभिन्न बिषयमा अध्ययन अध्यापन थालेको बताउनुभयो ।
विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न डिजाइन गरिएको पाठ्यक्रमले विमान सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण प्रदान गर्ने उपकुलपति थापाको दाबी छ ।
केयूको बिस्तारित कार्यक्रम अन्तर्गत यसै बर्ष ३३ जना भर्ना हुने सिम्रिक भेञ्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । ‘उड्डयन व्यवस्थापन’ विषय अध्ययनकै लागि विदेशिनु पर्ने बाध्यता अन्त्य भएको क्याप्टेन थापाको भनाई थियो। क्याप्टेन थापाका अनुसार प्रस्तावित बैचलर अफ एभिएसन म्यानेजमेन्ट चार वर्षे एर्ग्रेजुएट कार्यक्रम भएको जसले विद्यार्थीहरूलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्दछ।
विद्यार्थीहरूले उड्डयन प्रविधिहरू, उपकरणहरू र प्रणालीहरू सहित उड्डयनका विभिन्न पक्षहरूबारे सिक्नेछन् । जटिल परिस्थितिहरू कसरी व्यवस्थापन गर्ने, दबाबमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसँग प्रभावकारी रूपमा कुराकानी गर्ने तरिका पनि सिक्नेछन् ।
कार्यक्रममा केयू स्कुल अफ म्यानेजमेन्टका डिन विजय के.सी., पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत प्रदिपराज पाण्डे, हिमालयन एयरलायन्सका विजय श्रेष्ठ, सिदार्थ वनस्थली इन्स्टिच्युटका अध्यक्ष पुष्पराम के.सी., सञ्जीव उदास लगायतले उड्डयनको बिषय अध्ययन शुरुवात हुनुले नेपालमा नै दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।