धुलिखेल / पुर्व राष्ट्रपति विद्यादेवी भन्डारीले यदि राष्ट्र र जनताको लागि राजनीति गर्नुपरे गर्न तयार हुनुपर्छ भन्नुभएको छ ।
मदन भन्डारी फाउन्डेसन काभ्रेको आयोजनामा काभ्रेको धुलिखेल नगरपालिका सभाहलमा भएको मदन भण्डारीको ७३ औं जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति भण्डारीले राजनीति देशको लागि राष्ट्रको लागि गर्ने हो देशको लागि गर्ने हो आवश्यक परे राजनीतिमा सक्रिय हुनुपर्छ भन्नुभयो । पुर्व राष्ट्रपति भण्डारीले अगाडि भन्नुभयो–‘राजनीति समाज सेवा र राज्य सेवा हो । राजनीति भनेको देशका लागि हो जनताका लागि हो । राजनैतिककर्मी भनेको सेवक हो । मृत्यु हुँदाखेरि अलिकता मलामी आओस् यही हो राजनीति ।’
‘मैले राष्ट्रपति हुँदा एमालेभित्रको विवाद मिलाउने प्रयत्न गरें । त्यो एमालेका लागि थिएन, राष्ट्रका लागि थियो । तर पनि सम्भव भएन । किन झगडा गर्नु ? घरभित्र झगडा । पार्टीभित्र झगडा । यसले देश र राष्ट्रलाई फाईदा पु¥याउँदैन । राजनीति कुनै ब्यवसाय नभएकाले जनताद्वारा अनुमोदित हुनु पर्ने ब्यवस्था छ’–पुर्व राष्ट्रपति भण्डारीले भन्नुभयो–‘आत्मकेन्द्रित भएर नसोचौ । राष्ट्रकेन्द्रित भएर सोचौं । नेकपा एमाले भित्र पनि त्यस्तो भएको छ । मदन भण्डारीको मृत्यु राष्ट्र र एमालेका लागि शोक हो । दुःख हो । कार्यकर्ताहरुले शोक र शक्तिमा बदल्दै अघि एमालेलाई बढाएका छन् । एमाले पटक पटक विभाजन भएर देशलाई घाटा लागेको छ ।’
देशलाई समृद्ध बनाउने अभिभारा बोक्नेले जनताका बीचमा गएर मन जित्ने पहलकदमी गर्नुपर्छ, जनताले पनि नेताहरुलाई अर्जुन दृष्टिमा राखेका हुन्छन्, यसमा सबैले हेक्का राख्नुपर्छ भण्डारीले भनिन् । उहाँले हरेक परिवर्तनका श्रृङ्खलामा जनता नै निर्णायक भएको स्मरण गर्दै जनतालाई कम शक्तिका रुपमा आँकलन गर्न नमिल्ने उनको भनाई थियो । उहाँले यदि हामी समृद्ध र सुखी नेपाल चाहन्छौ भने त्यो जनताको सरोकारका विषय राजनैतिक नेतृत्वले गर्नुपर्नेमा जोड दिनुभयो ।
रेमिट्यान्सका कारण मुलुक चलिरहेको छ । यसरी मुलुक चल्दैन भन्नुहुँदै उहाँले जबजको पक्षधर एमाले पार्टी भएकाले राष्ट्रिय अर्थतन्त्रलाई कसरी समृद्ध बनाउने ? उत्पादनमा लाग्ने शक्ति बैदेशिक रोजगारमा जाँदा कसरी मुलुक बन्छ ? भन्दै प्रतिप्रश्न समेत गर्नुभयो । राष्ट्रिय अर्थतन्त्रलाई सम्बृद्ध नबनाई मुलुक बन्न नसक्ने भन्दै मुलुक अहिले व्यापार कमिसनले चलेको आरोप समेत लगाउनु भयो । देशमा अहिले राष्ट्रिय पुँजी भन्दा दलालपुँजि फस्टाएको जिकिर गर्दै यस्तो प्रक्रियाले समृद्धि नहुने उहाँको भनाई थियो।
मतभेदका विषय भए आन्तरिक रुपमा छलफल र अन्तर सम्बाद गर्नुपर्छ । कलंकको टीका नलगाउनुस्, पार्टी नफुटाउनुस् भन्दा खरानी हुन तयार छु भन्नेहरु अहिके त्यै भएको छ । जुन पार्र्टीबाट राष्ट्रपति बने त्यो नै फुटाउँदा मलाई दुःख र पीडा भएको थियो भन्दै संसद विघटनलाई आफुले थाहा पाएर नै सदर गरेको बताउनुभयो । उहाँले छलफलबाट मिलाउन खोज्दा नसकेर खुट्टा समाएर ढोग्न मात्र बाँकी राखेको बताउनुभयो ।
कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले न्यायको पक्षमा निडरतासाथ उभिएका नेता स्व.भण्डारीमाथि षड्यन्त्र भएको बताए । कार्यक्रममा पार्टीको बाग्मती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य नविना लामा, जिल्ला अध्यक्ष राजन भुर्तेल, पूर्व अध्यक्ष अशोक ब्याञ्जू लगायतले स्व.मदन भण्डारीको योगदानबारे चर्चा गरेका थिए । धुलिखेल नगरपालिका वडा न ११ काभ्रे भन्ज्यांङ्गमा निर्माण गरेको पार्कमा रहेको मदन भण्डारीको प्रतिमालाई माल्यार्पण गरे पश्चात् नगरसभा हलमा भएको कार्यक्रमको अध्यक्षता स्व. मदन भण्डारी फाण्डेशन काभ्रेका अध्यक्ष कुमार तिमल्सिना, सञ्चालन सचिव विपिन लामाले र स्वागत रिता ढकालले गर्नुभएको थियो ।