धुलिखेल स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धुलिखेल नगरपालिकाको मतगणनामा भएको विवादमा अझै सहमति हुन सकेको छैन । उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर के गर्ने ? भन्ने विषयमा मतगनणा हुनु अघि गरेको सर्वदलिय बैठकले गरेको सहमतिमा टेकेर १ देखि ८ वटा वडाको मतगणना संपन्न भएर घोषणासमेत भइसकेको छ । ९ नंबर वडाको मतगणना शुरु गर्ने बेला एमालेले विवाद निकालेपछि मतगणना स्थगित भएको थियो ।
किन भने धुलिखेलमा रुखको मेयर पदमा उम्मेद्ववार छैन । त्यस्तै मेयरमा रूख र कलममा स्वास्तिक छाप छ भने रूखको मत कलमले पाउने । रूख र सुर्यमा छाप छ भने सुर्यले मत पाउने सर्वदलिय निर्णय भएको थियो ।
यसो गर्दा सबै दलले फाईदा लिईरहेका थिए । तर एमालेका मेयर पदका उम्मेद्ववार ब्याञ्जु मतगणना स्थलमा पुगेर यसअघिको सहमति र निर्णय नमान्ने भनेपछि मंगलबार साँझदेखि मतगणना रोकिएको हो ।
जिल्लाको मुख्य न्यायधिश नै जिल्लामा निर्वाचनको प्रमुख हुने कानुनी व्यवस्था भएको अवस्थामा निर्देशिका विपरीत सर्वदलिय सहमति गर्दा मुख्य जिल्ला न्यायधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले किन रोकेनन् ? किन चुप लागेर बसे र यतिबेला आएर गल्ती महसुस भयो भन्नुले मुख्य निर्वाचन अधिकृत दोषी देखिन्छ–स्वतन्त्र उम्मेदवार विदुर बस्नेत निकट एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले अगाडि भने–सर्वदलिय सहमतिमा बनाएको आचारसंहितामा टेकेर १ देखि ८ सम्मको मतगणना संपन्न भइसकेको अवस्थामा पछाडि फर्कने अवस्था छैन । अन्यथा मुख्य निर्वाचन अधिकृत र एमाले विरुद्ध मतगणनाको विषयलाई लिएर अदालत पनि जानुपर्ने हुनसक्छ ।
यता ‘उम्मेदवार नभएको चिह्न र अरु कुनैमा मत संकेत भएकोलाई सदर मान्दै आएका थियौं, गलत भएको महसुस भएपछि हामीले नै दलहरूसँग छलफल गरेका हौं,’ सहायक निर्वाचन अधिकृत शेषराज दाहालको भनाई भने, ‘हामीले गल्ती स्वीकार्दै आयोगलाई पत्र लेखेका छौं । आयोगकै निर्देशनअनुसार अघि बढ्छौं ।’ आफैंले गरेको गल्ती सच्याउन आफूले नमिल्ने भन्दै संवैधानिक निकाय, अदालतले दिने निर्णयअनुसार अघि बढ्ने दाहालले बताए । विवादपछि भएको छलफलमा कांग्रेसलगायत अन्य दलले मतगणनाअघि भएको सहमतिअनुसार यसअघि घोषणा भएका ८ वडाअनुसार नै बाँकी वडाको मतगणना हुनुपर्ने अन्यथा यसअघिका सबै वडामा पुनः गणना वा मतदान हुनुपर्ने अडान राखेका थिए भने एमालेले नयाँ नियमअनुसार हुनुपर्ने अडान राखेको थियो । जिल्लाका पार्टी प्रमुखहरूको छलफलले समेत निकास निकाल्न सकेको छैन ।
दलहरुबीच जिल्लामा कुरा नमिलेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई समस्या समाधानका लागि पत्र पठाएको छ । अहिलेसम्म निर्वाचन आयोग पत्र धुलिखेल आईसकेको छैन ।
एमाले बाहेकका दलहरू अदाल जाने तयारीमा रहेको स्रोतको दाबी छ । ‘वडा नम्बर १ देखि ८ सम्म यहि सहमतिले हुने । अहिले वडा नम्बर ९ मा आईपुग्दा किन त्यो नियम लागु नहुने ? यसरी जनताको मतलाई अबमुल्यन गर्न मिल्दैन हामी अदालत जान्छौं । नाम उल्लेख नगर्ने सर्तमा गठबन्धनका एक नेताले भने ।’
तर निर्वाचन आयोगको ऐन, कानुनले ७ वटा स्वस्तिक छाप हान्नुपर्ने ठाउँमा ८ वटा छाप हुने वित्तिकै त्यो मत स्वतः बदर हुने स्पष्ट लेखेको छ ।
निर्देशिकाविपरीत यसअघि गरिएको मतगणना बदर गरी पुनः मतगणना गर्ने वा यसअघि घोषणा गरिएको सदर गरेर बाँकी निर्देशिकाअनुसार भए अदालत जाने तयारीमा कांग्रेस, स्वतन्त्र उम्मेदवारलगायतको तयारी छ । मतगणना निर्देशिकासमेत जानकारी नहुने न्यायधीशलाई कारबाही गर्नुपर्ने मागसमेत उनीहरूको छ ।
धुलिखेलमा एमालेका अशोक व्याञ्जु र गठबन्धनको समेत समर्थन रहेका स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतबीच प्रतिस्पर्धा छ । आफ्नो पकड भएको क्षेत्रमा आएपछि एमालेले हार्ने डरले विवाद निकालेको स्वतन्त्र उम्मेदवार बस्नेत पक्षको आरोप छ भने एमालेले निर्देशिकाविपरीत गणना हुन नसक्ने बताउँदै आएको छ ।
धुलिखेल नगरपालिकाको वडा नम्बर ८ को मतगणना गरीसक्दासम्म जेब्रा चुनाव चिन्हले एमालेका मेयर पदका उम्मेद्ववार अशोक कुमार ब्याञ्जु श्रेष्ठसंगको मतान्तर निकै घटाएका थिए ।
वडा नम्बर ९ को १ सय मत गन्दा ४ मतमात्रै सुर्यले पाएकाले आफु हार्ने डरले एमालले विवाद सिर्जना गरेको बताइयो । वडा नम्बर ९ स्वतन्त्र मेयर पदका उम्मेद्ववार विदुर बस्नेतको आफ्नै वडा हो । वडा नम्बर ९ को मतपेटिकाबाट मतपत्र गन्नका लागि भुईमा खन्याउने क्रममा लगभग एक छापे मत मेयरका उम्मेद्ववार जेब्रा चिन्ह र उम्मेद्ववार नै नरहेको रूख चिन्हमा स्वस्तिक छाप लागेको कर्मचारी र दलका प्रतिनिधिले देखे ।
त्यसपछि एमाले मेयर पदका उम्मेद्ववार अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई मतगणना स्थलमा रहेका आफ्ना कार्यकर्ताले सुर्य चिन्हमा मत निकै कम रहेको रिपोर्टिङ गरे । लगत्तै मतगणना स्थलमा पुगेका ब्याञ्जुले मतगणना स्थगित गर्न मुख्य निर्वाचन अधिकृतलाई आग्रह गरे । लगभग तनाबको अवस्था सिर्जना भयो । वडा नम्बर ९ को प्रारम्भिक मत परिणामले अत्तालिएको एमालेले यसअघिका सहमति नमान्ने भनेपछि मतगणना रोकिएको हो ।