काभ्रेपलाञ्चोक । पूर्व श्रमराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन भएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा आज बिहान ३ बजे उनको निधन भएको हो।
वडाध्यक्ष मोतीलाल तामाङका अनुसार लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उप्रेती उपचाररत थिए। उनकी श्रीमतीको कोरोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुर उप्रेतीले उनको रेखदेख गर्दै आएका थिए।
कोशीपारी क्षेत्रमा इमानदार राजनीति, साहसी नेतृत्व र सर्वहारा वर्गप्रतिको निष्ठाका कारण उप्रेती जनतामाझ अत्यन्त सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए। पञ्चायतकालदेखि प्रजातान्त्रिक व्यवस्थासम्म निरन्तर जनताको मतबाट निर्वाचित हुँदै आएका उनी पटक–पटक सांसद तथा श्रमराज्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए। समर्थकहरूका अनुसार उप्रेतीले राजनीतिलाई कहिल्यै व्यक्तिगत लाभको साधन बनाएनन्।
लामो समय वामपन्थी आन्दोलनमा सक्रिय उप्रेती मध्यपूर्वी काभ्रेपलाञ्चोक क्षेत्रमा ‘रातो बाघ’ उपनामले परिचित थिए। उनले तत्कालीन नेकपा (माले) बाट राजनीतिक यात्रा सुरु गर्दै सांसद हुँदै श्रमराज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। माले एकीकरणपछि उनले नेकपा (एमाले) मा रही राजनीति गरेका थिए।
एमाले विभाजनपछि उनी पुनः नेकपा (माले) मा आबद्ध भए भने पछिल्ला वर्षहरूमा तत्कालीन माओवादी केन्द्रसँग नजिक रहेर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएका थिए। केही समय उनले स्वतन्त्र राजनीतिक जीवनसमेत बिताएका थिए।
उप्रेतीको सरल जीवनशैली जनस्तरमा चर्चित थियो। सार्वजनिक सवारीसाधनमा सामान्य यात्रु सरह यात्रा गर्ने उनी जनतासँग नजिक रहने नेताका रूपमा चिनिन्थे। काभ्रेपलाञ्चोक जिल्ला तथा विशेषगरी कोशीपूर्व क्षेत्रको विकासमा उनको उल्लेखनीय योगदान रहेको स्थानीयले स्मरण गरेका छन्।
उनको निधनले इमानदार, सिद्धान्तनिष्ठ र साहसी राजनीतिक नेतृत्व गुमेको अनुभूति काभ्रेली जनताले गरेका छन्। विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा सर्वसाधारणले उप्रेतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालको राजनीतिमा उनको योगदान अविस्मरणीय रहने बताएका छन्। स्वर्गीय गोविन्दनाथ उप्रेतीको साहस, निष्ठा र जनपक्षीय राजनीतिले भावी पुस्तालाई मार्गदर्शन गर्ने विश्वाससमेत व्यक्त गरिएको छ।
वडाध्यक्ष तामाङका अनुसार उप्रेतीको आजै दोलालघाटमा अन्त्येष्टि गरिनेछ।