धुलिखेल/मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि काभ्रेमा मानव अधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिको संयोजकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम चयन भएका छन्् ।
मानव अधिकार आयोग, जिल्ला समन्वय समिति काभ्रे र दिगो विकासका लागि राष्ट्रिय अभियान नेपालले शुक्रबार धुलिखेलमा गरेको मानव अधिकार तथा अधिकारमुखी विकास पद्धति र मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना विषयक गोष्ठीका क्रममा उक्त समिति गठन गरिएको हो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको संयोजकत्वमा गठन भएको समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाई, स्वास्थ्य कार्यालय, जिल्ला न्यायधिवक्ता, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु सदस्य रहेका छन्् । यस्तै जिल्लास्थित १३ वटै पालिकाका प्रमुख÷अध्यक्ष, बार एशोसिएसन, पत्रकार महासंघ, गैर–सरकारी संस्था महासंघका प्रतिनिधि सदस्य र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेका छन्् । समितिले पाँचौं राष्ट्रिय मानव अधिकार कार्ययोजनाले समेटेका विषय कार्यान्वयनका लागि समन्वय संयन्त्रको रुपमा काम गर्नेछ ।
स्थानीय निर्वाचन संपन्न भएपछि नयाँ जनप्रतिनिधि आएपछि यो समिति गठन गर्नेमा काभ्रे देशमै पहिलो जिल्ला भएको कार्यक्रममा सहभागी मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले जानकारी दिनुभयो । यस्तो खालको समिति अन्य जिल्लामा पनि गठनको तयारी भैरहेको खरेलले बताउनुभयो ।
६ महिनामा कम्तिमा १ पटक समितिको बैठक बसेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संघीय समन्वय समितिमा प्रतिवेदन पठाउनु पर्नेछ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाले समेटेका विभिन्न विषयबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्ययोजनामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, आवास, श्रम तथा रोजगार, बाल अधिकार र बाल न्याय, सामाजिक न्याय, खानेपानी तथा सरसफाई, लक्षित वर्गको संरक्षण, सशक्तिकरण र विकास, साँस्कृतिक अधिकार लगायतका विषय समेटिएका छन्् ।
मानव अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन गर्दै विधिको शासन विकास गर्ने, नेपालको संविधान तथा कानूनद्धारा प्रत्याभूत मानव अधिकारको वास्तविक उपभोग गर्ने वातावरण सिर्जना गर्ने र मानव अधिकारप्रतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयन गर्नु मानव अधिकार सम्बन्धी कार्ययोजनाको उदेश्य रहेको मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डाक्टर सूर्य प्रसाद शर्मा ढुंगेलले मानव अधिकारका विषयलाई स्थानीय तहले गम्भिरता पूर्वक लिएर योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले मानव अधिकारसंगै दिगो विकास १७ वटा लक्ष्य पुरा गर्ने काममा समेत स्थानीय तह जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिसस प्रमुख गौतमले काभ्रे जिल्लामा मानव अधिकारको अवस्था सुधार गर्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । ‘मानव अधिकार भन्ने कुरा एउटामात्रै पक्षलाई लागु हुने र पुरा गर्ने भन्ने होइन । मानव अधिकारमैत्री जिल्ला बनाउनका लागि सबै पालिका, सबै नागरिक संघसंस्था र सबै जिल्लाबासीको सहयोग आवश्यक छ । संविधानमा ब्यवस्था भएका कयौँ अधिकार कार्यान्वयन गर्न पनि सबैले हातेमालो गर्न जरुरी छ । जिसस प्रमुख गौतमले भन्नुभयो ।’
कार्यक्रममा मानव अधिकार आयोगका सचिब खरेल, कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिब कोशल चन्द्र सुवेदी र दिगो विकास अभियन्ता दया सागर श्रेष्ठले मानव अधिकार र दिगो विकाससंग सम्बन्धित रहेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पनौती नपा प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नपाका प्रमुख कुन्साङ लामा, चौरी देउराली गाउँपालिका प्रमुख रणुका चौलागाई, बेथान्चोक गाउँपालिका उपप्रमुख तारा राना, पाँचखाल नपाका उपप्रमुख सुर्यमाया दनुवार लगायतका वक्ताहरुले मानव अधिकारको बारेमा आफ्ना धारणा राख्दै पछिल्लो समय महिलामात्र नभै महिलाबाट पुरुषहरु पनि पिडित भएका समस्याहरु पनि आउन थालेको जानकारी दिएका थिए ।