धुलिखेल/सकारात्मक व्यवसायिक सोच र दृष्टिकोणलाई सशक्तिकरण गरेर युवा उद्यमीहरुको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेप्लिज युथ एन्टप्रेनियर्स फोरम (एनवाईईएफ) अर्थात नेपाली युवा उद्यमी फोरम काभ्रे च्याप्टरको आज धुलिखेलमा इन्डक्सन र इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेका युवा व्यवसायी ज्योत्सना श्रेष्ठको अध्यक्षतामा नवगठित समितिमा प्रथम उपाध्यक्ष आशिष हुमागाई, दोस्रो उपाध्यक्ष क्षितिज श्रेष्ठ, सदस्यहरुमा हेभन श्रेष्ठ, जुलिया माकजु श्रेष्ठ, श्रेया देवजु श्रेष्ठ, रोहित श्रेष्ठ, अजय थापा, सुशान्त थपलिया र रोजन श्रेष्ठ रहेका छन् । कार्यक्रममा युवा उद्यमी ज्योत्सना श्रेष्ठको अध्यक्षतामा गठित कार्यसमितिका सदस्यहरुलाई मञ्चका केन्द्रीय अध्यक्ष कुशल सुन्दर श्रेष्ठले पिन लगाएर इन्डक्सन गरेका थिए ।
सन् २००३ मा स्थापना भएको मञ्चमा देश भरिमा १४ वटा शाखा रहेका छन् । काठमाडौं, पोखरा, ललितपुर, चितवन, रूपन्देही, सुर्खेत, कैलाली, वीरगन्ज, जनकपुर, विराटनगर, सुनसरी देखि हाल १४ औं कान्छो शाखाको रुपमा काभ्रे शाखा गठन भएको हो ।
प्रमुख अतिथि एनवाईएएफको नेशनल गभरनिङ्ग काउन्सिलका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले काभ्रे च्याप्टर देशकै उत्कृष्ट च्याप्टर भएको हेर्ने आफ्नो सपनालाई साकार रुप दिने बताउँदै नवनियुक्त पदाधिकारीहरुलाई शुभकामना दिए । उहाँले युवा व्यवसायीहरूलाई एकत्रित गर्ने र नविनतम सोचका साथ काम गर्ने युवाहरूलाई सहयोग गर्ने बताउनुभयो । स्वदेशमै युवाहरूलाई टिकाउन, व्यवसायमा युवाहरूलाई आबद्ध गराउन पनि मञ्चले काम गर्ने उहाँको भनाई थियो । धुलिखेल, नगरकोट, बनेपा, पाँचखाल, पनौती, भकुण्डे जस्ता क्षेत्रहरूलाई समेटेर बृहत काम गर्न सकिने उहाँले जोड दिनुभयो ।
मञ्चका संस्थापक सदस्य तथा पुर्व अध्यक्ष ज्योतिले सक्रिय युवाहरुको समुहले उद्यमशिलतालाई आधुनिक एवम् परिस्कृत रुपमा अंगाल्ने विश्वास व्यक्त गरे । उहाँले सिर्जनशिल तथा नयाँ पिढिका युवा उद्यमशीलता तथा व्यावसायतर्फ आकर्षित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गरे ।उहाँले व्यापार ब्यवसायमा गुणस्तरीय प्रतिस्पर्धात्मक आवश्यक रहेको उहाँले बताउनुभयो । नयाँ पुस्तालाई नेपालमै टिकाउन समेत एनवाइईएफले भुमिका खेल्नु पर्ने उहाँको भनाई थियो । आफ्नो ब्यापार प्रवर्द्धनका लागि पनि एनवाइईएफ प्रभावकारी माध्यम हुने उहाँको विश्वास थियो ।
उहाँले आफ्नो पालामा हुन नसकेका कार्यहरुलाई अहिलेका सक्रिय युवाहरुको समुहले गर्ने र सकरात्मक तरिकाले निरन्तरता दिनुपर्नेमा जोड दिए । देश हाँक्ने क्षमता बोकेका युवाहरुले उत्पादक तथा आविष्कार जस्ता कुराहरुलाई मध्यनजर गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउनुपर्ने धारणा राखेका थिए । नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र युवा व्यवसायीहरूलाई व्यवसाय र उद्यमशीलताको बारेमा प्रशिक्षण तथा अवसरहरू प्रदान गर्ने उद्देश्यले मञ्च गठन गरिएको संस्थापक सदस्य रहनुभएका सौरभ ज्योतिले बताए ।
केन्द्रीय उपाध्यक्ष निभिता प्रधानले संस्थाको परिचय र गतिविधिबारे प्रकाश पार्नुभएको छ।
संस्थाका नवनिर्वाचित अध्यक्ष ज्योत्सना श्रेष्ठले संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गरेकोमा खुशी महसुस गर्दै युवाको बढ्दो वैदेशिक पलायन रोक्न पनि मञ्चले भूमिका खेल्ने बताउनुभयो । उहाँले युवाहरूको निराशा चिर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै युवाहरूको जोशलाई सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । श्रेष्ठले काभ्रे च्याप्टरलाई यहाँका उद्योगी, व्यवसायीहरुले सहयोग गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
मञ्चमा आवद्ध हुनको लागि उमेरहद निर्धारण गरिएको छ । २० वर्ष देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीहरू मञ्चमा आवद्ध हुन सक्ने प्रावधान रहेको छ ।
नेपाल युवा उद्यमी मञ्च सार्क युवा उद्यमी मञ्च (SYFE) र विश्व युवा उद्यमी मञ्च (WYEF) को संस्थापक सदस्य हो । त्यसैगरी Commonwealth Asia alliance of young entrepreneurs (CAAYE)को पर्यवेक्षक सदस्य हो । मञ्च नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा प्रवर्दक संस्था भएको जनाइएको छ ।