बनेपा/नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादि) काभ्रेको पाँचौ जिल्ला कमिटी बैठक शनिबार संपन्न भएको छ। बैठकले जिल्लाको पदाधिकारी पुनर्गठन गरेको छ। पुनर्गठित पदाधिकारीहरुमा अध्यक्ष बसुन्धरा हुमागाईं, उपाध्यक्ष दिपक कुमार गौतम, सचिव गोकुल गौतम, उपसचिव यसु लामा रहनुभएको छ। यसैगरी मंशिर ४ को निर्वाचनलाई लक्षित गरी उम्मेदवार सिफारिश समेत गर्न सक्ने गरी संघीय क्षेत्र १ मा संयोजक लाप्साङ पाख्रिन र सचिव गोकुल गौतम, संघीय क्षेत्र १ को प्रदेश क. मा संयोजक पासाङ डोल्माे लामा र सचिव ज्ञानेन्द्र लामा, प्रदेश ख. मा संयोजक कृष्ण तामाङ र सचिव विश्वेश्वर बञ्जारा तोकिएको छ भने संघीय क्षेत्र नं. २ मा संयोजक सचितानन्द के.सी. र सचिव प्राणनाथ न्यौपाने, प्रदेश क. संयोजक हरिगोपाल प्रधानाङ्ग र सचिव नारायणप्रसाद ढकाल, प्रदेश ख. मा संयोजक प्रेम लामा र सचिव हरिबहसदुर डोटेललाई तोकिएको छ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश कमिटी उपाध्यक्ष विदुर सापकोटाले माओबादीसँग कहिले पनि पार्टी एकता नहुने बताउनुभएको छ। नेकपा(एकीकृत समाजवादी) काभ्रेको पाँचौं जिल्ला कमिटी बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले माओबादीसँग कुनै हालतमा पनि पार्टी एकता हुन नसक्ने बताउनुभयो।
बजारमा चलेको हल्ला जस्तो माओबादीसँग एकता हुँदैन। तर साना कम्युनिष्ट पार्टीहरुसँग भने एकता र सहकार्य हुनसक्छ। त्यो पनि अहिले चुनावलाई लक्षित गरेर होइन , दीर्घकालीन एकता आवश्यक रहन्छ । पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिँदै उहाँले भन्नुभयो - 'चुनावमा एक्लै जाने मनशाय राखेर सङ्गठन विस्तारमा लाग्नु जरुरी छ।'
प्रदेश सांसद लक्ष्मण लम्सालले कार्यकर्तालाई बिचलित नहुन आग्रह गर्नुभएको छ। स्थानीय निर्वाचनपछि धेरै कार्यकर्ताहरुमा नैराश्यता उत्पन्न भएको देखिन्छ । पार्टीले सोचेजस्तो प्रतिफल पाउन नसक्नु यसको मुख्य कारण हो। यसबाट कोही पनि डराउनु पर्दैन हामी संघर्षकै चरणमा छौं। हामीलाई कसैले दबाउन र गिराउन सक्तैन । नेताहरु मैदानबाट भागेर कार्यकर्तालाई विचलित पार्ने छैनन् । संघर्षको समयमा विचलित नभई , पदको लोभ नगरी पार्टीलाई संगठित बनाउँदै लैजाने हो भने आगामी दिनमा भविष्य सुनिश्चित रहेको भन्दै कार्यकर्तालाई आश्वस्त पार्नु भयो।
अर्का नेता मुकुन्द गौतमले स्थानीय तहको निर्वाचन फेरि एकपटक समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। छोटो समयमा निर्माण भएको पार्टी भएकाले सबैले एकैचोटी अवसर पाउँछन् भन्ने छैन , विचार र सिध्दान्तमा अडिग भएर निरन्तर लाग्ने हो भने निश्चित बिन्दुमा पुगिने छ। इमान्दार भएर पार्टीमा लागिरहँदा एकदिन उचित मूल्यांकन हुने उहाँको भनाइ थियो ।
नेता तथा प्रदेश मंत्री बसुन्धरा हुमागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो । जिसस प्रमुख तथा जिल्ला सचिव दीपककुमार गौतमले स्थानिय निर्वाचनपछि एमालेहरु समाजवादीसँग डराएको बताउनुभयो । हामी कमजोर छैनौ एमालेका निम्ति समाजवादी काफी छ भन्ने प्रमाणित भइसकेको छ- गौतमको भनाइ थियो।
कार्यक्रममा पाँचौं जिल्ला कमिटीकाे बैठकबाट अध्यक्ष टोकबहादुर वाइवाले अध्यक्षबाट बिदा लिनुभएको छ।
कार्यक्रममा कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले संक्षिप्त आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।