काठमाडौँ — पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘नयाँ युगमा चीन’ सहित तीन कृतिको शुक्रबार विमोचन गरिएको छ ।
यससँगै वासुदेव ढकालद्वारा लिखित ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगाप्रसाद उप्रेतीको नेपाली कविता चक्रव्यूहको अनुवाद संग्रह ‘एन इम्पेनेट्रेबल फोर्टिफिकेसन’ सार्वजनिक गरिएको हो । यी तीनै पुस्तकको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले संयुक्त रुपमा विमोचन गरे ।
बेइजिङमा रहेर नेपाली भाषा विज्ञको रुपमा पत्रकारिता गरिरहेका आचार्यले पुस्तकमा सन् २०१२ मा सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव भएदेखि सन् २०२२ सम्मको यात्रालाई समेटेका छन् ।
उनले पुस्तकमा सीको कार्यकालमा भएका उपलब्धीहरुलाई समेटेका छन् । पुस्तकमाथि टिप्पणी गर्दै चीनका लागि नेपालका पूर्व राजदूत लिलामणि पौडेलले राष्ट्रपति सीले आफ्नो कार्यकालमा १० करोड जनतालाई गरिबीको रेखामुनिबाट घटाएको बारेमा पुस्तकमा प्रस्तुत गरिएको बताए ।
उनले पुस्तकमा नेपालले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बाट लिनुपर्ने फाइदा लिन नसकेको पनि उल्लेख गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले पुस्तकहरु नेपाली विकासको प्रक्रियालाई अघि बढाउन र सांस्कृतिक आदान–प्रदानको लागि महत्त्वपूर्ण हुने बताए ।
‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ पुस्तकमा एउटा चिनियाँ यात्री फाहियानको यात्राको विवरणलाई उल्लेख गर्नुका साथै गौतम बुद्धको जन्मभूमि र बौद्ध धर्मको बारेमा चर्चा गरिएको छ । पुस्तकका लेखक ढकाल मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक हुन् । तीनै किताब उक्त प्रकाशन गृहले निकालेको हो ।
उप्रेतीको नेपाली कविता चक्रव्यूहको अनुवाद संग्रह ‘एन इम्पेनेट्रेबल फोर्टिफिकेसन’ लाई अद्योध्यनाथ चौधरीले अनुवाद गरेका हुन् ।