चौरीदेउराली/काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडास्तरमै पुगेर वितरण गरेको छ। गाउँपालिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता बैंकमा जान नसक्ने ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै वडाकार्यालय र घर–घरमै पुगेर वितरण गरेको हो।
गाउँपालिका अध्यक्ष रेणुका चौलागाईका अनुसार लाभग्राहीहरूलाई भत्ता लिन सहज होस् भन्ने उद्देश्यले वडाध्यक्षहरूको समन्वयमा यो कार्यक्रम सञ्चालन गरिएको हो। वडामा समेत आउन नसक्ने अति अशक्त लाभग्राहीहरूका लागि घरमै पुगेर भत्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि कुमारी बैंकका कर्मचारी, सुरक्षाकर्मी तथा गाउँपालिकाका कर्मचारीहरू खटिएका थिए। बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म निरन्तर रूपमा भत्ता वितरण गरिएको थियो।
गाउँपालिकाले वडा नम्बर १, २, ३ र ८ का वडा कार्यालयमा पुगेर भत्ता वितरण गरेको हो। सामाजिक सुरक्षा शाखाका कर्मचारी उर्मिला परियारका अनुसार वडा नम्बर १ मा ९७ जना, वडा नम्बर २ मा १९८ जना, वडा नम्बर ३ मा ११३ जना र वडा नम्बर ८ मा १०१ जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन्।
गाउँमै भत्ताको रकम प्राप्त गर्न पाउँदा बैंकसम्म जान नसक्ने ज्येष्ठ नागरिक तथा अपांगता भएका लाभग्राहीहरूले खुशी व्यक्त गरेका छन्। साथै भत्ता वितरण कार्यमा सहयोग गर्ने वडाध्यक्ष, बैंकका कर्मचारी, सुरक्षाकर्मी तथा सम्पूर्ण सहयोगीलाई गाउँपालिकाले धन्यवाद दिएको छ।