काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले सांस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान भएको बताउनु भएको छ ।
तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८५९ औँ सोनाम ल्होछारको अवसरमा कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताउनु भएको हो । तामाङ समुदायको सांस्कृतिक परम्पराले समाज र सिंगो राष्ट्रलाई परिवर्तनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उहाँले पर्वहरुलाई पहिचानको रुपमा लिएर त्यसले इतिहासमा खेलेको भूमिकालाई गौरवका साथ लिनुपर्ने बताउनु भयो ।
तामाङ समुदायको महान पर्व सोनाम ल्होछारले पहिचान, अधिकार र सामाजिक सद्भावको सम्बन्ध स्थापित गरेको भन्दै मौलिक धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै २०५१ सालमा तत्कालीन मनमोहन अधिकारी सरकारमा हुँदा तामाङ समुदायले पहिचानसहित सरकारी कर्मचारीमा भर्ती गर्ने व्यवस्था गरेको बताउनु भयो ।
त्यस अघि तामाङ समुदायमा व्यक्तिमा भएको ज्ञान, खुबी र सीपको आधारमा जागिर खान नपाउने र थर परिवर्तन गरी जागिर खानुपर्ने जस्ता विभेदलाई अन्त्य गरेको बताउनु भयो । मनमोहनकै सरकारको समयमा अध्यक्ष नेपाल आफु रक्षामन्त्री हुँदा महिलाहरूलाई समेत सेना र प्रहरीमा भर्ती गर्ने नीति ल्याएको बताउनु भयो ।
नेपाल तामाङ संघ समाजवादी केन्द्रीय अध्यक्ष लाप्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षगौ तमबुद्ध तामाङले स्वागत मन्तव्य, अभियन्ता तथा सञ्चारकर्मी प्रतिक न्यासुर तामाङ, मन्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाइवा लोछार र तामाङ संस्कृतिको बारे आफ्नो बिचार राख्नुभएको थियो। सो कार्यक्रममा तामाङ मौलिक परम्पराअनुसारको तामाङ जुहारी कलाकार संघको प्रस्तुती रहेको थियो । साथै तामाङ मौलिक परिकार समेत प्रर्दशन गरिएको थियो ।