धुलिखेल/धुलिखेल नगरपालिका वडा नं २ मा अवस्थित् सेतिदेवी माध्यमिक विद्यालयमा विषयगत ल्याव राख्न बागमति प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता हुनबाट जोगिएको छ ।
https://www.youtube.com/watch?v=YYQ-SGH_bH0
प्र.अ. र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको मिलोमतोमा ल्याबको सामान नल्याइ रकम निकासा गरी व्यक्तिगत खातामा राखेको विद्यालयका प्र.अ.धनबहादुर बिष्टले स्वीकार गरेको छन् । विद्यालय व्यवस्थापन समितिको ०७९ साल असार २८ गते बसेको बैठकले गरेको निर्णय अनुसार लेखापाल केशव कोइरालाको खातामा जम्मा गरिएको भनिएपनि बैठकको माइनट अध्ययन गर्दा थुप्रै शंका गर्नुपर्ने अवस्था रहेको देखिन्छ ।
ल्याव बनाउन आएको रकम भुक्तानी भएको एक बर्ष वितिसक्दा पनि विषयगत ल्याव स्थापना नभएपछि आक्रोशित भएका विद्यार्थी र अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय, धुलिखेल र जिल्ला समन्वय समितिमा विद्यालयको अनुगमनको निवेदन दिएपछि आजै जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र धुलिखेल नगरपालिकाबाट अनुगमन गरेका छन् । अनुगमन टोलीले रिपोर्ट सार्वजनिक गर्न बाँकी छ ।
यसअघि विद्यालयमा कम्प्युटर ल्याव तथा विज्ञानका ल्याव भन्दा फरक गणित, सामाजिक, नेपाली तथा अंग्रेजीको विषयबस्तुसंग सम्बन्धित ल्याब संचालनको लागि प्रदेश सरकारले स्थानीय पालिका मार्फत सहयोग गरेको रकम ल्याव नवनाई खर्च गरिएको पाइएको हो ।
विद्यालयकामा विषयगत ल्याव राख्न प्राप्त भएको रकम ल्याव नै नराखी अनियमितता गरेका समाचार प्रकाशन भएपछि मध्यरातमा सम्बन्धित स्टेश्नरीबाट विद्यालय नजिकै एक घरमा केही दिन अघिमात्र सामान ल्याएको विद्यालयका प्र.अ. बिष्टले स्वीकार गरेको छ ।
सामान बुधवार दिउँसो नै तयार भएको भएपनि कसैले नदेखुन् भनेर बुधवार मध्यरातमा लगिएको थियो । केही पुरानै सामाग्री देखाउने गरी थप ८ लाख बराबरको सामाग्री किनेर लगिएकोमा विषयगत ल्यावको लागि चाहिने शैक्षिक सामाग्री, जस्तै गेम चार्ट, डिस्प्ले, स्मार्ट इन्टएक्टिभ बोर्ड, ल्यापटप तथा स्मार्टबोर्ड रहेको छ भने ल्यावको लागि चाहिने ४ वटा ¥याक र केही अपडेटेड भएका करिकुलमका सामानहरु लान बाँकी छ । एक बर्षदेखि नलगिएको सामान एकाएक समाचार आएपछि जोगिनकै लागि र अनुगमनमा आउँदा देखाउन राती लगिएको विद्यालयका प्र.अ. विष्टको स्वीकारोक्ती रह्यो । समाचार प्रकाशन भएपछि आफु दबाबमा परेको स्वीकार्दै विष्टले आफुले राम्रोसँग खान र निदाउन नसकेको बताए ।
आर्थिक बर्ष २०७८÷०७९ मा बागमती प्रदेश सरकारले उपलब्ध गराएको १२ लाख रुपैया विद्यालयमा भुक्तानी भएपनि विषयगत ल्याव स्थापना नभएपछि सचेत युवा समूह धुलिखेल वडा नं २ रवि भन्ने नामवाट विद्यालय र विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्टले अनियमितता गरेको भन्दै ७ बुँदे आरोप सहित अख्तियारमा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा दर्ता नं सि ०६४०५५ नं. मा दर्ता भएको उजुरीमा विनियोजित शिर्षकमा खर्च नगरी मनोपरी गरेको, २०७८÷०७९ मा विषयगत ल्याव स्थापनाको लागि बागमती सरकारबाट परेको १२ लाख रुपैयामा ल्याव संचालन हुनुपर्नेमा फर्जी विल बनाई रकम हिनामिना गरेको र विषयगत ल्याव स्थापना नगरेको, विद्यालयमा विद्यार्थीहरुलाई आवतजावत गर्ने प्रयोजनको लागि सरकारी निकाय र अभिभावकबाट रकम असुली बस संचालकलाई बढि रकममा भर्पाइ गरी कमिसन खाएको (अडियो संलग्न गरेको), शिक्षक नियुक्ती र सरुवामा आर्थिक चलखेल गरी भ्रष्टाचार गरेको, विद्यालयमा स्टेश्नरी खरिदमा सामान भन्दा बढिको विल बनाई भ्रष्ट्राचार गरेको, विद्यार्थी भर्ना र विद्यार्थीलाई दिईने विद्यालय पोशाक वितरण गर्ने तर विल भपाई नदिई कमिशन खाएको, एडिविको सहयोगमा बनेको विद्यालयको नयाँ भवन वनाउँदा ठेकेदारबाट निर्माण सामग्रीमा धुलिखेल नगरपालिका वडा नं २ का अध्यक्ष अर्जुन न्यौपाने र प्रधाध्यापक धनबहादुर विष्ट मिलेर कमिसन खाएको (ठेकेदारले नै विभिन्न समयमा भनेको) लगायतका ७ बुँदामा उजुरी परेको हो ।
‘ल्याव बने नबनेको अनुगमन गर्ने तथा भुक्तानीको लागि सिफारिस गर्ने स्थानीय सरकार हुन्छ तर न अनुगमन न सामानको गुणस्तरका कुरा, यसमा स्थानीय सरकारको समेत मिलेमतो देखिन्छ, अहिलेसम्म किन ल्याब सञ्चालन भएन खोजविन हुनुपर्छ,–एक अभिभावक नाम उल्लेख नगर्ने शर्तमा भने ।
लगिएको सामानहरुको विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्टले व्यक्तीगत नगदै भुक्तानी दिएका छन् । सार्वजनिक खरिद ऐन अनुसार सरकारी तथा सामाजिक संघ संस्थाले खरिद गरेका सामानको ५० हजार भन्दामाथी भुक्तानी दिँदा एसी पे चेक मार्फत भुक्तानी दिनुपर्नेमा प्रधानाध्यापक विष्टले नगदै भुक्तानी गरेका थिए ।
यस अघिको विद्यालय व्यवस्थापन समितिको कार्यकाल ०७८ पुस महिनामा सकिएको र केही विवादका कारण ०७९ जेठसम्म नयाँ नेतृत्व आइसकेको थिएन ।
विद्यालयको बेथिति र अनियमितताको बारेमा स्थानीय अभिभावकहरु धुलिखेल नगरपालिकामा गुनासो गर्न गएपनि सुनुवाई नभएको अभिभावकहरुको भनाई छ । ‘पटक पटक नगरपालिकामा गयौं तर हाम्रो कुरा सुनुवाई भएन एक अभिभावकले जानकारी दिए । उनका अनुसार १५ दिनको विचमा दुई पटक नगरपालिकामा ‘डेलिगेशन’ गएको बताए ।
उनीहरुले धुलिखेल नगरपालिकालाई बोधार्थ दिएर जिल्ला प्रशासन कार्यालयमा अभिभावकको तर्फबाट गुनासोहरु आएको भन्दै अनुसन्धान गरी सत्यतथ्य छानविन गरि पाउँ भन्दै उजुरी समेत दिएका छन् । स्थानयि धुर्बप्रसाद चौलागाई, बलराम कोईराला, बालकृष्ण सापकोटा, दर्णबहादुर खत्री, रुद्रबहादुर गेलाल र उद्धव कोइरालाले धुलिखेल २ मा रहेको सेतिदेवी माविमा अभिभावकहरुको तर्फबाटबाट ल्याव स्थापना गर्न आएको वाग्मती प्रदेशको अनुदान रकम १२ लाख रुपैया प्राप्त भएपनि सामाग्री जडान नभएको, विद्यालयको गाडि भाडामा लिँदा कमिशनको बार्गेनिङ गरेको फोन रेकर्ड बाहिरिएको, स्थानीय निजि श्रोतबाट शिक्षक नियुक्त गर्दा व्यवस्थापन समितिको निर्णय विना सूचना प्रकाशित नगरी मनोमानी ढंगवाट नियुक्ती गर्ने गरेको, अभिभावकलाई कुनै बिल नदिई नगद असुल गरेको, विद्यालयमा भएको चोरीको घटना घटेको र चोर पत्ता नलागेको र पत्ता लगाउन भुमिका नखेलि उदासिनता देखाएको अवस्थामा गहिरोसँग अनुसन्धान गरी सहयोग गर्न माग गर्दै निवेदन दिएका थिए ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले उजुरी प्राप्त भएको र अनुगमनको टोली समेत खटि छानविन शुरु गरिसकेको जानकारी दिनुभयो ।