काठमाडौं/बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ७० प्रदेश सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। यस प्रदेशमा सरकार गठनका लागी ५६ सांसद आवश्यक पर्छ।
वागमतीको चौथो मुख्यमन्त्रीको रूपमा नियुक्त हुन लागेका शालिकराम धादिङ १ (२) बाट निर्वाचित भएका हुन् ।
१ फागुन २०५२ मा तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र युद्ध घोषणा गर्दा शालिकराम जमकट्टेल २२ वर्षका जवान थिए । सोही दिनबाट उनी पार्टीमा पूर्णकालीन बने ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण काम र अध्ययनलाई सँगसँगै अगाडि बढाउनु परेका उनी २०४८ सालमा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला समिति सदस्य बनेका थिए । उनको राजनीतिक जीवन भने १४ वर्षकै उमेरमा सुरु भएको थियो, अनेरास्ववियु छैटौंको सदस्यको रूपमा ।
धादिङको किरानचोकमा जन्मिएका जम्कट्टेलले गाउँमै निमावि र गजुरीको आदर्श उच्च माविबाट माध्यमिक तहको अध्ययन पूरा गरे । काठमाडौं आएर कानुनमा स्नातक गरेका उनले मजदुर संगठनबाटै राजनीतिलाई अगाडि बढाए ।
२०६० सालमा माओवादीको मजदुर भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका उनी झण्डै एक दशकसम्म सोही जिम्मेवारीमा रहे ।
संसदीय राजनीति
भूमिगतकालीन राजनीतिमा जेलनेल र युद्धका अनुभव सम्हालेका जम्कट्टेलले शान्तिपूर्ण राजनीतिका आधाआधी समय मजदूर आन्दोलनको नेतृत्व गर्दै बिताए । सडकको बलमा सत्ता राजनीतिमा प्रवेश गरेका उनको संसदीय राजनीति फलिफाप सिद्ध नै देखिएको छ ।
उनको संसदीय राजनीतिक यात्रा २०६३ मा पुनर्स्थापित प्रतिनिधिसभाबाट सुरु भयो । ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनले साविक धादिङ निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नै शैक्षिक गुरु राजेन्द्र पाण्डेलाई पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी उनै पाण्डेसँग पराजित भए । बृहत शान्ति सम्झौतापछि यही पाँच वर्ष मात्रै उनी संसद बाहिर रहे ।
२०७४ मा धादिङ क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्यमा उठेर जितेका जम्कट्टेलले बागमती प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतृत्व गरे । २०७९ को निर्वाचनमा पनि उही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भए ।
मुख्यमन्त्री सपना
यसबीचमा अधिकांश समय मन्त्रीको जिम्मेवारीमा रहेका जम्कट्टेल यसपटक बागमती प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री बन्ने सपना पूरा गर्न उनले धेरै मेहनत र धैर्य गर्नुपर्यो ।
२०७४ मा नेकपा (एमाले)सँगको गठबन्धनमा प्रदेशसभा सदस्यमा बनेसँगै उनले मुख्यमन्त्रीमा दावी गरेका थिए । तत्कालीन नेकपाभित्रको विवादका कारण मुख्यमन्त्री सपना पूरा हुन नसके पनि उनी अधिकांश समय सरकारमै रहे ।
वाग्मती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको मन्त्रीमण्डलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका जम्कट्टेल त्यसपछि राजेन्द्र पाण्डे नेतृत्वको मन्त्रिमण्डलमा आर्थिक मामिला तथा योजना मन्त्री बने ।
दोस्रो प्रदेशसभा निर्वाचन जितेसँगै उनले पार्टीको संसदीय दलको नेता बन्न पार्टीभित्रै पापड पेल्नुपर्यो । संसदीय दलको नेतामा प्रतिस्पर्धी बनेका माओवादी केन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीलाई जम्कट्टेलले पार्टी हेडक्र्वाटरको सहयोगमा पाखा लगाए ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा धादिङ जिल्ला ईञ्चार्जको जिम्मेवारीमा समेत रहेका जम्कट्टेल माओवादी केन्द्रका २१, एमाले २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थनमा मुख्यमन्त्रीमा निर्वाचित भएका हुन् । ११० सदस्यीय वागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।
यसपटक चुनाव नेपाली कांग्रेससँगको गठबन्धनबाट जिते पनि एमालेकै समर्थनमा उनी मुख्यमन्त्रीमा विजयी भएका हुन् । सत्ता गठबन्धनका नेताहरूले गरेको भनिएको सहमतिअनुसार उनी अढाई वर्ष मात्र मुख्यमन्त्री बन्नेछन् । त्यसपछि प्रदेशको नेतृत्व एमालेका कुनै नेताले गर्नेछन् ।
जसरी संसदीय दलको नेता बन्न उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ अपरिहार्य थियो, त्यसरी नै गठबन्धनको भागबन्डामा पनि उनलाई पार्टीका साथ चाहिन्थ्यो । चर्को रस्साकस्सीका बावजुद पनि जम्कट्टेलले आधा कार्यकालकै लागि भने पनि पार्टी नेतृत्वको साथ पाएका छन् ।