काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा अचानक आगलागी भएको थियो । अहिले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।
सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो । तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’ सोमबार साँझ त्रिवि विमानस्थलबाट दुबईका लागि उडेको विमानमा ठूलो आवाजसहित केहिवेरमै आगलागी भएको थियो । उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो ।
जहाजमा १६९ जना यात्रु रहेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ । स्रोतका अनुसार इन्जिनमा आगलागी हुँदा आकाशमा घुमिरहेको जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।
जहाजमा इन्धन धेरै भएको अवस्थामा आगो लाग्न सक्ने खतरालाई मध्यनजर गर्दै पाइलटले जहाजलाई आकाशमै फन्को मारिरहेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।