सिन्धुली । विदेशमा रहेका छोराले मत परिवर्तन गर्न दिएको सल्लाहपछि नेपालमै बसेका बुबाले लेखेको एउटा भावुक पत्र यतिबेला सामाजिक सञ्जालमा चर्चा बनेको छ। सिन्धुलीको दुधौली नगरपालिका निवासी शिक्षक शम्भु दाहाल ले आफ्नो छोरालाई लेखेको यो पत्रले देश, विकास, राजनीति र पुस्ताबीचको सोचलाई सरल तर गहिरो रूपमा प्रस्तुत गरेको छ।
पत्रमा बुबाले छोराको देशप्रतिको चासोलाई प्रशंसा गर्दै भोट हाल्न सल्लाह दिएकोमा खुसी व्यक्त गरेका छन्। सात समुद्रपारि दुःख गरेर बसेको छोराले देश सम्झिनु आफैंमा गर्वको विषय भएको उनी लेख्छन्। आफू र छोराकी आमालाई राजनीति धेरै नबुझेको बताउँदै बुबा लेख्छन्—राजनीति भनेको नाराभन्दा व्यवहार हो, भाषणभन्दा सेवा हो।
पत्रमा उनले विगत १५ वर्षमा गाउँ–समाजमा आएको परिवर्तनलाई उदाहरणसहित स्मरण गरेका छन्।
“तिमीलाई एसएलसीपछि काठमाडौं पढ्न पठाउँदा हामी भासिएको त्यो ठूलो नदीमा आज पक्की पुल बनेको छ, सरर गाडी कुद्छन्,” पत्रमा उल्लेख छ। माटो–गोबरले लिपिएका विद्यालय आज ठूला भवन बनेका छन्, अस्पताल र सडक पुगेका छन्, खेत जोत्न ट्र्याक्टर चलेका छन्—यी सबै परिवर्तन बुबाले आफ्नै आँखाले देखेको अनुभव सुनाएका छन्।