बनेपा। जिल्ला प्रहरी कार्यलय र इलाका कार्यालयको सक्रियतामा बनेपाका होटेल पसल र सडक किनारामा रात्रीकालिन व्यापारीहरुले बिक्री बितरणको लागि राखिएको अबैध घरेलु मदिरा ५,७८३ लिटर र ५०० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रे जिल्ला भएर चल्ने सवारी साधनका सवारी चालकहरुले मादक पदार्थ सेवन गरी सवारी चलाउनाले मानवीय तथा धनजनको ठुलो मात्रामा क्षति हुने गरेको तथा मदिरा जन्य पदार्थको सेवनले विविध अपराधिक घटनाहरु वृद्धि हुँदै गएकोले अबैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्य अनुरुप प्रहरीले छापा हान्दा अत्याधिक मात्रामा मदिरा बरामद् गरिएको प्रहरीको भनाइ छ । जिल्लामा हुने अपराधिक गतिविधि विभिन्न हिंसाका घटनाहरुमध्ये ८० प्रतिशत घटनाहरु मदिराका कारण घट्ने गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला कार्यालयका कार्यालय प्रमुख चक्रराज जोशी, जनप्रतिनिधि, स्थानिय बुद्धिजीबी, आन्तरिक राजश्व कार्यालयका प्रतिनिधी समेतको उपस्थिति र रोहवरमा नियन्त्रित मदिरा नष्ट गरिएको थियो ।
अब यहाँ प्रश्न उठ्छ, के यो अभियानले निरन्तरता पाउँछ त? नयाँ अधिकारी आउँदा मात्र किन अभियान थालिन्छ? अरुबेला किन यस्तो अभियान सञ्चालन हुँदैन? अनि स्थानीय रुपमा घरेलु पिउँदा मात्र दुर्घटना र हुने हुन् ? अन्तशुल्कको स्टीकर टाँसिएको मदिरा सेवन गर्दा दुर्घटना वा घरेलु हिंसा हुँदैन? यस्ता अनगिन्ती प्रश्नहरु उब्जिएको छ ।
साँच्ची भन्ने हो भने परम्परादेखि अहिलेसम्म कुनै समुदाय त्यसमा पनि गरिव विपन्नहरुको आय आर्जनको गतिलो माध्यम भनेको घरेलु मदिरा उत्पादन बन्दै आएको हामी सवैका सामु छर्लङ्ग छ । कतिले त अन्न बेसाएर, अर्थात अरुकोमा खोजेर, ऋण–धन गरेर त्यस्तो ब्यवसाय गर्ने गर्दछन ।
जसलाई देशको कानुनले अवैध भनेको छ । तर त्यो भन्दा अवैध र मानिसको स्वास्थ्यमा गम्भीर असर पुराउने कम गुणस्तरको केमिकल युक्त सिल्डप्याक मदिराहरु रहेका छन् । त्यसमा कसैको दुईमत नहोला । कुनै समय प्लाष्टिकको पोकोमा शहरदेखि गाउँ गाउँसम्म बेचिने त्यसले त्यसले बैधानिकता पायो ।
सस्तो मुल्य, जहाँ पनि र जति वेला पनि छ्याप्छ्याप्ती पाईने । अझ ठुलो संख्यामा त्यसलाई बेच्ने लाइसेन्स पनि नभएकाहरु । उनीहरुप्रति प्रहरीका नजर पुग्दैन । प्रहरी कार्यालय अगाडी जाँड भट्टीहरु छन् । रातको १२ वजेसम्म प्रहरी नै जाँड खाएर बसेको तितो यथार्थ सवै सामु छर्लङ्ग छ ।
जहाँ राजनैतिककर्मी, पत्रकार, वकिल, समाजका अगुवाहरु पनि एक आपसमा गफ हाँक्दै पिउँछन् । अझ आजकल त अर्गानिक खानको फेशन भन्दा पनि रुची बढेको छ । सदरमुकामका तिनै मान्छे छन् जसले गाउँबाट कोदो मगाउँछन् । तिनपानेको हवला दिदै त्यही घरेलु मदिरा मगाउँछन्, पिउँछन् ।
सदरमुकाम देखि गाउँ गाउँसम्मका ठुला बडाहरु विदाको दिन वा फुर्सद निकालेर जनजाती वस्तीहरुमा पस्छन् । लौ आज त ढिंडो खाने, लोकल कुखराको मासुसंग लोकल रक्सी पिउने भन्छन् । ग्रामिणमा भेगमा तामाङ वस्ती छ । त्यहाँ पुग्दा त्यस समुदायले सगुनका रुपमा अतिथिलाई टक्राउने भनेकै कुखराको भाले र त्यही मदिरा हो ।
कैयौ राजनैतिककर्मी र अन्य सरोकारवाला निकायका ठुलाबडा पुग्छन् । पिउने वानी परेकाहरुले चेस‘ भन्दै खुलेआम दलानमा बसेर पिउँछन । पिउने बानी नपरेकाहरुले स्वागत भन्दै समर्थन जनाउँछन् । बडो रमाईलो गर्छन् । रक्सी मात्रै होईन, कोदाको भुरे जाँड छ भनेर समेत सोध्छन र पाए खान्छन ।
एकातिर घरेलु उत्पादन बढावा दिने भनिएको छ । जहाँ जे उत्पादन र परम्परा, संस्कृति र संस्कार छ त्यसैलाई अर्गानिक भनिन्छ । आदिवासी जनजातीहरुको संस्कार पहिचानका रुपमा रहेको घरेलु मदिरामा आँखा तर्ने र पिउने पनि कुनै एक समुदाय रहेको आरोप पनि लगाउँदै आएका छन दलित जनजाती समुदायले ।
ति समुदायका आफ्नै संस्कृत र संस्कारमा किन वर्षाैं अघिदेखि पटक पटक प्रहार हुँदै आएको छ ? नेवार समुदायको भोज भतेरमा हिजोका राजा महाराजदेखि अहिलेका राज्य सञ्चालनकर्ताहरु नै वासा अर्थात घरेलु मदिरा पिउँनेहरुले पिउँदै आएका छन् भने राजधानी बाहिरको त्यही घरेलु मदिरा किन अवैध मानिन्छ ? भनेर सवाल उठाउनेहरु पनि छन् ।
यसको मतलव घरेलु मदिरा उत्पादनलाई बढवा दिन खोजेको होईन, तितो यथार्थ उजागार गर्न खोजेको हो । सकिन्छ भने सवै भन्दा पहिला कम गुणस्तरको सिल्डप्याक मदिरा नियन्त्रण गरौं । विशेष गरी ग्रामिण क्षेत्रमा त्यस्तै मदिराले धेरै मान्छेको ज्यान लिएको छ । घरेलु मदिरा पिउँदै आएका जनजाती समुदायका मानिसहरुलाई हेरौ, हिष्टपुष्ट र राता पिराउँदा र बुढेशकाल लागे पनि ठिटा जस्ता देखिने उनै छन् ।
विहानमा एक बटुको जाँडा खाएर दाउरा घाँस जाने उनीहरु १२ वजेसम्म खान नखाए पनि भोकाउँदैनन । नितान्त आफ्नै हातले उत्पादन गरेको घरयासी खानपिन हो त्यो । राजधानी जस्तो ठाउँ, छ्याप्छ्याप्ती नेवार समुदायको वासा पाईन्छ । सुरक्षा निकायदेखि सवै खाले मान्छेहरु दिनै रातै पिएर बसेका छन् ।
जसलाई देशैभर नियन्त्रण गर्ने हो भने पहिला राजधानीको वास बाट सुरु गरौं । त्यो वासा पनि अन्न र मर्चाबाटै उत्पादन भएको घरेलु मदिरा हो भने अन्य हिमाल, पहाड र तराईमा बनाईने पनि त्यसरी नै उत्पादन हुने पेय पदार्थ हो । यस घरेलु उत्पादनलाई वैधानिक दिन सके, ब्यवस्थित र गुणस्तर मापनको ब्यवस्था मिलाउन सके एकातिर अन्न उव्जनी बढ्ने र अर्कोतिर घरेलु उद्योग फस्टाउने पनि देखिन्छ ।
हामी हाम्रो परम्परागत उत्पादनलाई निरुसाहित गर्दै विदेशी उत्पादनलाई प्रोत्साहन गरी रहेका छौं । यसप्रति राज्यको नीति निर्माणकर्ताहरुले विश्लेषण गरेर नयाँ अवधारणा ल्याउने कि ? गजवको कुरा त के छ भने आफ्नै गेट अगाडिको घरेलु मदिरा पसलमा छ्याप्छ्प्ती घरेलु मदिरा बेचिरहेको देख्ने तिनै प्रहरीले अलिपर गएर छापा मार्छ ।
त्यो पनि सधै होईन । प्रायः धेरै जसो जुन सुकै जिल्लामा नयाँ प्रहरी प्रमुख आउने ताका । यो पंक्तिकारको झुटा आरोप पनि हो जस्तो लाग्ला । तर ख्याल गर्नु होला प्रायः हरेक जिल्लामा त्यस्तै हुने गरेको छ । त्यस्तो छापा त्यहाँ मारिन्छ जहाँ झुपडीवाला छन् । ठुला घरानामा प्रहरीको ध्यान प्रायः गएको देखिन्न । छापा मार्ने भए सवैतिर मारौं र सधै मारौं तर प्रहरी प्रमुखका आगमन ताका मार्नु भनेको नयाँ जोगीले धेरै खरानी घस्नु जस्तै हो ।