बनेपा । काभ्रे बहुमुखी क्याम्पसले सरकारी तथा सार्वजनिक प्रयोजनमा प्रयोग हुँदै आएको जग्गाको भोगाधिकारलगायत विषयमा सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएपछि बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसीले क्याम्पस व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्।
वडाध्यक्ष केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै सर्वोच्च अदालतको फैसला आएपछि क्याम्पसले आफूलाई ‘नाफारहित संस्था’का रूपमा प्रस्तुत गर्दै विद्यार्थी तथा अभिभावकलाई भ्रमित पार्ने गरी अभिव्यक्ति दिएको आरोप लगाएका छन्। स्थानीयवासीले बाटो विस्तार तथा सार्वजनिक निकासका लागि पहल गर्दा त्यसलाई विद्यार्थी र अभिभावकसँग जोडेर गलत सूचना प्रवाह गरिएको उनको दाबी छ।
केसीले क्याम्पस नाफारहित संस्था भएको दाबी गरिए पनि विद्यार्थी तथा अभिभावकलाई शुल्कलगायत विभिन्न शीर्षकमा महँगो आर्थिक भार किन पारिएको भन्दै प्रश्न गरेका छन्। उनले काभ्रे क्याम्पसको हाताभित्र ‘बनेपा म्यानेजमेन्ट एण्ड रिसर्च टेक्नोलोजी कलेज’ नामको निजी कलेज सञ्चालन र त्यसको छुट्टै सञ्चालक समिति रहेको विषयमा समेत प्रश्न उठाएका छन्।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट शैक्षिक अनुदान लिने क्याम्पसले एउटै परिसरभित्र अर्को निजी कलेजका भवन तथा संरचना निर्माण गर्नुको औचित्यबारे पनि उनले जवाफ मागेका छन्। काभ्रेकै पुरानो ऐतिहासिक क्याम्पस भए पनि अहिलेसम्म सरकारी आंगिक क्याम्पसका रूपमा स्थापित हुन नसकेको विषयमा समेत केसीले प्रश्न गरेका छन्।
क्याम्पस प्रमुख एउटै व्यक्ति लामो समयदेखि पदमा रहनु, विभिन्न सरकारी तथा सरोकारवाला निकायबाट विनियोजित बजेटको खरिद तथा खर्च प्रक्रियामा कानुनी मापदण्ड पालना भए–नभएको विषय र स्थानीय जनता तथा जनप्रतिनिधिविरुद्ध मुद्दा दायर गर्ने प्रवृत्तिबारे पनि उनले छानबिन आवश्यक रहेको बताएका छन्।
केसीले क्याम्पस व्यवस्थापनले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट स्थानीय जनता र जनप्रतिनिधिको चरित्रहत्या तथा हुर्मत लिने काम गरेको आरोपसमेत लगाएका छन्। उनले उठाएका यी विषयमा सम्बन्धित निकायले प्राकृतिक न्याय र कानुनी आधारमा तथ्यपूर्ण जवाफ दिनुपर्ने बताएका छन्।
‘कर्मकाण्डी रूपमा आँखा छारो हाल्ने उत्तर होइन, प्राकृतिक न्यायसँगत कानुनी आधारसहित यथार्थ र वास्तविक उत्तर दिन सक्नुपर्छ’ भन्ने धारणा सार्वजनिक गर्दै केसीले क्याम्पस प्रमुख र सञ्चालक समितिका कामकारबाहीमाथि छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।
क्याम्पससम्बन्धी उठाइएका प्रश्न र आरोपको आधिकारिक धारणा काभ्रे बहुमुखी क्याम्पस व्यवस्थापनबाट सार्वजनिक हुन बाँकी छ। वडाध्यक्ष केसीले सार्वजनिक गरेका विषयमध्ये शुल्क, अनुदान, निजी कलेजको संरचना, बजेट खर्च तथा प्रशासनिक प्रक्रियासम्बन्धी आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको छ।