मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

समाज/राजनीति
आधी शताब्दीको प्रतीक्षा टुंगियो : भुम्लुका जनतालाई लालपुर्जा

Thearaniko Times 1369+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–७ र ८ का बासिन्दाले करिब पाँच दशकदेखि प्रतीक्षा गरिरहेको लालपुर्जा प्राप्त गरेका छन् । मंगलवार आयोजित विशेष कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यमा ३७३ निजी र ५० सरकारी गरी ४२३ वटा धनीपुर्जा वितरण गरिएको हो ।


लालपुर्जा पाएपछि स्थानीयहरूमा अपार खुसी छाएको छ । ८६ वर्षीय गिर्वराज उप्रेतीले जीवनभरको कमाइ मानिएको जग्गा कानुनीरूपमा आफ्नो नाममा नहुँदा भोगेका कठिनाइ सम्झिँदै, अन्ततः पुर्जा हातमा पाउँदा आफूलाई “जीवनको ठूलो उपलब्धि” प्राप्त भएको बताए । उनले आफ्नो जमिन धितो राखेर ऋण लिन नसक्दा व्यवसाय विस्तार गर्न वा छोराछोरीलाई पढाइका लागि विदेश पठाउन कठिन भएको पीडा पनि सुनाए । “आज जीवनभरको मेहनत सुरक्षित भएको अनुभव भएको छ,” उप्रेतीको भनाइ थियो ।

भुम्लुका जनताले पाएको यो खुसी सजिलै आएको भने होइन । विसं २०३२–३३ सालतिर नापजाँच भए पनि तत्कालीन पिपलटार र फलाँटे गाउँ पञ्चायतबीचको सीमाङ्कन विवाद टुंगिन नसक्दा पुर्जा वितरण रोकिएको थियो । त्यही विवादलाई केही सीमित व्यक्तिहरूले आफ्नो स्वार्थका लागि दीर्घकालीन समस्या बनाइदिए । मन्त्री अधिकारीले पनि कार्यक्रममा सोही कुरा उल्लेख गर्दै भने, “केही व्यक्तिको स्वार्थका कारण ५ दशकसम्म सिङ्गो गाउँले जनताले धनीपुर्जा पाउन सकेनन् । अब भने बाँकी जनतालाई पनि आगामी पुस मसान्तभित्र पुर्जा वितरण गरिसक्ने लक्ष्य लिएको छौं ।”


२०७६ सालमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भुम्लुमा नापी फिल्ड कार्यालय स्थापना गरेपछि समस्या समाधानतर्फ मार्ग खुलेको हो । त्यसयता स्थानिय, गाउँपालिका, जिल्ला प्रशासन, नापी विभाग र मन्त्रालयसम्मको लामो प्रक्रियापछि अन्ततः २०८० सालमा समस्या समाधान अध्ययन समिति गठन भयो र २०८१ सालमा कार्यदलले प्रतिवेदन तयार गर्‍यो । सोही प्रतिवेदन कार्यान्वयनमा आएपछि मंगलबारदेखि धनीपुर्जा वितरण सुरु गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य रुकु चौलागाईंले दशौँ वर्षदेखि पुर्जाविहीन बनेका जनताले अब आफ्नो कानुनी अधिकार पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा अन्य विवादित स्थानहरूको समस्या समाधानमा पनि निरन्तर खटिरहने बताइन् । मन्त्रालयका सचिव केदारनाथ शर्माले छिटोछरितो ढंगले बाँकी काम सम्पन्न गर्न निर्देशन दिइएको जानकारी गराए भने नापी विभागका महानिर्देशक प्रकाश जोशीले १३० दिनभित्र सम्पूर्ण काम सक्ने लक्ष्य तय भएको बताए ।

जिल्ला नापी कार्यालयका अधिकृत अशोक भुसालका अनुसार भुम्लु–७ मा १६८ परिवार र ८ सरकारी संस्थाले गरी १७७ पुर्जा पाएका छन् भने भुम्लु–८ मा २०४ परिवार र ४२ सरकारी संस्थाले गरी २४६ पुर्जा वितरण गरिएको छ । बाँकी काम सकिएपछि गाउँपालिकाका सम्पूर्ण नागरिकले धनीपुर्जा पाउनेछन् ।


गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, पूर्व अध्यक्ष गुमानध्वज कुवँर, वडा नं. ८ का अध्यक्ष मोतिलाल तामाङ र वडा नं. ७ का अध्यक्ष रमेश राज खरेल लगायतले लामो संघर्षपछि प्राप्त भएको उपलब्धिलाई ऐतिहासिक सफलता भनेका छन् । उनीहरूले लालपुर्जा वितरण प्रक्रियामा साथ दिने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै अब यसले गाउँको सामाजिक र आर्थिक विकासमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।

लालपुर्जा नहुँदा दशौँ वर्षसम्म घरधनीहरूले आफ्नो जग्गा धितो राखेर ऋण लिन, जग्गा बिक्री–खरिद गर्न, घर बनाउँदा सरकारी प्रक्रिया पूरा गर्न र छोराछोरीलाई सम्पत्ति हस्तान्तरण गर्न समेत कठिनाइ भोग्नुपरेको थियो । अब लालपुर्जा हातमा परेपछि उनीहरूको आर्थिक गतिविधि सहज हुने, लगानीका नयाँ अवसर खुल्ने र कानुनी सुरक्षा प्राप्त हुने विश्वास गरिएको छ ।

करिब ५० वर्ष लामो संघर्षपछि भुम्लु–७ र ८ का बासिन्दाले धनीपुर्जा पाएका छन् । यससँगै गाउँको विकास, जनताको जीवनस्तर र सम्पत्ति सम्बन्धी कानुनी अधिकार सुनिश्चित भएको छ । स्थानीयहरूले यसलाई “आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि”का रूपमा लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार