काभ्रे । काठमाडौँको किर्तिपुर नगरपालिका–५ निवासी ५० वर्षीय मासु व्यवसायी विनोद खड्गीको अपहरण तथा हत्या प्रकरणमा संलग्न तीन जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्दै आएकी मनिषा महत, महोत्तरीको गौशला नगरपालिका–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने प्रतिक गौतमलाई जन्मकैदको सजाय सुनाएको हो।
अदालतका स्रेस्तेदार इन्दिरा कार्कीका अनुसार दोषी ठहर गरिएका तीनै जनाबाट जनही दुई लाख रुपैयाँ जरिवाना र जनही २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ।
यसै प्रकरणमा मतियारका रूपमा मुद्दा चलाइएका काठमाडौँ शङ्करापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ। तर, उनको सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ।
घटनामा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत भने फरार छन्। अन्य प्रतिवादीहरू रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेललाई प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ।
हनीट्रयापबाट सुरु भएको अपहरण
प्रहरी अनुसन्धानअनुसार २०८१ असोज ५ गते राति विनोद खड्गीलाई योजनाबद्ध रूपमा हनीट्रयापमा पारेर अपहरण गरिएको थियो। मनिषा महतले नागरिकताको प्रतिलिपि बनाउन सहयोग चाहिएको बहानामा खड्गीलाई आफ्नो कोठामा खाना खान बोलाएकी थिइन्।
कोठामा पुगेपछि खड्गीमाथि कुटपिट गरी नियन्त्रणमा लिइएको र सुरुमा ३० लाख रुपैयाँ फिरौती माग गरिएको अनुसन्धानमा खुलेको छ। पछि रकम धेरै भएको भन्दै १० लाखमा सहमति खोजिएको थियो। खड्गीले आफूसँग त्यति रकम नभएको बताउँदै पाँच लाख रुपैयाँ दिन तयार भएको बताएपछि उनले आफ्नो मासु पसलका कर्मचारीलाई फोन गरी भक्तपुरको राधेराधेस्थित भाटभटेनी अगाडि फिरौती रकम बुझाउन लगाएका थिए।
फिरौतीपछि हत्या, शव पाँचखालमा फालियो
फिरौती रकम हात परेपछि अपराध खुल्ने डरले अभियुक्तहरूले खड्गीलाई जीवित छोड्न नचाहेको प्रहरीको निष्कर्ष छ। योजनाअनुसार उनलाई भक्तपुरको गुण्डु क्षेत्रमा लगेर हत्या गरिएको र शव काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ४९ किलो क्षेत्रमा फालिएको प्रहरीले जनाएको छ।
घटनापछि असोज ६ गते फिरौतीको रकम आपसमा बाँडफाँड गरिएको पाइएको छ। प्रहरी अनुसन्धानअनुसार अंशुले मनिषालाई एक लाख, प्रतिकलाई १० हजार, आशिषलाई २० हजार र आफ्नी दिदी रोशनी महतलाई ५० हजार रुपैयाँ दिएको देखिएको छ।
योजनाबद्ध र संगठित अपराध
यो घटना केवल आकस्मिक नभई योजनाबद्ध र समूहगत रूपमा गरिएको संगठित अपराध भएको अदालतको ठहर छ। हनीट्रयाप, अपहरण, फिरौती र हत्या जस्ता गम्भीर अपराधमा संलग्न भएको पुष्टि भएपछि अदालतले कठोर सजाय सुनाएको हो।