धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा अपाङ्गता तथा रिपोर्टिङ सम्बन्धि स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक)ले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) ले गरेको अभिमुखिकरण कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरु सहभागि थिए । अधिवक्ता मुकुन्द हरि दाहालले अभिमुखिकरण कार्यक्रमको सहजीकरण गर्नु भएको कार्यक्रममा रिमरेकका कार्यकारी निर्देशक गोकुल गौतमले परियोजनाका बारे जानकारी गराउनु भएको थियो । उहाँले अपाङ्गता लुकाउने विषय नरहेको बताउनुभयो । पहिचान सहित जिउने अधिकार सुनिश्चित गर्न समुदायको महत्वपूर्ण हात रहेको भन्दै उहाँले संविधान प्रदत्त अधिकारलाई कार्यान्वयनका लागि समेत सबै पक्षको साथ आवश्यक रहेको बताउनुभयो ।
रिमरेकका पूर्व उपाध्यक्ष एवं वरिष्ठ पत्रकार मधुसुदन गुरागाईले अभिमुखिकरणले समाचार प्रकाशन र प्रसारण गर्दा ख्याल गर्नुपर्ने विषयमा पत्रकारहरुलाई सजग गराउने बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिहरूको हक अधिकार सुनिश्चितताका लागि समेत आम सञ्चार माध्यमले खेल्नु पर्ने भूमिकाको विषयमा अभिमुखिकरण मार्फत अपडेट हुने बताउनुभयो ।
अपाङ्गता भएका ब्यक्तिहरुका बारे समाचार लेख्दा ख्याल गर्नुपर्ने शब्दावली, संविधान, ऐन र कानुनमा अपाङ्गता भएका ब्यक्तिका लागि गरिएको ब्यवस्था तथा कार्यान्वयनको परिस्थिति लगायतका विषयमा छलफल भएको थियो । सिबिएम ग्लोबलको आर्थिक सहयोगमा रिमरेकले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा ‘सहकार्य परियोजना’ सञ्चालन गरिरहेको परियोजना ब्यवस्थापक राजन गौतमले जानकारी दिनुभयो । यो परियोजना ५ वर्षसम्म सञ्चालन हुनेछ ।
अहिले दुबै पालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको विवरण संकलन गर्ने काम चलिरहेको छ । परियोजनाले अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य, शिक्षा, आयआर्जन, राज्यको मुलप्रवाहमा पहुँच वृद्धि लगाउन स्थानीय सरकारसँग मिलेर काम गर्ने छ । रिमरेकका अध्यक्ष रमेश गौतमको अध्यक्षतामा कार्यक्रम संपन्न भएको थियो ।