धुलिखेल/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तुरुन्तै प्रहरी समायोजनको प्रक्रिया अगाडि नबढाए संघीय सरकारविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा विपद् व्यवस्थापन गुल्मको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । नेपालको संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी स्पष्ट रूपमा प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै उनले प्रहरी समायोजन हुन नसक्दा प्रदेशको शान्ति, सुरक्षामा समस्या आउनसक्ने बताए । मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे संविधान कार्यान्वयन गर्न नेपाल सरकारविरुद्ध सबै प्रदेश एकताबद्ध भएर कानुनी उपचार खोज्ने चेतावनी दिए ।
प्रदेश सरकार मातहतमा प्रहरी नआएता पनि प्रहरीको सम्रग विकासका लागि सुविधा सम्पन्न र प्रविधिमैत्री भवनहरु निर्माण गर्दै आइरहेको उहाँको भनाई रहेको थियो । उहाँले स्रोत, साधन, प्रबिधिको सीमितताको बाबजुद पनि प्रहरी शान्ति, सुरक्षा र विपद्लगायतका आपतकालीन अवस्थामा नागरिकको भरपर्दो साथी बनेको बताए । उनले प्रहरीलाई भविष्यमा सक्षम, सुदृढ, जनमैत्री र प्रविधिमैत्री बनाउन बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले ७२ वटा प्रहरी इकाइ भवन निर्माण सुरु गरेको जानकारी दिए । जसमध्ये ६२ वटा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको र १० वटा निर्माणाधीन रहेको उनले बताए । उनले प्रहरी इकाई भवन निर्माणमा प्रदेश सरकारले ३ अर्व ४७ करोड २२ लाख लगानी गरेको पनि जानकारी दिए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, धुलिखेल नगर प्रमुख अशोक ब्यान्जु, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अपराध नियन्त्रणमा न्यूनिकरणमा र शान्ति स्थापनामा प्रहरीको उल्लेख्य भूमिका रहेको बताउँदै प्रहरीहरु खोज अनुसन्धानमा, विपद् व्यवस्थापनमा समेत सक्रिय रहनुपर्ने कुरामा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख बसुन्धरा खड्काले मन्तव्य राख्नुभएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी., जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, पूर्व प्रहरी कर्मचारी संगठनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
साथै प्रमुख अतिथिज्यूबाट भवन निर्माणमा सहयोग पुर्याउनु हुने विभिन्न व्यक्तिहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो । विपद् व्यवस्थापन गुल्मको भवन M/S U&S/Ns.J.V Majhi Feda ले रु.१ करोड ७६ लाख ९५ हजार ७१७.९७ मा सम्झौता गरी निर्माण गरिएको हो ।भवन चार सय ५. ६९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।