धुलिखेल । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय तहका सरकार प्रमुखहरुलाई निराशाको कुरा नगर्न आग्रह गर्नुभएको छ । बागमती प्रदेश मुख्यमन्त्री परिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजनामा काभ्रेको धुलिखेलमा आज भएको ‘प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले अहिले व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भनेर कतिपय स्थानीय तहका नेतृत्वहरुले नै निराशाको कुरा गरेकोले त्यस्ता कुराले नागरिकमा झन् वितृष्णा पैदा हुने बताउनुभयो।
उहाँले अब व्यवस्था फेरिएसंगै अवस्था समेत फेरिएको विषयलाई सकारात्मक ढंगले बुझाउँदै विकासका काममा अगाडी बढ्न आग्रह गर्नुभयो । ‘व्यवस्था फेरिएसंगै अवस्था पनि फेरिने गरी काम भएको छ ।’ उहाँले भन्नुभयो, ‘हिजोको स्थानीय तहको अवस्था र अहिलेको स्थानीय तहमा भएका विकासका कामलाई तुलना गरेर सही रुपमा मुल्याङ्कन गरौं, अवस्था पनि फेरिएको छ ।’ संघीयता पछि स्थानीय तहहरुमा विकास भएको बरु त्यसको उपभोग गर्ने नागरिक कम हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
विकास ठूला र राष्ट्रिय गौरवका आयोजना संघीय सरकारले गर्ने, मझौला आयोजना प्रदेशले गर्ने र साना आयोजना स्थानीय तहले गर्ने प्रस्ट व्यवस्था भएको भन्दै उहाँले त्यसमा समन्वय र सहकार्य गरेर काम गर्ने परिपाटी कम भएको बताउनुभयो । अहिले कतिपय विषयमा उठेका अधिकारका कुरा र बजेट विनियोजनको विषयमा तीन वटा नै तहको समन्वय र सहकार्यमा कमि भएर समस्या निस्केको उहाँको भनाई छ । स्थानीय सरकारलाई कमजोर बनाउने नभई झन् बलियो बनाउँदै लैजानका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै उहाँले पालिकाको नेतृत्वहरुले पनि काम गर्ने शैली र सोच बदल्न आवश्यक रहेकोमा जोड दिनुभयो । ‘पालिकालाई कमजोर होइन, बलियो बनाउँदै लैजाने र कानुनले नदिएको विवादित विषयमा हात नहाल्ने भन्नेमा सचेत छु ।’ उहाँले थप्नुभयो, ‘स्थानीय तहहरुले काम गर्ने वेलामा आईपरेका केही बाधा र व्यवधानका विषयहरु छन् भने त्यसलाई आवश्यकताका आधारमा संशोधन गरेर अगाडि बढ्न सकिन्छ ।’
उहाँले शिक्षा, कृषि, स्वास्थ्य र अन्य आयोजनाहरुको बारेमा स्थानीय तहहरुमा भइरहेका अधुरा, अलपत्र तथा बजेट अभावका कारण काम नभएको अवस्था भएमा तत्काल अध्ययन गरी अनुगमन प्रतिवेदन पेश गरेर सम्पन्नतातर्फ अगाडी बढ्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । त्यस्तै ढुंगा, गिटी, बालुवाजस्ता बस्तुमा मुल्य बढी भएको र जथाभावि दोहन हुन नदिनका लागि स्थानीय तहले आवश्यक व्यवस्थापनको नीति बनाउन स्थानीय तहहरुलाई आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले जनप्रतिनिधिहरुले गुनासोको कुरा बढी उठाउने र अधिकारको मात्रै खोजी गरिरहँदा नागरिकमा वितृष्ण पैदा हुँदै गएको भन्दै अब आशा र रचनात्मक काममा जोड दिन आवश्यक रहेको बताउनुभयो । स्थानीय तह, प्रदेश र संघ सरकार तथा जनप्रतिनिधिले अधिकार खोजिरहँदा संघीयताले नागरिकमा झन् वितृष्ण बढ्दै गएको पाएको भन्दै सबै तहका सरकारहरु मिलेर काम गर्ने सन्देश बागमती प्रदेशबाट दिने गरी अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो ।
बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले बागमती प्रदेश सरकारले तीन वटा नै तहका सरकारबीचमा कसरी समन्वय गरेर प्रभावकारी काम गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया थालनी गरेर समन्वय र सहकार्यको कामलाई अगाडी बढाएको बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख एवं नगरपालिका महासंघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले योजना निर्माण र कार्यान्वयनका लागि वैज्ञानिक ढंगले काम गर्न अन्तर्क्रिया कार्यक्रमले थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा उहाँले प्रदेश सरकार अन्तर्गत रहेका कृषिज्ञान केन्द्र लगायतका कार्यालयहरुबाट काम गर्ने बेलामा आवश्यक समन्वय विना नै काम गर्दा समस्या देखिएको भन्दै समन्वय गरेर मात्रै काम गर्न प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघका सचिव एवं फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले तीन वटा नै तहका सरकार तथा प्रदेश र प्रतिनिधि सभाका प्रतिनिधिहरुबीचमा समन्वय गरेर काम गर्ने कानुन नहुँदा समस्या देखिएको भन्दै सबैबीच समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मासाथ गर्दै काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । त्यसरी समन्वय र सहकार्य गरेर काम गरेको खण्डमा बजेट विनियोजन, दोहोरोपन र अनियमितता हुने समस्या रोक्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका सचिव प्रकाश दाहाल, ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष झम्कनाथ नेपाल र कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्र कुमार पोखरेल लगायतले प्रदेश र संघबाट पालिकास्तरमा सञ्चालन हुने कुनैपनि योजनाहरुको समन्वय नहुँदा अनियमितता र अलपत्र भएको तथा पारदर्शिता नहुने भन्दै समन्वय र सहकार्यमा काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा १३ जिल्लाका पालिका प्रमुख र प्रशासकीय प्रमुख तथा विषयगत कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।