बनेपा/नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशनको उद्घाटन सकिए लगत्तै नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ।
आइतबार हुने निर्वाचनमा सर्वसम्मत गराउन नेतृत्व पंक्ति लागेको भएपनि नेतृत्वमा जानचाहने आकांक्षीहरु धेरै भएकोले निर्वाचन हुन सक्ने संभावना रहेको स्रोत बताउँछन्।
पार्टीको जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मत गराउन पार्टीका शिर्ष नेतृत्वले प्रयत्न गरिरहेको भएपनि जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दिपककुमार गौतमले पनि अध्यक्षको दाबी नछाडेको बताइन्छ। निक्कै रस्साकस्सीका बिच गौतमलाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिएर मनाउने प्रयास भइरहेको स्रोतको दाबी छ। यसो हुँदा जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईं निर्बिरोध निर्वाचित हुने देखिएको छ।
यसैगरी जिल्लाको उपाध्यक्ष पदका लागि रघुबर चौप्रधान, कृष्ण लामा, लाप्साङ लामा, यशु लामा, पासाङ डोल्माे लामा, भेजप्रसाद तिमल्सिना(वि.पि.) लगायत अन्य थुप्रै आकांक्षीहरु देखिएका छन् ।
जिल्ला सचिव पदका लागि भने बनेपा -६ का वडाध्यक्ष सचितानन्द के.सी., निवर्तमान सचिव गोकुल गौतम र युवा संघका केन्द्रीय सचिव भेषराज शाह आकांक्षी रहेको स्रोतको दाबी छ । तात्कालीन नेकपा एमालेमा हुँदा ११ वर्ष क्षेत्रीय कमिटिको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका तथा दुइ कार्यकाल वडाध्यक्ष र जिल्ला खेलकुद विकास समितिकाे अध्यक्ष समेत भइसकेका जनप्रिय नेता के.सी. गत स्थानीय निर्वाचनमा बनेपा -६ मा सबै दलहरु एक हुँदा पनि एकीकृत समाजवादीको तर्फबाट कलम चुनाव चिन्हमा अत्यधिक मत ल्याइ निर्वाचित भएका वडाध्यक्ष हुन् भने गौतम वडा सदस्यमा समेत पराजित भएका थिए।
उपसचिवमा आकांक्षीहरुमा कार्यालय सचिव हरिगोपाल प्रधानाङ्ग, रेशमलाल श्रेष्ठ, राम लामा, प्रेम लामा, प्राणनाथ न्यौपाने लगायत रहेका छन् ।
अधिवेशनमा जिल्लाको १३५ वटा वडा मध्ये ११७ वटा वडा र २२ वटा जनवर्गिय संगठनबाट गरी ४ सय ७६ जना प्रतिनिधि सहभागि छन् ।
अधिवेशनले ५५ देखि ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । हाल २८७ जनाको जिल्ला कमिटी रहेको छ । एमालेबाट विद्रोह गरेर गठन भएको साढे दुई वर्षमा नेकपा एस काभ्रेमा ३ हजार ९६६ जनाले संगठित सदस्यता लिएका छन् ।
अधिवेशनबाट निर्माण हुने जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशतको सहभागिता हुनेछ । त्यसैगरी ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनेछ । त्यस्तै उत्पीडित दलित समुदाय, अल्पसंख्यक तथा अति सीमान्तकृत समुदाय र अपांगता भएका व्यक्तिहरुको समेत जिल्ला कमिटीमा प्रतिनिधित्व सुनिश्चित गराइनेछ ।