धुलिखेल/गृहमन्त्री रमेश लेखकले बाढी र पहिरोबाट बढी क्षति पुगेका काभ्रे जिल्ला नै विपद संकटग्रस्त घोषणा गर्न सकिने भन्दै मन्त्रीपरिषद्मा छलफल गर्ने बताएका छन् ।
काभ्रेपलाञ्पचोकको पनौती र बेथानचोक गाउँपालिकाका विभिन्न स्थान निरिक्षणपछि जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री लेखकले तथ्यांकका आधारमा घोषणा गरिएपनि त्यसमा थप गर्न सकिने बताए । ‘काभ्रेमा बाढी–पहिरो प्रभावित स्थानीय तह वा वडालाई संकटग्रस्त घोषणा गर्न सकिन्छ, तथ्याकंका आधारमा पुन निर्णय गर्ने भनेका छौं,’ उनले भने, ‘क्षतिको विवरण प्रमुख जिल्ला अधिकारीमार्फत पठाउनुभयो भने त्यसको आधारमा थप गर्न सकिन्छ ।’
उनले स्थानीय तहले पूर्ण घर क्षति भएको लाभग्राही पहिचान गरी पठाएको ३ दिनभित्र अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताबापतको रकम पठाउने बताए । सरकारले अस्थायी आवास निर्माणको लागि २५ हजार र खाद्यानको लागि ५ जनासम्मको परिवारको लागि १५ हजार र त्यो भन्दा बढी परिवार संख्या भएकालाई प्रति परिवार २० हजार उपलव्ध गराउने घोषणा गरेको छ ।
गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्रहमा बसेर काम नगर्न आग्रह गर्नुभयो । उहाँले पीडा कुनै एक जना पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकोले विकासमा कुनै राजनीतिक कुरा नहुने बताउनुभयो ।
सबैले सबैलाई मिलाएर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा परेकालाई राहत दिन सक्नुपर्नेमा जोड दिनुभयो । विपद्मा परेको वेलामा त्यसलाई व्यवस्थित ढंगले काम गर्नुपर्ने भएको हुनाले काम गर्नमा केही समय लागेको बताउँदै अबको दिनमा सबै मिलेर लाग्न उहाँले आग्रह गर्नुभयो । खोजि र उद्धारको काम निरन्तर चलिरहने बताउँदै विस्तापित भएका, घर ध्वस्त भएर सुत्ने, खानेपानी, औषधी लुगाफाटोको व्यवस्था हुन नसकेकाहरुलाई राहतको व्यवस्था गर्ने चरणमा रहेको बताउनुभयो । ‘ति कार्यहरुसंगै अत्यावश्यक मानविय सेवाहरुलाई पनि सुचारु गर्नुपर्ने अवस्थामा छौं ।’ उहाँले भन्नुभयो, ‘राहत, अवरुद्ध सडक सूचारु गर्ने, दूरसञ्चार सेवा, विद्युत, स्वास्थ्य सेवा लगायतका कामलाई प्राथमिकता दिएर काम गर्नुपर्ने जरुरी छ ।’
बैठकमा संघीय सांसद सूर्यमान दोङले विपद्को वेलामा काम गरिरहेको सुरक्षा निकायलाई आवश्यक व्यवस्थापन नभएको कारण समस्याकै बीचमा काम गरिरहेको बताउँदै त्यसमा सरकारले ध्यान दिन आग्रह गर्नुभयो । व्यवस्थापनको सवालमा कतै बस्ति नै व्यवस्थापन गर्नुपर्ने, सडक सञ्जालको तत्काल व्यवस्था, विद्युत नभएर सबैजसो पालिका अन्धकारमय भएको लगायतका सबै काममा सरकार गम्भिर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सडक, विद्युत, सञ्चार पूरै बन्द रहेको कारण सबैतवरबाट पाकिला खेबरजस्तै भएको बताउनुभयो । सडक सञ्जालको लागि खोपासी–तालढुंगा, च्याल्टी–तालढुंगा र सुकमफेदी–तालढुंगा तीन वटा नै नाका पूर्ण रुपमा बन्द रहेकोले समस्याग्रस्त रहेको उहाँले सुनाउनुभयो । खुलेखानी ड्यामबाट बगेको पानीले बाग्मती खोलामा आएको बाढीबाट खानीखोलाको दूई वटा बस्ति पूर्ण रुपमा बगाएको, बाढीपहिरोबाट ३) वटा भन्दा बढी खानेपानीको संरचना, ३)) किलोमिटर भन्दा बढी स्थानीय सडक क्षति, सिंचाइका २५ र विद्यालयको ५ वटा र लघुजलविद्युतका ७ वटा संरचना ध्वस्त भएको पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गर्नुभयो । अहिले त्यहाँका मानिसहरुले दशैंका लागि चामल र चिउराको बन्दोबस्ति गर्न सक्ने अवस्था नरहेको भन्दै स्थिति भयाभह रहेकोमा स्थानीय चौकीमा रहेको सुरक्षाकर्मी बाहेक थप सुरक्षा जनशक्ति नपुगेको, जिल्लाका कुनैपनि राजनीतिक नेतृत्व नपुगेको तथा सञ्चार सम्पर्क विहीन भएकोले त्यहाँको तथ्य सूचना अहिलेसम्म आउन नसकेको भन्दै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले विपि राजमार्ग वैकल्पिक बाटोबाट नार्केसम्म पुगेपनि भरपर्दो नभएको र क्षतिको विवरण ल्याउन वल्लो घरदेखि पल्लो घरसम्म जान नसक्ने स्थिति रहेको बताउनुभयो ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोक जिल्लालाई पूरै संकटग्रस्त क्षेत्र घोषणा गरेर कामलाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री तीर्थ बहादुर लामा, बागमती प्रदेशसभा सदस्य कन्चनचन्द्र बादे श्रेष्ठ, रत्न ढकाल, रुकु चौलागाई, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भोला अर्याल, नेकपा एमालेका अध्यक्ष राजन भुर्तेल लगायतले विपद्को वेलामा सरकारले गम्भिर भएर उद्धार, खोज, राहत, अस्थायी बासस्थान तथा पुनर्बासको लागि ध्यान दिन आग्रह गर्नुभयो । काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जिल्लामा भईरहेको विपद् व्यवस्थापनको गतिविधि र गरिरहेको प्रगतीको बारेमा जानकारी दिनुभएको थियो ।