पनौती / नगरपालिकाको १४ औं नगरसभा अर्को सुचना प्रकाशित नगरेसम्मको लागि स्थगित भएको छ। बिहिबार आयोजित नगरसभा प्रारम्भ हुनु अघि नै नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा समावेश भएको संगठन संरचनामा सहमति हुन नसकेको र सहमतिको लागि समय चाहिएको भन्दै नगरप्रमुख रामशरण भण्डारीले बैठक स्थगन भएको नगर सभासदहरुलाई जानकारी गराए।
नगरपालिकामा कार्यरत एक कर्मचारीको बिषयलाई उपप्रमुख र एमाले निकट जनप्रतिनिधिले प्रतिष्ठाको बिषय बनाएपछि पनौती नगरसभा सधै विवादित बन्दै आएको छ ।
नगर कार्यपालिकाले पारित गरिसकेको पनौती नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा समावेश भएको संगठन संरचनामा वरिष्ठ प्रशासकीय अधिकृतको पद समावेश नभएपछि एमालेबाट निर्वाचित उपपप्रमुख र जनप्रतिनिधिले त्यसलाई प्रतिष्ठाको बिषय बनाएकाे बताइयो।
एमालेले प्रदेश कानून विपरित वरिष्ठ प्रशासकीय अधिकृतको पद कायम नै राख्नुपर्छ भन्ने अडान राखेको छ भने नगर प्रमुख र अन्य जनप्रतिनिधिले भने प्रदेश कानून प्रतिकुल नहुने गरी विज्ञ समूहले दिएको प्रतिवेदन अनुसारको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा समावेश भएको संगठन संरचना लागू हुनुपर्ने बताउँदै आएको छ ।
बिहिबारको नगर सभा बैठकमा सोही विषयले तनाव हुने देखिएपछि बैठक शुरु भएलगत्तै नगर प्रमुख रामशरण भण्डारीले बैठक स्थगित गरेकाे बताए । एमाले निकट नगर सभा सदस्यले विज्ञहरुको सुझाव भन्दा नगरको सुशासन समितिले गरेको प्रस्ताव अनुसार हुनुपर्ने अडान राख्दै बैठक नै चल्न नदिने तयारी गरेपछि नगर प्रमुख भण्डारीले बैठक स्थगित गरेका थिए ।
सुशासन समितिले तयार गरेको दरवन्दी तेरिज प्रदेश कानून विपरित छ । कानून विपरित कर्मचारी नियुक्ति, सरुवा लगायतका अधिकार कार्यापालिकालाई प्रस्ताव गरिएको छ । वडाले नै कर्मचारी नियुक्ति गर्न पाउने कानुन विपरित प्रस्ताव नगरपालिकाको सुशासन समितिले गरेको छ ।
महालेखा परिक्षकको कार्यालयले पनि करारका कर्मचारीका कारण नगरपालिकामा व्ययभार भएको भन्दै बेरुजु औल्याएपछि पनौतीले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मार्फत कर्मचारी व्यवस्थापन गर्न लाग्दा पार्टी निकट पुराना कर्मचारी हट्ने लगायतका कारण एमाले तर्सिएर नगर सभा नै बहिष्कार गर्दै आएको कांग्रेस निकट एक जनप्रतिनिधिले जानकारी दिए ।
नगर प्रमुख रामशरण भण्डारीले महालेखा परिक्षकले समेत औल्याएको बिषयमा व्यवस्थापन गर्न खोज्दा सधै विवाद जस्तो देखिएको बताए । ‘हामीले कर्मचारी व्यवस्थापन, दरबन्दी सिर्जना गर्दै सेवा प्रवाह व्यवस्थित गर्न लागेका हौं, तर एक थरी साथीहरु हाम्रा मान्छे हटाउने, नगर प्रमुखले आफ्ना मान्छे नियुक्ति गर्ने बुझेर अप्ठ्यारो सिर्जना गर्न लाग्नुभयो,’ नगर प्रमुख भण्डारीले भने, ‘सरकार भनेको निरन्तर जाने कुरा हो, हामीले विधि बनाउन खोजेका हौं, भोलि हामी नेतृत्वमा नहुन सक्छौं, उहाँहरु हुन सक्नुहुन्छ, हामीले एउटा प्रणाली विकास गर्न खोजेका हौं ।’
नगर उपप्रमुख गीता वञ्जाराले के कारणले नगरसभा स्थगित भयो भन्ने आफूलाई जानकारी नभएको बताइन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) पारित गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको भन्दै एक्कासी स्थगित हुँदा अचम्मित भएको बताइन् । ‘कुनै एक व्यक्तिको पक्षमा राखेर हामीले विवाद गर्दैनौ, गरेका छैनौं,’ उनले भनिन्, ‘कार्यपालिकाले गरेको निर्णय पास गर्न तयार छौं, दरबन्दी तेरिज फेरिएको बारे मलाई जानकारी छैन ।’
संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) को बिषय नगर सभामा प्रवेश गर्ने कार्यसूची भएपछि अघिल्लो नगर सभा पनि स्थगित भएको थियो । उक्त प्रस्ताव फिर्ता भएपछि मात्रै नगर सभा सञ्चालन भएको थियो ।
यसैबीच उपप्रमुख र निकट जनप्रतिनिधिको तर्फबाट एक विज्ञप्ति प्रकाशित गरी नगरसभा स्थगन दुःखद् पुर्ण भएको बताएको छ। उपप्रमुख गिता बञ्जाराले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ -स्थगन पश्चात नगरसभा सदस्यहरुले आफूलाई कार्यालयले उपलब्ध गराएको सभामा छलफलका लागि पेश हुने सामाग्रीभित्र विगत देखिने पेचिलो बन्दै हामी सम्बद्ध नगरसभा सदस्यहरूले O&M (संगठन व्यवस्थापन सर्भेक्षण) गर्न दिएनन् भन्ने भ्रमपूर्ण मिथ्या आरोप खेपिरहेको अवस्थामा सो संग सम्बन्धित बिषयमा दुई थरि डकुमेण्ट पेश हुन आएको देखियो, बिगतमा पर्याप्त अध्ययन विश्लेषणविना O&M ल्याउँदा ३७० जनाको प्रस्तावित दरवन्दी तेरिज सहितको प्रस्ताव आएकोमा यस सभाको पूर्व सन्ध्यामा सहमतिय आधारमा उक्त प्रस्तावलाई पूनरावलोकन समेत गरी २८७ जनाको कूल दरवन्दी सहितको सांगठनिक संरचना संस्थागत विकास तथा सुशासन समितिको बैठकबाट सर्वसम्मत रूपमा पास गरि २०८०।१०।१७ को नगरकार्यपालिका बैठकमा पेश हुँदा सुशासन समितिबाट पेश भए बमोजिम नै कार्यपालिकाले आजको नगरसभामा पारितका लागि पेश गर्न स्वीकृत गरेको व्यहोरा स्पष्ट गर्दछौ, बिगतमा पास गर्न दिएन भन्ने हामीलाई आरोप लगाई रहँदा अहिले कार्यपालिकाले पेश गरेको O&M पारित होला भन्ने भयले स्वार्थ बस हठात्मा पराजित मानसिकताले ग्रस्त भई औपचारिक सुरुवात् विना सभा स्थगित गरेको हाम्रो ठम्याई छ, छलफल संवाद बिना कार्यसूची भन्दा वेग्लै औपचारिक निर्णय बाहिर रहेर कसैको व्यक्तिगत हित र इसारामा संस्थागत निर्णयलाई चुनौती दिने गरि O&M सम्बन्धी कागजात थप्नु गलत र निन्दनीय छ, यस्ताखाले गलत कृयाकलापमा कार्यालय समेत साक्षी बस्ने स्थिति दुर्भाग्यपूर्ण छ । अतः हामी र हाम्रा कारण आजको सभा स्थगन नभएकाले यसको पूर्ण जिम्मेवारी र जवाफदेहिता स्थगनकर्ता ब्यहोरा समेत सम्बद्ध सबैमा अनुरोध गर्दछौ ।