बनेपा — असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण देशभर जनधन र भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको भएकाले नेकपा (माओवादी केन्द्र) काभ्रेको तर्फबाट गहिरो दुःख प्रकट गरिएको जिल्ला संयोजक भोला अर्यालले जानकारी दिएका छन्।
मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको पनि उनले बताए।
राजनीतिक र प्राकृतिक प्रकोप दुबै एकैपटक व्यहोर्नुपरेको पीडादायी अवस्थालाई मध्यनजर गर्दै पार्टीले तत्कालका सबै राजनीतिक गतिविधि स्थगित गरी राहत तथा उद्धार कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको संयोजक अर्यालले जानकारी दिए।
उनका अनुसार, पार्टी अध्यक्ष कमरेड प्रचण्डको उपस्थितिमा आगामी असोज २५ गते गर्ने भनिएको वाइसीएल काभ्रेको भव्य सम्मेलन समेत स्थगित गरिएको छ।
पार्टीका सम्पूर्ण संरचनाहरूलाई विपद्बाट प्रभावित क्षेत्रका राहत तथा उद्धार कार्यमा सक्रिय हुन आह्वान गरिएको पनि उनले बताए।