संसदमा रविको पहिलो संबोधन - जन-अपेक्षा पूरा नभएमा मुलुक निराशामा जानेछ–गृहमन्त्री लामिछाने
२५ पौष २०७९, सोमबार
काठमाडौ । प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले जन–अपेक्षा अनुसार नयाँ राजनीतिक दल उदाएको बताउनुभयो ।
गृहमन्त्री लामिछानेले जन–अपेक्षा पूरा नभएमा मुलुक निराशामा जाने बताउँदै ‘हामी जस्ता नयाँ राजनीतिक दलहरुको आगमन जनताको अपेक्षा अनुसार भएको हो र त्यो अपेक्षामा कुनै कारणले कुठाराघात भयो भने एउटा चरम निराशामा मुलुक जानेछ । यस कुराको हेक्का हामीमा छ । र, सम्पूर्ण राजनीतिक दलहरुलाई पनि छ होला, भन्नुभयो ।
लामिछानेले छोटो सम्बोधनमा आफ्नो पार्टी उदयको अर्थ बताए, अनि भ्रष्टाचारमा कारबाही गर्न आफू निर्मम हुने जिकिर गरे । कुनै पनि खालखण्डको भ्रष्टाचारका फाइल खोल्ने बताएका लामिछानेले कानून पालनामा सहयोग गर्न सांसदलाई अनुरोध समेत गरे । सम्बोधनका क्रममा बारम्बार छातीमा हात राख्दै उनले वाचा गरिरहे । आफू मात्र होइन आफ्नो पार्टीका सांसदको समेत जिम्मा लिँदै उनले जनताको शिर निहुरिन नदिने प्रतिवद्धता जनाए ।
नयाँ दललाई मत दिएर जनताले परिवर्तन खोजिरहेको संकेत गरेको सुनाउँदै लामिछानेले भने, ‘यो मुलुकमा अब परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बनाएका घण्टीको ध्वनि हो र यो ध्वनिलाई संसदले सुन्नेछ । सदुपयोग गर्ने छ ।
संसदले वर्षाैदेखिका भ्रष्टाचारका भारी बिसाउनुपर्ने तर्क गर्दै लामिछानेले संसदलाई प्रश्न समेत गरे । ‘संसद अधिवेशनको पहिलो दिनमा हामीले भन्नैपर्छ– वर्षौदेखि भ्रष्टाचारका विभिन्न काण्डहरु मच्चाएको र जनता निराश भएको अवस्थामा अबको संसदले त्यो भारी बोकिरहन्छ कि त्यो भारीलाई बिसाउँछ ?, लामिछानेले प्रश्न गरे । उनले भ्रष्टाचारको सम्पूर्ण पुराना फाइलहरु खोल्न ऐक्यवद्धताको पनि माग गरे ।
संसदलाई प्रश्न गरेका लामिछानेले सांसदलाई खबरदारीपूर्ण आग्रह पनि गरे । भ्रष्टाचार र गैरकानूनी क्रियाकलापमा जोडिएका मान्छेलाई छुटाउन दबाव नदिन आग्रह गर्दै उनले भने, ‘आपराधिक गतिविधिमा यदि छानबिन भइरहेको छ भने त्यसलाई प्रभाव पार्नको निमित्त आफ्ना मान्छेहरु छुटाउनु प¥यो भन्ने किसिमका दबाव सिर्जना नगरिदिनु होला । ल एण्ड अर्डरलाई पालना गर्ने हो भने त्यसको सुरुवात यो गरिमामय संसदमा उपस्थित हामी सबैबाट हुनुपर्दछ ।
लामिछानेले छातीमा हात राख्दै आफू र आफ्नो दलका सांसदले कुनै पनि प्रकारको अनियमितता नगर्ने वाचा गरे ।
‘म र म सम्वद्ध दलका कुनै पनि प्रतिनिधिहरुबाट, सांसदहरुबाट कुनै पनि किसिमको अनियमितता हुने छैन । कहीँकतै नागरिकलाई दुःख दिने काम हुने छैन । कुनै काण्डहरुमा हामी मुछिने छैनौं’, लामिछानेले भने, ‘म बाचा गर्न चाहन्छु– हामी मुलुक र मुलुकबासीका लागि हामीले हिजो गरेका बाचाहरु पूरा गर्नका लागि तयार भएर आएका छौं ।’
सञ्चारकर्ममा रहँदा खरो र चर्को बोल्ने लामिछानेले संसदमा भ्रष्टाचारका फाइल खोल्ने र कारबाही गर्ने मामिलामा आफू निर्मम हुने सुनाएर उनले आफू आफ्नो काममा प्रष्ट भएको संकेत गरे ।
‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका फाइल इमानदारीसाथ खुल्छ, सरकार भ्रष्टाचारबिरुद्ध निर्मम भएर खडा हुन्छ’, भन्दै लामिछानेले सरकारले तयार पार्ने न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार निवारण एउटा बुँदा हुने सुनाए ।
सरकारले सार्वजनिक गर्ने न्यूनतम साझा कार्यक्रम, आफ्नो पार्टी र सरकार जनजीविकाको सवालमा खरो भएर उत्रिने वाचा गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको वाचा र जनमतको गणितका कारण पनि आफूहरु सरकारमा गएको सुनाए ।
आवेगको मत पाएको भन्दै रास्वपामाथि हुने टिप्पणीको जवाफ समेत लामिछानेले संसदबाट दिए । आवेगको नभई आशाको मत पाएको बताउँदै लामिछानेले कर्तव्य पूरा गर्दा कहीँ चुके कुर्सी र पदको लोभमा नलोभिने वाचा समेत गरे ।
नागरिकले महसुस गर्ने गरी सरकारले काम गर्ने बताउँदै लामिछानेले आफूले गरेका वाचा पूरा गर्न नसकेको दिन कुर्सिबाट हट्ने पनि सुनाए ।
‘हाम्रो तर्फबाट प्रतिवद्धतामा कुनै कमीकमजोरी आएको खण्डमा सरकारमा, लोभमा वा पदमा टाँसिरहने छैनौं,’ प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘यो बाचा पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही रोष्ट्रमबाट गराउन चाहन्छु ।
हामी आफ्नो कर्तव्य पूरा गर्ने सिलसिलामा कहीँकतै चुक्यौ भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं । यसमा यहाँहरु निर्धक्क हुनुहोला । सत्ता साझेदार दलहरुलाई पनि म यो बाचा गर्न चाहन्छु ।
उनले प्रतिपक्षी दलबाट स्वस्थ आलोचनाको अपेक्षा रहेको बताउँदै सकारात्मक काममा अड्को थाप्ने नभई सघाउने काम हुनेछ भन्ने अपेक्षा रहेको पनि बताए । ‘म यो अपेक्षा पनि गर्दछु कि प्रतिपक्ष दलबाट अड्काउने होइन, सघाउने काम हुनेछ भन्ने कुरा पनि म आशा गर्छु, उनले भने ।