धुलिखेल/सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले मंगलबारदेखि काभ्रेको धुलिखेलमा आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम शनिबार संपन्न भएको छ ।
सञ्चार जगतमा प्रविधिको विकास तिव्र गतिमा भइरहेको बेला बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ यो तालिमको आयोजना गरिएको हो ।
तालिम सञ्चालन समापन कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारहरुलाई विषयमा केन्द्रित भएर पत्रकारिता गर्न आग्रह गर्दै शहरमुखि नभइ ग्रामीण परिवेशमुखि पत्रकारिता गर्न आवश्यक रहेको बताए । सञ्चार रजिष्ट्रार सापकोटाले बाग्मती प्रदेशका पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम ब्रेनमा गरेको लगानी भएको बताउनु भएको थियो। साथै तालिमपछि पत्रकारहरुको क्षमता, लेखन, सीपमा परिवर्तन हुनेमा आफु विश्वस्त भएको बताउनु भएको थियो । यसपछि सञ्चालन गरिने तालिममा एडभान्स कोर्ष हुने र त्यसको लागि अहिले तालिम लिएकालाई विशेष प्राथमिकता हुने र माथिल्लो लेबलको तालिम दिन इच्छुक रहेको बताउनुभयो।
तालिमबाट मल्टिमिडिया तथा मोबाईलको प्रयोगद्वारा पत्रकारिता गर्न सकिने बताउनुभयो। फोटो, भिडियो र डकुमेन्ट्रीहरुको मोबाईलद्वारा सजिलै काट्ने डिजाइन गर्ने र आफुलाई न्यारेशन अनुसार आवश्यक ढाल्न सकिने कुराको बारेमा अध्ययन अनुसन्धान गर्न र फोटो अनुसार कथा वस्तु तयार गर्न सकिने कुराको बारेमा जानकारी दिनुभयो ।
मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेशका २२ जना र अनलाइन पत्रकारितामा २० जना गरी जम्मा ४२ जना पत्रकारहरुको सहभागिता रहेको थियो। मल्टिमिडिया तथा मोबाइल पत्रकारितामा सहभागीहरुलाई प्रशिक्षक तथा वरिष्ठ फोटो पत्रकार विकास कार्की र पत्रकार रामु सापकोटाले प्रशिक्षण दिनुभएको थियो भने अनलाइन पत्रकारिता तालिमका लागि प्रशिक्षक उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिनु भएको थियो ।बाग्मती सञ्चार रजिस्ट्रारको कार्यालयले स्थापनाकालदेखि विभिन्न किसिमको तालिम सञ्चालन गर्दै आएको छ ।