काभ्रे – देशमा चलिरहेको जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य तथा तेमाल गाउँपालिका इन्चार्ज टिकालाल तामाङले पार्टीका सबै पदबाट राजीनामा दिएका छन्।
तामाङले शुक्रबार सामाजिक सन्जालमा सार्वजनिक वक्तव्य जारी गर्दै देशको वर्तमान परिस्थिति र परिवर्तनका लहरलाई मध्यनजर गर्दै आफू अब पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराएका हुन्।
उनले भनेका छन्, “देशको परिवर्तनको खातिर र वर्तमान जेन–जी आन्दोलनको म्यानडेटलाई ऐक्यबद्धता जनाउँदै म आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीका सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दछु।”
तामाङ हालसम्म नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला सचिवालय सदस्य तथा तेमाल गाउँपालिका इन्चार्जका साथै नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय सचिवालय सदस्य तथा काभ्रे इन्चार्ज, र नेपाल तामाङ संघ समाजवादी केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
राजीनामा पश्चात् उनले आफू अब कुनै पनि पार्टीको “अन्धो भक्त” भएर होइन, स्वतन्त्र नागरिकको रूपमा समाज र राष्ट्रको निम्ति योगदान गरिरहने बताएका छन्।
राजनीति
नेकपा (एकीकृत समाजवादी) का तेमाल इन्चार्ज टिकालाल तामाङद्वारा राजीनामा
२४ अशोज २०८२, शुक्रबार