धुलिखेल/मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारहरू जनताको घर दैलोमा मत माग्न व्यस्त छन् ।
काभ्रेमा लोकतान्त्रिक वाम गठबन्धन र एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनले प्रतिनिधि सभा सदस्यमा कांग्रेस र माओवादीलाई तथा प्रदेश सभामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई भाग लगाएको छ ।
दलहरुले चुनावी प्रचार अभियानलाई आक्रामक रूपले अघि बढाएको छ । सामाजिक सञ्जालदेखि घर दैलो र मतदाता भेटघाट कार्यक्रमलाई नेकपा एकिकृत समाजवादीले आक्रामक रूपमा अघि बढाएको छ ।
नेकपा लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवार मतदातासँग भेटघाट गर्न घर दैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
उम्मेदवारहरू जनताको घर दैलोमा गएर मत र आर्शिवाद मागिरहेका छन् ।
यसक्रममा काभ्रे जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर २(क)को प्रदेशसभा सदस्यका उम्मेदवार लक्ष्मण लम्सालले जनताको आधारभूत आवश्यक्ता सहज रुपमा पूर्तीका लागि सत्ता गठबन्धनको पक्षमा मत दिन आग्रह गरेका छन् । मुलुक भ्रष्टाचारको दलदलमा फसिरहेको समयमा जनताको आधारभूत आवश्यक्ता पनि पूर्ती हुन नसकेकाले सत्ता गठबन्धनको पक्षमा मत दिन आग्रह गरे ।
धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित घरदैलोमा पुगेका काभ्रे २(१)का उम्मेदवार लम्सालले मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था दयनिय रहेको समयमा यसमा सुधार ल्याउनु नै प्रमुख लक्ष्य रहेको बताए । आफूले भ्रष्टाचार बिरुद्ध निरन्तर आवाज उठाएको र आउने दिनमा पनि उठाई रह्ने लम्सालले अठोट व्यक्त गरे । त्यस्तै रोजगारी नपाएर युवाहरु हातमुख जोर्नकै लागि वैदेशिक रोजगारीका लागि पलायन भईरहेका छन्, शिक्षाको अवस्था कमजोर नै छ, महिला सशक्तिकरणका लागि खासै पहल भएको छैन यी यावत समस्याहरु समाधान गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए ।