काभ्रे । जिल्लाको विकट भूगोलका रूपमा चिनिँदै आएको महाभारत गाउँपालिकाको विकास, कृषि प्रवद्र्धन तथा सुशासनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महाभारत गाउँपालिकाका अध्यक्ष कञ्चनलाल जिम्बा ‘४० मुनिका ४० प्रभावशाली युवा–२०८३’ को सूचीमा परेका छन्।
अनलाइन खबरले विगत तीन वर्षदेखि सार्वजनिक गर्दै आएको ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’को सूची यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सार्वजनिक गरिएको हो। १०० जना सामाजिक सञ्जालकर्ताको सिफारिस तथा पूर्व न्यायाधीशहरूको स्वतन्त्र मूल्याङ्कनका आधारमा समाजमा सकारात्मक प्रभाव पारिरहेका युवाहरूलाई छनोट गरिएको आयोजकले जनाएको छ।
ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले जिम्बालाई अवार्ड प्रदान गरेका थिए। स्थानीय तहमा रहेर समाजमा प्रभावकारी भूमिका निर्वाह गरेको योगदानलाई उहाँको छनोटको प्रमुख आधारका रूपमा लिइएको छ।
महाभारत गाउँपालिकाको नेतृत्व सम्हालेयता जिम्बाले जिल्लाको विकट क्षेत्रमा रहेको गाउँपालिकालाई सहज र व्यवस्थित बनाउने उद्देश्यले सडक, विद्युतीकरण, खानेपानी, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा पूर्वाधार विकास र सेवा विस्तारलाई प्राथमिकता दिँदै आएका छन्।
विशेषगरी कृषि क्षेत्रको विकासमा जिम्बाको नेतृत्वमा महाभारतले नयाँ पहिचान बनाउने प्रयास गरेको छ। स्थानीय किसानलाई उत्पादनतर्फ प्रोत्साहित गर्दै गाउँपालिकाले कफी खेती प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने र महाभारतको पहिचानलाई फराकिलो बनाउने उद्देश्यले कफी खेती विस्तारमा जोड दिइएको हो।
त्यसैगरी गाउँपालिकाको सुशासन र वित्तीय अनुशासनका क्षेत्रमा समेत महाभारतले उदाहरण प्रस्तुत गरेको छ। महालेखा परीक्षकको कार्यालयबाट भएको लेखापरीक्षणमा गाउँपालिका लगातार तेस्रो पटक शून्य बेरुजु कायम गर्न सफल भएको जनाइएको छ। स्थानीय तहमा वित्तीय अनुशासन, पारदर्शिता र सुशासन कायम गर्ने प्रयासमा अध्यक्ष जिम्बाको नेतृत्व महत्वपूर्ण रहेको गाउँपालिकाले जनाएको छ।
विकट भूगोल, सीमित स्रोतसाधन र चुनौतीपूर्ण अवस्थाबीच स्थानीय सरकारमार्फत विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयासका कारण जिम्बाको छनोटले स्थानीय तहबाट भइरहेका सकारात्मक अभ्यासलाई राष्ट्रियस्तरमा समेत उजागर गरेको छ।
सम्मान प्राप्त गरेपछि अध्यक्ष जिम्बाले आफूलाई ‘४० मुनिका ४० प्रभावशाली युवा’को सूचीमा छनोट गरी सम्मान गरेकोमा आयोजक अनलाइन खबर, मूल्याङ्कन समिति तथा सम्पूर्ण सम्बन्धित महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
उनले समाज र राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर निरन्तर गर्दै आएको प्रयासलाई मूल्याङ्कन गरी प्राप्त भएको सम्मानलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नलिई आगामी दिनमा अझ जिम्मेवार, प्रतिबद्ध र सकारात्मक भएर अघि बढ्ने प्रेरणा र जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
‘यो सम्मान मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, मलाई निरन्तर साथ, हौसला र प्रेरणा दिनुहुने परिवार, साथीभाइ, शुभेच्छुक तथा सम्पूर्ण समर्थकहरूको पनि सम्मान हो,’ जिम्बाले भने।
राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिबीच सम्मानित हुन पाउनु आफ्ना लागि अविस्मरणीय र गौरवपूर्ण क्षण भएको उनले बताए।
जिम्बाले आगामी दिनमा प्राप्त सम्मानको गरिमा कायम राख्दै समाज र राष्ट्रका लागि अझ अर्थपूर्ण, सकारात्मक र जिम्मेवार योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
‘सम्मानले खुशी मात्र होइन, अझ राम्रो गर्ने जिम्मेवारी पनि थपिदिन्छ,’ जिम्बाले भने।
महाभारतजस्तो विकट भूगोलमा स्थानीय सरकारको नेतृत्व गर्दै विकास, कृषि, सेवा प्रवाह र सुशासनका क्षेत्रमा गरिएका प्रयासलाई राष्ट्रियस्तरको सम्मानले थप हौसला प्रदान गरेको छ। जिम्बाको सम्मानले दुर्गम क्षेत्रबाट पनि प्रभावकारी नेतृत्व र सकारात्मक परिवर्तनको सम्भावना रहेको सन्देश दिएको छ।