बनेपा/काभ्रे जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष मानविर लामाले बिहीबार पदभार ग्रहण गरेका छन्। बनेपा -६, बुडोलस्थित समितिको कार्यालयमा लामाले पदभार ग्रहण गरेका हुन्। बाग्मती खेलकुद विकास परिषद्ले रोशी गाउँपालिका -५ निवासी लामालाई ४ वर्षका लागि असार २० गते अध्यक्षमा पुनः नियुक्त गरेको हो। यसअघि २ कार्यकाल समितिका अध्यक्षको जिम्मेवारी सम्हालि सकेका लामा राजनीतिक पृष्ठभूमिबाट आएका हुन्।
यसअघि खेलकुद महोत्सव, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायत जिल्लामा विभिन्न खेलकुद सम्बन्धि गतिविधिहरु सफलता पूर्वक संपादन गरेका अध्यक्ष लामाको पहलमा जिल्ला खेलकुद विकास समितिकाे आफ्नै भवन निर्माण गरेका थिए। बागमती प्रदेश सभा सदस्य रत्न ढकाल खेलकुद मन्त्री हुँदा अध्यक्ष लामाको अनुरोधलाई स्वीकार गर्दै भवन निर्माणको लागि बजेट बिनियोजन गरेका थिए। हाल आफ्नै भवनमा कार्यालय सञ्चालन भइरहेको छ।
पदभार ग्रहण कार्यक्रममा लामाले वार्षिक क्यालेन्डर तयार गरी काभ्रे जिल्लाको खेलकुदलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै भवनको बाँकी अधुरा कामहरुलाई संपन्न गर्ने जानकारी दिनुभयो। तेश्रो पटक नियुक्ति भएका अध्यक्ष लामाले आगामी योजना र विगतका गतिविधिका बारेमा जानकारी दिएका थिए । मानविरलाई पहिलो पटक २०७६ जेठमा नियुक्ति गरिएको थियो । दुई दुई वर्षको कार्यकाललाई यो पटक चार वर्षको बनाईएको छ । खेल क्षेत्रमा अझै धेरै कार्य गर्न बाँकी रहेको अध्यक्ष मानविरले बताए । तेश्रो कार्यकालमा काभ्रेपलाञ्चोक जिल्लाको खेलकुद क्षेत्रलाई शशक्त बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका समितिका पुर्व अध्यक्ष तथा बनेपा नपा -६ का वडाध्यक्ष सचितानन्द केसीले बधाइ ज्ञापन गर्दै खेलकुद क्षेत्रलाई बुझेका र अनुभवीलाई नै पुनः नियुक्ति दिनु प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले हिजो आफ्नो पालामा स्रोत र साधनको अभाव थियो त्यसका बाबजुद जिल्ला खेलकुद विकास समितिलाई जनमानसमा चिनाउने काम आफ्नो पालामा भएको जानकारी दिनुभयो। भवनको लागि जग्गा उपलब्ध गराउन आफुले पहलकदमी लिएको स्मरण गर्नुहुँदै लडाइ लडेरै खेलकुदलाई यहाँसम्म ल्याइ पुर्याउन सफल भएको तथा भवनलाई व्यवस्थित गर्न र कभर्ड हल बनाउन वडाको बजेट हालेर सहयोग गरेको जानकारी दिनुभयो।
कार्यक्रममा कार्यालय प्रमुख बलराम शर्मा, आईटिएफका किशोर बरुण, फुलकन्ट्याक्ट कराँतेका गोविन्दलाल श्रेष्ठ, कराँते प्रशिक्षक ओमप्रकाश नकर्मी, तेक्वान्दो प्रशिक्षक फिरोज शाक्य, तेक्वान्दो प्रशिक्षक राकेश भोक्षिभोया, बक्सिङ्गका बरिष्ठ प्रशिक्षक किरण बहादुर कार्की, उसु प्रशिक्षक नमोराज लामा, विजय सुन्दर सैँजु, तेक्वान्दो प्रशिक्षक रामचन्द्र कर्माचार्य, भिमबहादुर कर्माचार्य, कराँते महासंघका श्याम कुँवर, गौतम मानन्धर, कविरकुमार रञ्जितकार लगायतले शुभकामना दिएका थिए ।
बागमतीका ६ जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त
हेटौंडा/बागमती प्रदेश खेलकुद विकास परिषदले विभिन्न ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।
परिषदले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष २० असारमा नियुक्त गरेको हो । चितवन, नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, दोलखा र रामेछाप जिल्लामा अध्यक्ष नियुक्त गरिएको छैन ।
६ जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच भागबण्डा गरेर अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ ।
प्रदेशको युवा तथा खेलकुद मन्त्री एकीकृत समाजवादीकी रमा आले मगर र परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले ४ जिल्ला अध्यक्ष माओवादी केन्द्रलाई र २ जिल्ला अध्यक्ष एकीकृत समाजवादीलाई भागबण्डा लगाएर अध्यक्ष नियुक्त गरेका हुन् ।