ज्ञानबहादुर थोकर
धुलिखेल/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० काभ्रेले खोज पत्रकारिता र डिजिटल मिडिया सम्बन्धी तीन दिने पत्रकारिता तालिम शुरु गरेको छ ।
तालिमको उदघाटन रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गर्नुभयो । पालिका अध्यक्ष लामाले समावेशी र पहिचानको मुद्दा ओझेल पर्दै गएको अवस्थामा यो तालिमले जनजातिको पक्षमा कलम चलाउन सहयोग पुग्ने बताउनुभयो । लामाले भोलिका दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै लामाले आदिवासी जनजातिहरुको पहिचान, भाषा तथा संस्कृतिको खोज र अनुसन्धानका लागि आगामी पुस्ताले सिक्नुपर्ने थुप्रै विषयहरुलाई समेटेर तालिम आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । पछिल्लो समय प्रविधिका कारण भाषा र संस्कृति लोप हुँदै गएको, पहिचान हराउँदै गएको तथा आदिवासी जनजातिहरू झन् पछि पर्दै गएको अवस्थामा फोनिज काभ्रेले बदलिँदो अवस्थाको डिजिटल माध्यमसँग खोज पत्रकारिता आयोजना गरेर नयाँ पुस्तालाई जानकारी गराउनु सहनिय भएको बताउनु भयो । पालिका अध्यक्ष लामाले तालिमले जनजाति समुदायको सवालमा काम गर्न थप हौसला प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष अमरध्वज लामाले फोनिजलाई जातिवादी संगठनका रुपमा नहेर्न अनुरोध गर्नु भयो । पत्रकार महासंघ तथा राजनीतिक दलका भातृ संगठनहरुले समेत फोनिजलाई फरक ढंगबाट हेरेको बताउँदै लामाले पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिहरुका समस्या, पहिचानको मुद्दा तथा आयआर्जनमा जोड्ने गरी खोज पत्रकारिता गर्न तालिम महत्त्वपूर्ण हुने बताउनु भयो । लामा फोनिज काभ्रेको संस्थापक अध्यक्ष समेत हुन् ।
तालिमको उद्घाटन कार्यक्रममा रोशी गाउँपालिकाका वडा अध्यक्षहरु श्रीदास लामा, अशोक कुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, फोनिजका इन्चार्ज पेमा लामा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका अध्यक्ष सन्तोष चौलागाई लगायतले तालिमले खोज पत्रकारितामा सहयोग पुग्ने अपेक्षा सहितको शुभकामना राखेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव सुरज श्रेष्ठले संचालन गरेका थिए । उपाध्यक्ष कृष्णबहादुर लामाले स्वागत मन्तव्य राख्नुहुँदै तालिमको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।
तालिममा जिल्लाका क्रियाशिल तथा पत्रकारिता क्षेत्रमा प्रवेश गर्दै गरेका गरी ३० जना जनजाति प्रशिक्षार्थी सहभागी रहेका छन् । तालिम २६ गतेसम्म चल्नेछ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा फोनिज काभ्रेले तालिमको आयोजना गरेको हो ।