काभ्रे/जिल्लाका सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । निर्वाचित जनप्रतिनिधिले पदभारसमेत ग्रहण गरिसकेका छन् ।
अघिल्लो पटक ४ पालिकामा मात्र प्रमुख र उपप्रमुख जितेको कांग्रेसले यसपटक जिल्लाका १३ वटा पालिकामध्ये ७ वटामा प्रमुख र ६ वटा उपप्रमुख जितेको छ । एमालेले एक नगरप्रमुख र ३ नगर उपप्रमुखमा मात्र चित्त बुझाउनुपरेको छ । माओवादी केन्द्रले आफ्नो पुरानै हैसियतमा २ पालिका प्रमुख र ३ उपप्रमुख थप गरेको छ भने नयाँ पार्टी एकीकृत समाजवादीले १ प्रमुख पाएको छ ।
यसपटक एमालेले काभ्रेमा आफ्नो हैसियत गुमाएको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले ७ पालिकाहरु मन्डनदेउपुर, बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिकामा प्रमुख–उपप्रमुख तथा भुम्लु र खानीखोला गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो । यसपटक धुलिखेल नगरपालिकामा प्रमुख तथा पाँचखाल, बनेपा र पनौतीमा उपप्रमुखमा सिमित रहन पुगेका छन् । यस पटक भने एमालेले आफ्नो विरासत जोगाउन सकेन ।
कांग्रेसले ०७४ को चुनावमा कांग्रेसले तिमाल, रोशी, बेथान्चोक गाउँपालिका अध्यक्ष उपाध्यक्ष र पाँचखाल नपामा प्रमुख उपप्रमुख जितेकोमा यसपटक बनेपा, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिकामा नगरप्रमुख तथा मण्डन देउपुर र धुलिखेलमा उपप्रमुख जितेका छन् । यसैगरी तिमाल, रोशी र बेथानचोक गाउँपालिकामा अध्यक्ष र भुम्लु, चौंरीदेउराली, महाभारत, खानीखोलामा उपाध्यक्ष जितेका छन् ।
०७४ मा माओवादीको चौंरीदेउराली र महाभारत गाउँपालिकामात्र जितेकोमा यसपटक चौंरीदेउराली, महाभारत, भुम्लु र खानीखोला थप गरी ४ वटा प्रमुख जितेको छ । एकीकृत समाजवादीले मन्डनदेउपुर नगरपालिकाको प्रमुख मात्र जितेको छ ।
निर्वाचनअघि एमाले नेता कार्यकर्ताहरुले यसपटक पनि काभ्रेका ७ स्थानीय तह जित्ने आँकलन गरेका थिए । उनीहरूको आँकलन फेल खायो । एमालेले जितेका पालिकाहरु धुलिखेल बाहेक सबै पालिका एमालेबाट गठबन्धनले खोसेको छ ।