बनेपा । तेक्वान्दो खेलमा प्रशिक्षण लिइरहेका खेलाडीहरुलाई समय र परिस्थिति अनुसार परिमार्जन हुँदै गएको खेलको प्राविधिक ज्ञान बारेको प्रशिक्षण प्रदान गर्न आयोजना गरिएको सेमिनार संपन्न भएको छ । काभ्रे (आईटिएफ) तेक्वान्दो एकेडेमीले तेक्वान्दो खेलाडीहरुलाई प्राविधिक कोर्ष तथा प्रशिक्षण गोष्ठी कार्यक्रम आयोजना गरेको हो । एक समारोहका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एकेडेमी हलको पनि उद्घाटन गरेको छ ।
तेक्वान्दो खेलाडीहरुका लागि प्राविधिक कोर्ष तथा गोष्ठीको समापनमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको विकासको लागि अनवरत रुपमा खटिने खेल प्रशिक्षकहरुको देनको कारण काभ्रे जिल्लामा खेल क्षेत्रले विकास गर्दै अगाडि बढेको बताउनुभयो । ‘खेल प्रशिक्षकहरुको अथक मेहनतको अगाडी राष्ट्रिय खेलकुद परिषद्ले सोचजस्तो सहयोग गर्न नसकेपनि सामान्य रुपमा गर्दै आएको सहयोग निरन्तरता रहनेछ । उहाँले भन्नुभयो, ‘गोष्ठीको लागि पनि सहयोग गरेका छौं, आगामी दिनमा थप सहयोगको लागि परिषद् प्रयत्नरत छ । आफ्नो निजी जग्गामा विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको सहयोगमा प्रशिक्षण हल निर्माण गर्नु खेलप्रतिको समर्पण भाव रहेको पुष्टि गरेको उहाँले बताउनुभयो । सो क्रममा उहाँले संसारभरि चिनिने भनेको खेलकुदको माध्यम भएकाले खेलमा सहभागी खेलाडीहरुलाई खेलप्रतिको चाहनालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि बजेट विनियोजन गरिसकेको बताउनुभयो । ‘अब हामी योजना बनाएर सबैखाले खेल क्षेत्रको विकासका लागि खेलकुदसंग सम्बन्धित संघसंस्थाहरुसंग समन्वय गरेर काम गर्दैछौं ।’ उहाँले भन्नुभयो, ‘त्यसबाहेक जिल्ला, प्रदेश र संघस्तरीय कार्यक्रम आयोजना गर्ने अवस्थामा नगरपालिका सधैं साथमा हुनेछ । सो क्रममा उहाँले खेलसंगै अध्ययनलाई पनि उतिकै ध्यान दिन खेलाडीहरुलाई आग्रह गर्नुभयो । सोही अवसरमा बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले नगरभित्रका १० जना खेलाडीलाई यस आर्थिक बर्षबाट शैक्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष अञ्जन धमलाले तेक्वान्दो डोजाङबाट एकेडेमी बनाएर प्रशिक्षण दिदै आएको काभ्रेका तेक्वान्दो खेलाडीहरुलाई अब खुल्ला आकाशमुनि प्रशिक्षण दिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले प्रशिक्षार्थी खेलाडीहरुलाई राम्रो प्रशिक्षण प्रदान गर्न प्रशिक्षकहरुलाई आग्रह समेत गर्नुभयो । तोक्वान्दोको विकास गर्नका लागि स्थानीय सरकारको सहयोगमा राम्रो खेलाडीको उत्पादन गर्नसक्नु पर्नेमा उहाँले जोड दिनुभयो । राज्यले खेलकुदलाई प्राथमिकतामा नराखेको र त्यसमा पनि तेक्वान्दो प्रशिक्षक राज्यले नराखेको अवस्थामा आफ्नो अस्तित्वको लागि लडिरहनुपरेको बताउनुभयो । सो क्रममा उहाँले खेलकुदको पूर्वाधार निर्माण गरेर असार र साउनमा पनि खेलाडीहरु निर्धक्कसाथ प्रशिक्षण लिन पाउने अवस्था सिर्जना गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
काभ्रे आईटिएफ तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठले आईटिएफ तेक्वान्दोका खेलाडीहरुमा भएको प्रतिभालाई बाहिर प्रष्फुटन गर्नको लागि आवश्यक वातावरण निर्माण गर्दै बदलिदो अवस्थामा नयाँ परिमार्जन भएर आएको प्राविधि ज्ञान दिलाउनको लागि गोष्ठीको आयोजना गरेको बताउनुभयो । खेलाडीहरुको खेल कौशलको लागि पुर्नताजकी गर्न बनेपामा आयोजना भएको सेमिनारमा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको डोजाङहरु लगायत भक्तपुरबाट समेत गरी करिब दुई सय जना खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समाजसेवी अशोक श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, बनेपा नपा–५ का वडाध्यक्ष बलराम अधिकारी लगायतले खेलकुद विकासको बारे आ–आफ्नो विचार राखेका थिए ।
सो अवसरमा काभ्रे आइटिएफ तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं प्रशिक्षक राजमन्दिर श्रेष्ठको नेतृत्वमा करिब २८ लाख लागतमा निर्माण गरेको हलको उद्घाटन गर्नुभएको छ ।