पाँचखाल÷पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि ७९ करोड, ९३ लाख ९८ हजार बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको नगरसभाले प्रशासनिक खर्च १५ करोड, पुँजीगत तथा कार्यक्रम खर्चको लागि ३२ करोड ७५ लाख, शशर्त योजना, समपुरक तथा विषेश तर्फ ३२ करोड १८ लाख अन्ठानब्बे हजार गरी आर्थिक बर्ष २०८०/०८१ को लागि ७९ करोड, ९३ लाख ९८ हजार बजेट प्रस्तुत गरिएको हो ।
नगर प्रमुख महेश खरेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवती मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न विशेष पहल गरिने उल्लेख छ । त्यस्तै रासायनिक विषादी न्यूनीकरण गरी हरित उत्पादनमा जोड दिनुका साथै गुणस्तरीय वानस्पतिक विषादी घर घरमा बनाउने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने, कृषिमा महिलाको पहुँच वृद्धि गर्न हरित महिला औद्योगिक ग्राम संचालन कार्यलाई केन्द्र विन्दुमा राखिने, पाँच वर्षभित्र बहुउद्देश्यीय सुविधा सम्पन्न चिस्यान केन्द्र स्थापनाका लागि पहलकदमी लिईने, स्थानीय उत्पादित कृषि तथा वनमा आधारित कच्चा पदार्थको प्रयोग गर्ने नयाँ उद्योगहरुलाई सञ्चालनमा आएको २ वर्षसम्म सत प्रतिशत स्थानीय करमा छुट दिने र थप ३ वर्षसम्म ५० प्रतिशत करमा छुट दिने नीति लिइने तथा कम्तिमा १० जना स्थानीयलाई सो अवधिभर रोजगारी दिने नयाँ उद्योगहरुलाई समेत सोही सरहको सुविधा उपलब्ध गराइने उल्लेख छ । त्यस्तै ५० जना भन्दा बढी स्थानीयहरुलाई रोजगारी दिने नयाँ स्थापना हुने उद्योगहरु सम्म पहुँच मार्ग, विद्युत्त तथा पानीको व्यवस्था गरिने, एक वडा एक उद्योग स्थापना र सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी लगानीकर्ताहरुलाई आकर्षित गर्न सुविधा दिई लगानी सम्मेलनको आयोजना गरिने नगर प्रमुख खरेलले जानकारी दिए ।
नीति तथा कार्यक्रममा नगरले जनस्वास्थ्यलाई विशेष प्राथमिकता दिनुका साथै मोतियाबिन्दुको निःशुल्क स्क्रिनिङ्, अप्रेशन, बृद्ध असक्त र सुत्केरी महिलाहरुको लागि निःशुल्क एम्वुलेन्स सेवा, गर्भवती महिलाहरुलाई निःशुल्क युएसजी सेवा, क्याल्सियम, फोलिक एसिड निशुल्क रुपमा वितरण, मानसिक रोगको निशुल्क परिक्षण, वृद्धवृद्धाहरुलाई निःशुल्क दाँत राख्ने, परामर्श तथा उपचार, नसर्ने रोगको निदानका कार्यक्रमहरु सञ्चालन गर्ने, निःशुल्क पाठेघर जाँच तथा शल्यक्रिया ल्याव विस्तार तथा नगरको पोषणको अवस्थालाई सुधार गर्न आवश्यक कार्यक्रमहरु निर्धारण गरिने जनाएको छ । त्यस्तै नगर क्षेत्र भित्र पशुपंक्षीको स्वास्थ्य परिक्षणको र खोपको लागी सार्वजनिक निजी साझेदारीमा प्रयोगशाला निर्माण गरिने, विभिन्न कारणले रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केका नगरवासीले उद्योग तथा व्यवसाय सञ्चालनार्थ बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याजमा यस नगरपालिकाको समेत संलग्नता रहन सक्ने गरी बैंक तथा वित्तिय संस्थासँग समन्वय गर्दै उद्यमशिलतामा जोड दिइने उल्नेख छ ।
पाँचखाल नगरपालिकाको सबै वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्था महत्वपूर्ण, धार्मिक स्थल एवं वस्तीहरुमा पक्कि सडकको पहुँच पु¥याउने गरी योजना तर्जुमा गरिने नगरको योजना छ ।
नगरसभामा पालिका उपप्रमख सुर्यमाया दनुवारले बजेट प्रतुत गरेकी थिईन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, नगरका प्र्रवक्ता, नगरका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्य, नगर सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।