वैदेशिक रोजगार विभागले आकर्षक तलबको लोभ देखाएर नेपाली युवा युवतीलाई केयर गिभर (दीर्घकालीन साहारा केन्द्रमा ६५ वर्ष ननाघेका गम्भिर अपाङ्गता भएका व्यक्तिहरुको स्याहार) सुुसारको लागि काम गर्नुपर्ने शर्तमा विज्ञापन गरेर नेपाल सरकार युद्धरत राष्ट्र इजरायलमा नेपालीका छोराछोरीलाई पठाउन चाहेको छ । हाल इजरायल र हमासबीच युद्ध चर्केको बेला इजरायलमा नै रोजगारीको सुरक्षा छ भनेर विज्ञापन गरेको भरमा त्यहाँको युद्धमा पिल्सिएका जनताहरु आफ्नो ज्यान जोगाउन धौ धौ परेको बेला नेपालीलाई विदेश जान खुल्लम खुल्ला यो विज्ञापन आउनु आश्चर्यचकित नै बनेको छ । श्रम सम्झौता गर्नु अघि उक्त देशमा चर्केको युद्धको बारेमा नेपाली पक्षबाट सम्झौता गर्ने कार्य गर्नु कति उचित छ ? सम्झौता भएका कार्यान्वयन भइरहेको त्यहाँको द्धन्द्धले असर गर्दैन र ? कामदारलाई इजरायली रोजगार दाताले उच्च प्राथमिकतामा राखेको जस्तो गैर जिम्मेवार कुरा गरी देशमा रोजगार सिर्जना गर्न नसक्ने लाचार सरकारले जताततै रोजगारको नाममा नेपाली युवालाई विदेशतर्फ घचेट्ने दुष्प्रयासबाट नेपालको कहिल्यै उन्नती हुन सकेन ।
विगतका वर्षहरुमा कृषि क्षेत्रको लोभलाग्दो अवस्थामा शक्ति केन्द्रका आडमा इजरायलमा जाने र त्यहाँ काम गर्ने अवस्थालाई एउटा गतिलो रोजगारको रुपमा हेर्ने गरिन्थ्यो तर आज इजरायल देश जो आफ्नै ठेगान छैन सबै क्षेत्रबाट युद्धको चपेटामा परेर ऊ आफै कसरी जोगिने र कसरी इजरायलको अस्तित्व जोगाउने भन्ने सोचमा दिनरात युद्धमा होमिइरहेको देशमा वैदेशिक रोजगार विभागले राजगार दिने भनेर युद्ध चर्केको देशमा नेपाली आमाका सन्तानलाई किन रोजगारको नाममा लोभ देखाएर लैजान खोज्दै छ ? देशमा रोजगारी दिन नसक्ने कृषि, पशुपालन लगायत उत्पादन क्षेत्रसँग युवालाई आफ्नै देशमा जोगाउन काम लगाउन नसक्ने हुतिहारा सरकार रोजगारको नाममा इजरायल पठाउन किन हतारो गर्दैछ ? इजरायलमा नेपाली कामदारको सुरक्षा हुन्छ भनेर कसरी प्रमाणित गर्न सकिन्छ ? इजरायल देश आफैमा सम्पन्न होइन उसले अमेरिकाबाट सहयोग र साथ नपाउने हो भने इजरायल एकछिन पनि टिक्न सक्दैन र टिक्न सक्ने आधार छैन पनि सँगै जोडिएका गाँजा क्षेत्र र हमासका कारण इजरायलको निद हराएको यो अवस्थामा युद्ध चपेटामा परेको देशमा उक्त देशमा सिधा नेपाली जनताको छोराछोरी रोजगारको लागि लान खोज्नु भनेको कुनै पनि हालतमा नेपालको हित गर्नु होइन । इजरायलमा पैसठी वर्ष उमेर नपुगेको अपांगता भएका व्यक्तिको हेरचाह गर्ने भन्नु कतै युद्धबाट घाइते भएको व्यक्तिको लागि त होइन ? प्रश्न गम्भिर छ यो देशमा भारत तथा अमेरिकाको जुठो पुरोमा आफ्नो भविष्य देख्ने र सन्ततीको उज्जवल जिन्दगी नसोच्ने दलालहरुको खेलबाट सबै नेपाली जनतालाई पंगु बनाउने काममा कहिल्यै लाग्नु हुन्न भनेर सोचेको पाइदैन ।
अ.न.मि.तथा सि.एम.ए. पढेका व्यक्ति नर्सिङ कोर्ष पुरा गरेको योग्यता चाहिने भन्नु युद्धमा घाइते भएका व्यक्तिलाई उपचार गर्नु सक्ने क्षमता भएको व्यक्ति खोजेको हुनुपर्छ । वैदेशिक रोजगार विभागबाट आकर्षक तलबको लोभ देखाएर फेरी नेपाली आमाबुबालाई आँखामा छारो हाल्न खोजेको हुन सक्छ । इजरायल तथा गाजा क्षेत्रको युद्धमा वेपत्ता बनाइएका विपीन जोशीको बारेमा यो सरकारबाट कति पहल भयो ? विपीन कृषि क्षेत्रमा रोजगार लिन इजरायल गएका व्यक्तिलाई आजसम्म इजरायलबाट कुनै पनि पहल वा सकारात्मक खोजी गर्ने कार्यमा नेपाल सरकारले कति गम्भिर भएर कुरा उठायो ? विपीनको बारेमा कहाँ कहाँ कुटनैतिक पहल गरियो ? आजसम्म विपीनको अत्तोपत्तो छैन र परिवारलाई समेत जवाफ दिन सक्ने अवस्था छैन । नेपाल सरकार एउटा विपीन पत्ता नलगाउनेले इजरायलमा आठ सय कामदारको कुनै ग्यारेण्टी लिन सक्छ ? सक्दैन । आफ्नो अस्तित्व जोगाउन हम्मे हम्मे परेको इजरायल वरिपरी इरान लगायत देशबाट घेरिरहेको अवस्थामा नेपाली कामदार माग्ने र विदेश पठाउने काम बन्द गरिनुपर्छ । इजरायलको आफ्नै भविवष्यको ठेगान छैन भने अरु देशका कामदारलाई कति सुरक्षा दिन सक्छ ? जवाफ छ, वैदेशिक रोजगार विभागसँग ?
अब वैदेशिक रोजगारको नाममा नेपाली आमाको छोराछोरी जाने होइन । विदेश जाँदैमा सुन फल्दैन विदेशमा नारकीय जिवन बिताएर पैसा कमाउँदैमा हामी सफल नेपाली बन्न सक्दैनौं । अब विदेश जाने सोचबाट नेपाली युवा युवतिले यो देशमा नै रोजगार पाउने सिर्जना गर्नको लागि कृषि उत्पादनमा लाग्नु बाहेक विकल्प छैन । हाम्रो देशको माटोमा अन्न फलाउने, तोरी बाली लगाउने, पशुपालन गर्ने हो भने देशलाई आर्थिक रुपमा सम्पन्न गरि माथि पु¥याउन सकिन्छ । नेपालमा जो सत्तामा गएपनि जो मन्त्री भएपनि नेपाली आमाका सोझा सिधा छोराछोरीलाई आत्मनिर्भर बनाउन रोजगार सिर्जना गर्न नसक्ने अपराधिक मानसिकता बोकेका राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता र सरकारबाट के आशा राख्ने ? अब यो देशमा नै उत्पादन गर्ने, नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा लाग्ने गर्दा धेरै नै ठुलो फड्को मार्न सक्छ यो देशले । नेपाली जनतालाई झुक्काएर, युद्धरत देशमा पठाउनु भनेको सरकारको लाचारीपना हो । आज यो देशमा मोज गर्ने भनेको दलाल जो मालिकको सधै सेवा गर्ने भष्ट्राचारी नै हुन् । नेपाली जनताले पत्याउन नालायक राजनीतिक पार्टीले गर्दा देश धुरुधुरु रोएको छ । राजनीतिक पार्टी र नेता गतिलो नहुँदा यो देशमा अधिकाँश स्थानीय तह, प्रदेश लगायत, संघिय सरकार आज जनताको नजरबाट गिरेको छ ।
इजरायलमा रोजगार पाउने लोभमा फसाएर हाम्रा सन्तती किन पठाउने ? अब यही देशमा केही गर्नु छ जाहाँ काम त्यहाँ दाम अवश्य मिल्छ तर यही देशमा रोजगारको सिर्जना गरी नेपाली युवा युवतीलाई कृषि, पशुपालन व्यवसाय, उद्योगको रुपमा काम गर्ने योजना ल्याउने हो भने यहाँ सबै युवा युवतीले काम पाउने सक्ने धेरै आधारहरु छन् । युद्धरत देशमा आठ सयको माग गरेर पठाउने कार्यमा सबै क्षेत्रबाट विरोध प्रदर्शन गर्नु जरुरी छ । इजरायल हिजोको होइन, इजरायल आजको हो, आजको इजरायल हेरेर रोजगारमा पठाउन सरकार तथा इजरायलमा सम्झौता गरेको भरमा नेपाली कामदारको भविष्य सुनिश्चित हुने कुनै वैज्ञानिक आधार दिन नसक्ने अवस्था वर्तमान इजरायलमा चलेको युद्धबाट प्रमाणित हुने हुँदा यसमा सबैको ध्यान जानु अत्यन्त जरुरी देखिन्छ ।