काठमाडौं/नेपाल वाङ्मय परिषद्, धनगढी कैलालीद्वारा आयोजित कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ। परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द अर्याल ‘श्रृङ्खला’ले गर्नुभयो।
समारोहमा प्रमुख अतिथि रूपमा पूर्व पशुपक्षी मन्त्री तथा साहित्यकार शान्ता मानवी सहभागी हुनु भयो।
कार्यक्रममा डा. हरिप्रसाद भण्डारीलाई ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१’ प्रदान गरिएको थियो। सम्मानित स्रष्टा डा. भण्डारीको कृतित्व, व्यक्तित्व र योगदानबारे शेखर अर्यालले प्रकाश पार्नुभएको थियो।
सोही अवसरमा परिषद् अध्यक्ष डा. पुष्करराज भट्टद्वारा लिखित छठौं कृति ‘आमा धरती बाबु आकाश’ विमोचन गरिएको थियो। कृतिको समीक्षा गर्दै डा. शेखरकुमार श्रेष्ठले यसमा अनुभूति, संवेदना, संघर्ष र मानवीय पक्षहरू सशक्त रूपमा प्रस्तुत गरिएको बताउँदै केही सामान्य कमजोरी भए पनि कृति स्तरीय र पठनीय रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा दीपक लोहनी, नवराज रिजाल, डा. टीकाराम पोख्रेल, मातृका पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। विमोचित कृतिका रचना लघुकथाकार किशन पौडेल, मनीषकुमार शर्मा समित्, इन्दिरा चापागाईं, ध्रुवराज थापा र शान्ता तिम्सिनाले वाचन गर्नुभएको थियो।
समारोहमा मन्तव्य दिँदै प्रमुख अतिथि शान्ता मानवीले आफू राजनीतिक क्षेत्रमै बढी क्रियाशील भए पनि साहित्यप्रतिको लगाव सधैं रहेको उल्लेख गर्नुभयो। उहाँले साहित्यले समाज र राजनीतिलाई सही दिशा दिन सक्ने धारणा राख्नुभयो।
कार्यक्रम बिहान ८:३० बजे सुरु भई १०:३० मा समापन भएको थियो।