-अधिवक्ता दीपक जंगम
राज्यको प्रमुख अंग सरकार निडर, कानूनी शासनमा अडिग, निश्पक्ष, जनतामा केही गरौं भन्ने भावनाको हुनुपर्ने निश्चित हो । सरकारमा जाने प्रत्येक मन्त्रीहरु आफ्ना मन्त्रालयको दायित्व र कर्तव्य प्रति सचेत भएर लाग्नुपर्ने आवश्यकता पनि हो । देशमा जनता सार्वभौम सम्पन्न बन्नुपर्छ र सरकारले त्यसको लागि कटिबद्ध भएर अगाडि बढ्यो भने जनतामा एउटा सुख तथा खुशिको अनुभुती पनि हुन जान्छ । आदिम कालदेखि मानिस प्राणी जगतको उत्कृष्ट प्राणी हो । ठिक बेठिक अन्याय न्याय, राम्रो, नराम्रो असल खराब, सत्य असत्य बुझाउन सक्ने कुशल प्राणीको रुपमा मानिसको जन्म भएको हुन्छ । जन्मेपछी मृत्यु निश्चित छ । जनतालाई जन्मदेखि नै दुखै दुखमा राख्नुपर्ने र बाँच्नुपर्ने अवस्था आयो भने राज्यमा भएका कुनैपनि शक्तिको कुनै अर्थ छैन । राज्य चलाउने सरकार कमजोर बन्दै गयो देशमा भष्ट्रचारको जालो बढ्दै गयो भने जनतामा न्याय पर्दैन । देशमा असमानता हटाउन र सु– शासन दिनबाट राज्य विचलित बन्दै गयो भने जनताको विश्वास हराउँदै गई सरकार प्रति उदासिनता छाउँछ । आज देशको बारेमा चिन्ता लिने युवा वर्ग विदेशी भूमीमा रोजगारीको नाममा पसिना बगाउँदैछन् । देशमा उद्योग कल कारखाना रोजगार नहुँदा देशमा बस्ने सक्ने अवस्था छैन र सरकार पनि त्यसप्रति चिन्तित छैन नै । देशमा व्याप्त भष्ट्राचारको कारण सरकार जनताबाट ओझेलमा पर्दैछ । विभिन्न प्राकृतिक प्रकोपबाट थिचिएका भुँइ मान्छेको आफ्नो कोही छैन त्यहाँ स्थानीय सरकारको उपस्थित शुन्य प्राय छ भने सामाजिक संघ संस्थाको नामबाट गरिएका सहयोगको भरपर्दो आधार निर्माण हुन सकेको छैन ।
वर्तमान मुलुक कोमामा पुग्दा त्यसको जिम्मा कसले लिने ? जनता साँच्चै सुखी छन् ? देश साँच्चै समृद्ध छ त ? नेता निश्पक्ष छन् त ? सरकार जनताको साकार बन्न सकेको छ त ? कुनै पनि क्षेत्रमा नेपाली नागरिकहरुको सुरक्षा छैन यो त धु्रव सत्य हो नी ? हामी हाम्रो देशमा अभागी जनता, नेताहरु धनी, कुवेर तर जनता सुकुम्वासी र अति विपन्न अवस्थामा पुगेको अवस्था छ । पढे लेखेका युवाले आफै देशमा काम गर्ने वातावरण सरकारले नदिएपछि विदेशमा गएर आफ्नो सीप बेच्नुपर्ने बाध्यतामा छन् । विश्व विद्यालयको अवस्था कस्तो छ ? भोली कस्ता विद्यार्थी उत्पादन गर्न खोज्दै छौ हामी ? विश्व विद्यालयको पढाई नियुक्त हुने डिन रजिष्ट्रार, उपकुलपति लगायत व्यक्तिहरु सरकारको नजिक बन्न खोज्ने आफ्नो विज्ञताबाट विचलित बन्दै पार्टीको पुच्छर समाउन खोजेपछि कहाँ स्तरीय शिक्षा पाउन सकिन्छ ? जताततै शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्योग, सडक, विद्युत, वन जंगल, हिमाल पहाड, तराईका धेरै प्राकृतिक जन्य कुराहरुबाट हामी धेरै धनी बन्न सक्ने अवसरालाई तिलाञ्जली दिएर यो देशमा बस्न नसक्ने वातावरण बनाउँदै गएको छ, सरकार । हिजो पञ्चायती व्यवस्थालाई कालो व्यवस्था भन्यौ, पुष १ गते कालो दिवस भन्यौं विोध ग¥यौं । त्यसपछिका आन्दोलनहरुमा चरणबद्ध रुपमा काँग्रेस र एमालेलाई जनताले अगाडि बढाएर आन्दोलन सफल बन्यो । देशमा परिवर्तन भयो र अब राजा फ्याँक्नु पछै भन्दै जनआन्दोलनको ज्वारभाटाबाट जनयुद्धको पनि १० वर्षे अवधिको कहालीलाग्दो अवस्था जनताले व्यहोर्नुप¥यो । माओवादी र सेनाको पटक पटक शास्ती भोग्न बाध्य नेपाली जनताले केही परिवर्तन होला भनेर २०६२।२०६३ को आन्दोलनबाट राजा फ्याँक्ने काम गरे । जनयुद्धको नाममा माओवादीबाट शोषक सामन्तीको होस नउडाएको पनि होइन । धेरै भट्टी पसल, जुवा, तास, सामन्त, शोषक, मिटर व्याजीको भागाभाग भयो । अब जनताको शासन पक्कै आउँछ भन्ने सोचेर जनताले २०६४ सालमा माओवादीलाई पहिलो पार्टी बनाइदिए । गणतन्त्र घोषण पनि भयो, राजको ठाउँमा राष्ट्रपतीले नियुक्त लिए र आजसम्म यो देशले आजसम्म चार वटा राष्ट्रपति पायो ।
संविधान जनताको पक्षमा लेखियो । गणतन्त्रका ठेकेदारहरु प्रधानमन्त्री बने धेरै ठाउँमा संवैधानिक नियुक्तिहरु भयो । सेवा सुविधाको नाममा ऐन संशोधन गर्दै सांसदमा धेरै जनप्रतिनिधिहरुको थलो बनाएर देशलाई विश्वको नमूनाको रुपमा नयाँ सरकार तथा जनप्रतिनिधि बन्नुपर्नेमा आफ्नै हितका लागि आफ्नै परिवारका लागि सम्पत्ति कमाउन लागि परे । जनतालाई करको दायरा बढाएर उठ्न नसक्ने अवस्थामा पु¥याएता पनि हिजो परिवर्तनको लागि लडेको माओवादी सरकारमा गएपछि काण्डै काण्डमा मुछिदै जनताको विश्वास गुमाउँदै र निर्वाचनमा आकार सानो बनाउँदै गएपछि आज पर्ख र हेरको अवस्थामा छ माओवादी केन्द्र । आज कम्यूनिष्टको नाममा एमालेले सत्तामा गरेको अत्याचार अन्यायबाट देश अछुतो छैन । एमाले कम्युनिष्टको खोल ओडेर जनतालाई शोषण गरी दैनिक देशलाई अर्बौ वैदेशिक ऋणमा डुबाउन व्यस्त छ । कार्यकर्ताहरु नेताको भजन गाउँदै देवत्करण गर्न बाट थाकेका छैनन् । देश नेताले कसरी चलाएका छन् भन्ने कुरा थाहा पाउँदा पाउँदै पार्टीमा विरोध गर्न नसक्ने व्यक्ति पार्टीको भक्त हो भने जनताको नेता होइन । हिजो पञ्चायती व्यवस्थामा जति पनि काम गर्न नखोज्ने÷नचाहने व्यक्तिको हातमा सत्ता पुग्नु भनेको देश वर्बादी हुनु हो ।
देशमा उत्पादन बढाएर कृषि क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सक्छौं । जनतालाई रोजगारी दिन सकिने थुप्रै वातावरण तथा आधारहरु र पूर्वाधार छन् तर राज्य किन चुप छ, सरकार किन चुप छ ? जनताप्रति उत्तरदायि र जवाफदेही हुन किन खोज्दैन ? यसको जवाफ पार्टीका असल कार्यकर्ताले किन खोज्नु नपर्ने ? सधै भक्ति र स्तुती गान गाएर देश समृद्ध हुन्छ ? देशमा भष्ट्राचार गरेर जोडिएका अकुत सम्पत्ति छन् भने त्यसको खोजीनिती गर्नु कार्यकर्ताको कर्तव्य हुन्छ भन्ने तथ्यलाई लुकाउन खोज्नु ढाकछोप गर्नुजस्तो महाअपराध केही पनि हुन सक्तैन ? काँग्रेस एमाले, माओवादी बढी सत्तामा पुग्ने पार्टी हुन् । नेता जसरी रातारात अर्बपति भए कार्यकर्ताको पारिवारिक अवस्था कस्तो छ ? घरको अवस्था कस्तो छ ? राजनितीमा लाग्दा धेरै थोरै खर्च नगरेका ऋण नलागेका कार्यकर्ता पाउन मुस्किल छ । कोही कोही अवसरवादी नेताको चाकडी चाप्लुसी गर्ने नजिकै झिंगा भन्के जस्तो भन्कने व्यक्ति करोडौको धनी बन्ने राजनीतिक नियुक्ति पाउने, जागिर पाउने, घर घडेरी जोड्ने डोजर तथा स्काभेटर जोड्ने, ठुला ठुला सिसाको महल बनाउने, नव सामन्त बन्न पार्टीले प्रेरित ग¥यो तर बाँकी कार्यकर्तालाई नेताको भजन बाहेक केही गाउन सिकाएन र लगाएन भने पार्टी दुर्गन्धीत बनेको छ । अवसरवादीहरुले पदको दुरुपयोग गरी अपार कालोधन थुपारेका छन् ।
हिजो चप्पल लगाउन नसक्ने सम्पत्तिको नाममा १÷२ टुक्रा जग्गा हुने व्यक्ति सहरमा करोडौंको गाडी तथा सम्पत्ति घरको मालिक बनेको छ भने पार्टीको नाम बेचेर अपराध कर्मबाट सम्पत्ति कमाउन छोडेको छैन । हिजो इमान्दारी पुर्वक भोट हाल्ने व्यक्तिको अवस्था दर्दनाक छ तर बोल्न सक्ने हिम्मत र आँट राख्दैन । कति अपराधी पार्टीलाई मात्र देश चुस्न दिने हामी नेपाली जनताले? गणतन्त्रको २० वर्षे लक्का जवान छोराले देशको परिवर्तन होइन विदेशको सपना देख्छ । देश र जनताको लागि कुनै राजनीतिक संस्कार सिकाइन्न । देशमा बसेर देशमा नै रोजगार गर्ने वातावरण बनाइन्न बरु विदेश जाने पाठ घोकाइन्छ । वैदेशिक रोेजगारदाता कार्यालयबाट नै दैनिक हजारौं युवा विदेश पलायन गराइन्छ ।
देशको भूमी बाँझो राख्दै देशलाई मरुभूमी बनाउन लाग्ने दलहरु आज जनताको दुश्मन साबित हुँदै गइरहेका छन् । हिजो पञ्चायती व्यवस्थाको अदालत, न्यायधिस, मन्त्री, कर्मचारी लगायत, राष्ट्रसेवक हरु न्याय दिन खोज्थ्थे तर आज जताततै न्याय छैन न इमान्दार कर्मचारी छन् न त सरकार जनताको अभिभावक बन्न चाहन्छ । न त पार्टीहरु जनतामैत्री काम गर्न नै खोज्छन् । यो देशका मतदातामा राजनैतिक चेतनाको स्तरले काम नगर्दा तिनै भष्ट्र पार्टी तिनैलाई पटक–पटक प्रधानमन्त्री, तिनैलाई मन्त्री बनाउँदै गएपछि देश डुबेको हो । हामी मतदाताले आगामी चौरासीमा आफ्नै मतलाई झोले बनेर भष्ट्राचारको झोलामा पुग्ने गरी मतदान ग¥यौ भने हाम्रा दिनहरु ओरालो तिर जानुको विकल्प छैन । पटक– पटक प्रधानमन्त्री बनेको यो सरकारलाई पञ्चायती भूतले सताइरहेको छ । किनकी हिजो पञ्चायती व्यवस्थामा दल र पार्टीको निसानामा पर्ने यिनै काँग्रेस र एमाले लगायत कम्युनिष्ट नै हुन् तर आज त्यो भन्दा झन् तानाशाह छ यो सरकार । साना – साना पार्टीलाई कत्लेआमा गर्ने गरी झुठा मुद्दा लगाउने, सहमती लागु नगर्ने तर आफ्नो पार्टी र भष्ट्रचारी एक आपसमा मिलेर काम गर्ने, कानूनको उल्ङ्घन गर्ने, भष्ट्रचारी कार्यकर्ता जोगाएको छ भने अब आउने जनताको परिवर्तन र तुफानीले भष्ट्र सरकारको एक एक हिसाब खोज्ने दिन अब धेरै टाढा छैन ।